बाँकेमा भिन्नाभिन्नै दुर्घटनामा तीनको मृत्यु

रासस
Read Time = 2 mins

नेपालगञ्ज । बाँकेमा भएका तीन भिन्नाभिन्नै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्लामा मृत अवस्थामा फेला परेका, मोटरसाइकल दुर्घटना र सर्पले टोकेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बाँकेको जानकी गाउँपालिका-५ स्थित रामगाउँको नालामा डुबेको अवस्थामा आज एकजना मृत अवस्थामा फेला परेका छन् । दुई दिनदेखि घरबाट सम्पर्कविहीन भएका जानकी गाउँपालिका-४ निवासी ३५ वर्षीय शिवकुमार बर्मा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो । उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-१८ को भित्री गल्लीमा तीव्रगतिमा रहेको मोटरसाइकल छाडा पशु चौपायासँग ठोक्किँएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिया राजापुरका ३६ वर्षीय प्रदीप थारु रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक डाँगीले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार लु ८२ प ६४६८ नं को मोटरसाइकल अनियन्त्रित हुँदा छाडा चौपायासँग ठोक्किँएको थियो । उनको गएराति उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

साथै सर्पले टोकेर उपचारका क्रममा रहेका एक जनाको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ५ स्थित लोकतान्त्रिक प्राथमिक विद्यालय रामगाउँकी विद्यालय सहयोगी ३० वर्षीया सरिता चमारको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

भदौ ५ गते राति ओछ्यानमा सुतिरहेको अवस्थामा चमारलाई सर्पले टोकेको थियो । पाँच दिनपछि उनको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?