एनसेल फोरजी दुर्गम जिल्लामा विस्तार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्याण्ड सेवा विस्तार भएको छ । एनसेल आजियाटा लिमिटेडले सेवा विस्तार अभियानअन्तर्गत स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधि प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा सुरु गरेको हो । फोरजी सेवा सुरु गर्न एनसेलले गत एक महिनामा ठूलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक-एक गरी चारवटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बिटिएस) स्थापना गरेको छ । कम्पनीले भी-स्याट प्रविधिलाई प्रतिस्थापन गर्दै फोरजी सेवा सञ्चालन गरेको हो ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भन्नुभयो, ‘हाम्रा ग्राहकलाई नयाँ प्रविधिसँग जोड्दै सशक्त बनाउन पाउँदा खुसी छौँ । यो एउटा कोशेढुंगा हो किनभने पछिल्लो विस्तारपछि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेका छौँ । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पुर्‍याउनेछ ।’

फोरजी सेवा विस्तार र क्षमता अभिवृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आएको एनसेलले मनाङलाई पनि छिट्टै फोरजीले जोड्ने योजनासहित काम गरिरहेको जनाएको छ । देशभर एनसेलका चार हजार एक सयभन्दा बढी फोरजी बिटिएस सञ्चालनमा रहेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै देशका विभिन्न भागमा तीन सय ३८ नयाँ साइट स्थापना गरेको एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै एक हजार चार सय ५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको छ । कम्पनीले एक करोड ६० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?