शिव शिखरले ३० करोड ठगेको भन्दै सुर्खेतमा विगोसहित मुद्दा दर्ताको तयारी

नन्दराम जैशी
Read Time = 3 mins

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरस्थित शिवशिखर सहकारी संस्थाले यहाँका स्थानीयबाट झण्डै ३० करोड रुपैयाँ ठगेको पाइएको छ ।

प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदन अनुसार ११ करोड विगो मागदावी गर्दै मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । जसमा ११ जनालाई प्रतिवादी बनाएको छ ।

हालसम्म एक सय ७८ जनाले आफूहरु शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका छन् । प्रहरीका अनुसार आफूहरु ठगिएको भन्दै निवेदन ल्याएर आउनेक्रम भने रोकिएको छैन ।

स्थानीयले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरुले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ । आइतबारसम्म एक सय ७८ जनाले आफूहरु सहकारीबाट ठगिएको भन्दै जाहेरी निवेदन दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी लक्ष्मण शाहीले बताउनु भयो ।

उहाँका अनुसार अझै जाहेरी आउनेक्रममै रहेकाले ठगिनेहरुको संख्या बढ्ने अनुमान छ । भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो । कार्यालय संचालनसँगसँगै सुपरमार्ट पनि सञ्चालन गरिएको थियो ।
दुई शाखाबाट झण्डै ३० करोड रुपैयाँ सहकारीले शेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ । प्रहरीले निवेदनका आधारमा ११ करोड रुपैयाँ विगो र कैदको मागदावी गरेर प्रतिवेदन तयार पारेको छ ।

प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक ४१ वर्षीया गीता शर्मा, सञ्चालक पुष्कर मल्ल, र अमिष राज भण्डारीलाई काठमाडौंबाट ल्याएर बयान लिएको थियो । सहकारीका मुख्यव्यक्ति केदानराथ शर्मामाथि काठमाडौंमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

सहकारी ठगीमा संलग्न संचालक र कर्मचारी गरेर सात जना फरार छन् । प्रहरीका अनुसार सुर्खेत शाखाका प्रवन्धक चन्दन थापा, लेखा हेर्ने छवि डाँगी, कैलालीका दिपक बोहोरा, मोरङका लिलानाथ गौतम, भक्तपुरका राजु साखकर्मी, सिन्धुलीका तेजबहादुर तामा र काठमाडौंका सुशील बानियाँ फरार भएका हुन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?