आर्थिक कूटनीतिमा सिएनआईको जोड

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले विदेशस्थित नेपाली राजदूतावासहरूमार्फत् स्वदेशी वस्तुको निर्यात एवं प्रवद्र्धनलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको छ । सिएनआई अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको टोलीले आइतबार परराष्ट्रमन्त्री एनपी साउदसँग गरेको छलफलमा वैदेशिक लगानी भित्र्याउन, स्वदेशी वस्तुको प्रवद्र्धन गर्न, पर्यटन प्रवद्र्धन गर्न आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

अध्यक्ष अग्रवालले प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्न नीतिगत स्थायित्व, सहज व्यावसायिक वातावरण र छिटोछरितो निर्णय गर्ने संयन्त्र आवश्यक रहेको बताउनुभयो । नेपालमा वैदेशिक लगानी आकर्षित गर्न सम्बन्धित देशका लगानीकर्तासँगको व्यावसायिक सम्बन्ध विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । जसका लागि नेपाली दूतावासहरूले व्यावसायिक प्रतिनिधिमण्डलको नियमित भ्रमण तथा अन्तरक्रिया गर्न सहजीकरण गर्नुपर्ने अध्यक्ष अग्रवालले बताउनुभयो ।

सिएनआईले भारतदेखि विराटनगरसम्म सुरु भएको कार्गो रेल्वे सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने, नेपाल भारतबीच मोटर भेइकल एग्रिमेन्ट गरी नेपाली मालबाहक एवं अन्य सवारीसाधन आवतजावत सहज बनाइनुपर्नेमा जोड दिएको छ । मन्त्री साउदले सिएनआईले उठाएका विषयलाई उच्च प्राथमिकतामा राख्ने आश्वासन दिनुभएको सिएनआईले जनाएको छ । सो अवसरमा सिएनआई उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे र महानिर्देशक दीपकराज जोशीलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?