मधेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्छौं : मन्त्री यादव

हिमालय टाइम्स
Read Time = 3 mins

बारा । मधेश प्रदेशका भौतिक पूर्वाधारमन्त्री कृष्ण यादवले मधेशमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण गर्ने बताउनुभएको छ ।
मधेश प्रदेश क्रिकेट संघको दोस्रो साधारणसभा तथा प्रदेश अधिवेशनको आज बारा सदरमुकाम कलैयामा उद्घाटन गर्दै मन्त्री यादवले क्रिकेट मैदानका लागि जग्गा उपलब्ध भइसकेकाले चाँडै नै निर्माण प्रक्रिया थाल्ने बताउनुभयो । मधेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन भइरहेको उल्लेख गर्दै उहाँले क्रिकेटका माध्यमबाट मधेशको मान-सम्मान बढेको बताउनुभयो । ‘मधेशलाई क्रिकेटको हब बनाउन तथा खेलाडीको हौसला बढाउने काममा प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ मन्त्री यादवले भन्नुभयो, ‘खेलाडी देशको गहना भएकाले उनीहरूको संरक्षण तथा संवद्र्धनका लागि प्रदेश सरकारले कुनै कसर बाँकी राख्दैन ।’

नेपाल क्रिकेट संघ(क्यान) का केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दले मधेश प्रदेशबाट उत्पादन भएका खेलाडीले नेपाली क्रिकेटको महत्व बढेको प्रष्ट पार्नुभयो । ‘काठमाडौंबाहेक अन्य ठाउँमा सुविधासम्पन्न खेल मैदान नहुँदा खेलाडीले आफ्नो क्षमता निखार्न सकिरहेका छैनन्,’ उहाँले भन्नुभयो । वीरगञ्ज, पोखरा, भैरहवा, विराटनगर, चितवन, हेटौँडा, जनकपुरलगायत ठाउँमा सरकारले अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्नुपर्नेमा अध्यक्ष चन्दले जोड दिनुभयो ।

मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मधेश प्रदेशसभा सदस्य सतिष सिंह, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, कलैया उपमहानगरपालिका नगरप्रमुख विनोद साह, महागढीमाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र यादव, नेपाल क्रिकेट संघका कार्यवाहक सचिव दुर्गाराज पाठक, कोषाध्यक्ष रोशन सिंह, केन्द्रीय सदस्य प्रशान्तविक्रम सिंह, मधेश प्रदेश सचिव आयुष श्रेष्ठ, क्रिकेट संघ बाराका अध्यक्ष प्रभातकुमार चौरसियालगायतले अधिवेशन सफलताको कामना गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?