रोकियो कालिकोट सुनथरालीको परीक्षण उडान, अब असोज १३ गते

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट। कालिकोटको सुनाथलारी विमानस्थलमा बुधबार गर्ने परीक्षण उडान स्थगित भएको छ । प्राविधिक तयारी नपुगेको भन्दै परीक्षण उडान स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमानस्थल परीक्षणको उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । त्यसका लागि तयारी समेत भएको थियो । यद्यपि प्रधानमन्त्री प्रचण्डको व्यस्तता र पर्यटन मन्त्री सुदन किरातीका बुबाको निधन भएकाले कार्यक्रम स्थगित गर्नुपरेको बताइएको छ ।

पर्यटन मन्त्री किरातीले बुबाको निधन भएको र अन्य प्राविधिक तयारी नपुगेकाले स्थगन गर्नुपरेको बताउनुभएको छ । उहाँले भन्नुभएको छ,‘हवाई यातायातको सम्बन्धमा कर्णालीबासी जनसमुदायको दुख र हैरानी बुझेको छु र सदाका लागि समाधान गर्न लागि परेको छु ।’

नरहरीनाथ गाउँपालिका–१ मा रहेको उक्त विमानस्थलमा २०७३ माघ २९ गते तत्कालीन पर्यटन मन्त्री जीवनबहादुर शाहीको पालामा परीक्षण उडान गरिएको थियो ।

यद्यपि अझै पनि यो विमानस्थलमा नियमित उडान हुन सकिरहेको छैन । यो विमानस्थलको निर्माण कार्य ०४२ सालबाट नै सुरु भएको थियो ।

पर्यटन मन्त्री किरातीले अब सुनथराली विमानस्थलमा परीक्षण उडानको कार्यक्रम असोज १३ गते राखिएको बताउनुभयो । उक्त दिन सुनथरालीसँगै डोल्पाको मसिनेचौर विमानस्थलको पनि परीक्षण उडान कार्य गरिने छ ।

२०७३ माघ २९ गते कोटवाडामा पहिलोपटक जहाज अवतरण गर्दा स्थानीयले अविरजात्रा नै गरे । नजिकबाट जहाज नदेखेका उनीहरूले आँगनबाटै चिलगाडी चढ्न पाइने सपना पनि बुने । परीक्षण उडानमा जहाज अवतरण भएको करिब आठ वर्ष बित्न लाग्दा पनि विमानस्थलमा जहाज अवतरण गर्न भने अझै सकिएको छैन् । आठ वर्ष बिते पनि कोटवाडामा फेरि जहाज अवतरण नहुँदा स्थानीय निराश बनेका छन् ।

गएको साउन १३ गते जहाज परीक्षण गर्ने भनिएपनि विविध कारण देखाउँदै परीक्षणको कार्य स्थगन गरिएको थियो । फेरि पनि भदौ १३ गते बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्ने भनिएपनि उक्त परीक्षण उडान कार्य स्थगित भएपछि कालीकोटबासी निराश भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?