एसिया कपका लागि सन्दीप पाकिस्तानमा

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्नका लागि पाकिस्तान प्रस्थान गर्नुभएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य-सचिव टंकलाल घिसिङले सन्दीपलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर बिदाइ गर्नुभएको हो । यसअघि आइतबारका लागि तय भएको उहाँको सुनुवाइ स्थगित भएपछि उहाँको पाकिस्तान यात्रा निश्चित भएको हो ।

आइतबार हेर्न नभ्याइने भएपछि अदालतले अर्को पेशी २१ भदौमा तोकेको छ । एसिया कप १३ भदौबाट सुरु हुँदैछ । नेपालले पहिलो खेल १३ गते पाकिस्तानसँग र दोस्रो खेल भारतविरुद्ध १८ गते खेल्दैछ । सन्दीपले अर्को पेशीमा उपस्थित हुनुपर्ने भएकाले भारत र पाकिस्तानविरुद्धको खेल खेल्न पाउनुहुनेछ ।

बिदाइका क्रममा सन्दीपले पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेकाले त्यही लयलाई निरन्तरता दिने बताउनुभयो । साथै उहाँले प्रतियोगिताका लागि आफू पूर्ण रूपमा फिट रहेको प्रतिक्रिया दिनुभयो । तर, ठूला राष्ट्रहरूसँग खेल्नु सधैँ चुनौतीपूर्ण हुने उहाँको भनाइ छ ।
‘पछिल्लो समय नेपाली टोलीले राम्रो प्रदर्शन गरिरहेको छ । त्यही लयलाई निरन्तरता हुने अपेक्षा छ,’ सन्दीपले भन्नुभयो, ‘भोलिदेखि म पनि टोलीसँग जोडिरहेको छु । खेल्नका लागि एकदमै फिट र तयार छु । आशा छ कि एसिया कपमा एकदमै राम्रो गर्नेछौँ ।’

नेपाली टोली भने यसअघि नै पाकिस्तान पुगिसकेको छ । सन्दीपले टोलीसँग अभ्यास गर्न नपाए पनि व्यक्तिगत रूपमा अभ्यास जारी राखेको बताउनुभयो । सन्दीपले भारत र पाकिस्तानसँग खेल्न पाउनु सबै नेपालीका लागि गर्वको कुरा भएको बताउनुभयो । दुवै खेल नेपालका लागि निकै महत्वपूर्ण रहेकाले धेरै कुराहरू सिक्ने मौका रहेको सन्दीपले बताउनुभयो ।

नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली बुधबार पाकिस्तान पुगेको थियो ।

पाकिस्तान हाल विश्वको नम्बर वान ओडिआई राष्ट्र हो । नेपाली क्रिकेट इतिहासमा पहिलोपटक कुनै पनि वरीयता शीर्ष टोलीसँग खेल्न लागेको हो ।

पाकिस्तानले शनिबार अफगानिस्तानलाई तेस्रो ओडिआई खेलमा ५९ रनले हराउँदै तीन खेलको सिरिज क्लिनस्विप गर्दै शीर्ष स्थानमा उक्लिएको थियो । नेपालले भदौ १८ मा भारतसँग खेल्नेछ । भारत विश्व ओडिआई वरीयतामा तेस्रो स्थानमा छ । नेपाल आइसिसीको ओडिआई विश्व वरीयतामा १५औँ स्थानमा छ ।

यसअघि नेपालले वरीयताको हिसाबमा सबैभन्दा ठूलो टोली वेष्टइण्डिजसँग दुई महिनाअघि जिम्बाबेमा खेलेको थियो । आइसिसी विश्व ओडिआई वरीयतामा त्यस समय वेष्टइण्डिज १०औँ र नेपाल १४औँ स्थानमा थिए । ११औँ स्थानमा रहेको जिम्बाबेसँग पनि खेलेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?