कालिकोटमा आफ्नै ज्वाँइले ससुरालाई मान्छे लगाएर मारेको तथ्य बाहिरियाे

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 5 mins

कालीकोट । कालीकोटमा आफ्नै ज्वाँइले ससुरालाई मान्छे लगाएर मारेको घटना बाहिरिएको छ । जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-१ लुसाका ५५ वर्षीय धनिराम जैसीलाई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको घटना बाहिरिएको हो ।

सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-१ लुसा घर भएका जैसीको २०७७ साल भदौ २८ गते निधन भएको थियो । स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएको भनेपनि जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको स्वीकार गरेका छन् । मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच लामो समयदेखि विवाद हुँदै आएको थियो ।

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर ५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका छन् ।

माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए ।

हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए ।

आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो । एमाले कालीकोट पार्टी कार्यालय सचिवसमेत रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका छन् ।

नेता शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएको खुलेको हो ।

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबै थोक हुने भन्दै तेरो अर्थात् आफ्नै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका छन् । उनले आफैले जन्माएको छोरालाई पनि मारिदिने भनेका छन् ।

म्यासेन्जरमा लेखेको चेतावनीमा कान्छी श्रीमतीलाई "तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन । तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस्" भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको देखिन्छ ।

गीतालाई मुद्दा फिर्ता गर्न चेतावनी दिएको प्रमाणसहित शाहीविरुद्ध प्रहरीमा उजुरी दिए पनि प्रहरीले चासो नदिएको गीता जैसीको भनाइ छ । आफू हिंसामा परेको भन्दै धेरै पटक प्रहरीमा उजुरी परे पनि राजनीतिक पावरका कारणले प्रहरीले बिना कारबाही मेलमिलाप गराउँदै आएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?