एचआइडिसिएलद्वारा १३ अर्ब लगानी स्वीकृत

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी(एचआइडिसिएल) ले विभिन्न चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ । सानिमा हाइड्रो समूहका दुर्ईसहित चार सय ८९ मेगावाटका आयोजनामा ऋण लगानी स्वीकृत गरेको हो । कम्पनीले राजधानीमा कार्यक्रम गरी आयोजनाका प्रवद्र्धक कम्पनीहरूलाई ऋण लगानी स्वीकृतिपत्र हस्तान्तरण गरेको थियो । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सञ्जीव देवले सबै आयोजनाका प्रवद्र्धकलाई ऋण लगानी स्वीकृतिपत्र हस्तान्तरण गर्नुभएको हो ।

एचआइडिसिएलले विभिन्न चार जलविद्युत् आयोजनामा १३ अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ ।

एचआइडिसिएलले सानिमा हाइड्रो समूहले सहायक कम्पनीमार्फत् निर्माण गर्न लागेको दुई सय ८५ मेगावाटको माथिल्लो तमोर अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको ऋण स्वीकृत गरेको छ । ताप्लेजुङको तमोर नदीमा संरचना रहने आयोजना तमोर सानिमा इनर्जी कम्पनीले निर्माण गर्दैछ । जसका लागि एचआइडिसिएलले चार अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ ।

आगामी असोजसम्ममा वित्तीय व्यवस्थापन सम्झौता गरी निर्माण सुरु गर्ने योजना रहेको कम्पनीका अध्यक्ष पुष्पज्योति ढुंगानाले बताउनुभएको छ । ढुंगानाका अनुसार आयोजनाका लागि ब्याजबाहेक ४५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ लगात अनुमान गरिएको छ । ब्याजसहितको लगानी ५५ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ । कुल लगानीको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी हुनेछ भने आयोजनामा एभरेष्ट बैंकले ऋण लगानीका लागि अगुवाइ गर्नेछ । यो निजी क्षेत्रले लगानी गरी निर्माण गर्न लागेको हालसम्मकै ठूलो जलविद्युत् आयोजना हो ।

त्यस्तै, सानिमा हाइड्रो समूहकै सहायक सानिमा जुम हाइड्रोपावर कम्पनीले निर्माण गर्ने ५६ मेगावाटको जुमखोला जलविद्युत् आयोजनामा पनि एचआइडिसिएलले लगानीका लागि ऋण स्वीकृतिपत्र हस्तान्तरण गरेको छ । दोलखामा निर्माण हुने आयोजनामा एचआइडिसिएलले दुई अर्ब रुपैयाँ ऋण लगानी गरी स्वीकृतिपत्र प्रदान गरेको हो । आयोजना निर्माणका लागि कुल ११ अर्ब ६० करोड रुपैयाँ लागत अनुमान गरिएकोमा बाँकी ऋण लगानीका लागि नबिल बैंकले अगुवाइ गर्ने तय भएको छ ।

त्यसैगरी डोल्पा जिल्लामा निर्माण हुने एक सय छ मेगावाटको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा चार अर्ब रुपैयाँ ऋण लगानी गर्ने गरी प्रवद्र्धक जगदुल्ला हाइड्रोपावर कम्पनी र एचआइडिसिएलबीच सम्झौता भएको छ । आयोजनाको लागत २४ अर्ब १७ करोड रहेकोमा एचआइडिसिएलले चार अर्ब ऋण स्वीकृत गरेको हो । उक्त आयोजना निर्माण गर्न १६ अर्ब ९२ करोड रुपैयाँ ऋण र सात अर्ब २५ करोड रुपैयाँ स्वपुँजी लगानी हुनेछ भने आयोजनामा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अगुवाइमा वित्तीय व्यवस्थापन हुने भएको छ ।

स्वपुँजीबाहेकको बाँकी ऋण लगानी अन्य बैंक तथा वित्तीय संस्थाबाट जुटाएर निर्माण सुरु गर्ने कम्पनीको तयारी छ । आयोजना जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको हो । सोही कम्पनीले ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण गर्दैछ ।

मोदी जलविद्युत् कम्पनीले कास्कीमा निर्माण गर्ने ४२ मेगावाटको माथिल्लो मोदी ‘ए’ आयोजनामा एचआइडिसिएलले तीन अर्ब रुपैयाँ ऋण लगानी स्वीकृत गरेको छ । एनएमबी बैंकको अगुवाइमा बाँकी ऋण लगानी जुटाउने कम्पनीको तयारी छ । ऋण स्वीकृतपत्र हस्तान्तरण कार्यक्रममा एचआइडिसिएलका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतमले हालसम्म जलविद्युत्मा २७ अर्ब रुपैयाँ बढी लगानी भइसकेको बताउनुभयो । गौतमका अनुसार कम्पनीले हालसम्म ३१ जलविद्युत् आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाइसकेको छ । १९ आयोजनामा गरेको लगानी ऋण हो र १२ आयोजनामा स्वपुँजी नै लगानी गरिएको छ । यस वर्षमात्रै १६ अर्ब बराबरको ऋण लगानी एचआइडिसिएलले स्वीकृत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?