एमसिसीविरुद्ध समाजवादी मोर्चा !

यथास्थितिमा कार्यान्वयन हुनेमा शीर्ष नेताहरूकै आशंका

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 11 mins

बुटवल । चार दलीय समाजवादी मोर्चा नेपालका अधिकांश नेताहरू अमेरिकी सहयोग परियोजना ‘एमसिसी’को विरुद्धमा देखिएका छन् । कार्यान्वयनको सुरुवाती चरणमा रहेको एमसिसीविरुद्ध मोर्चाका नेताहरूले एकपछि अर्को अभिव्यक्ति दिन थालेका हुन् । एमसिसी आज (बुधबार)देखि आधिकारिक रूपमा कार्यान्वयनमा आउँदै छ । तर, यसअघि नै मोर्चामा आबद्ध नेताहरूले यथास्थितिमा एमसिसी कार्यान्वयन गर्न नसकिने चेतावनी दिन थालेका छन् । सरकारमा समेत रहेका दलहरूसहित मोर्चाका नेताहरूले सार्वजनिक रूपमै एमसिसीबारे प्रश्न उठाएका हुन् । सत्तारूढ नेकपा (माओवादी केन्द्र)सहित नेकपा एकीकृत समाजवादीसहितका मोर्चामा आबद्ध दलहरूले एमसिसीप्रति आशंका व्यक्त गरेका छन् । मोर्चामा रहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले त सुरुदेखि नै नेपालमा एमसिसी कार्यान्वयन हुन नदिने चेतावनी दिँदै आएको छ । मंगलबार मोर्चाले बुटवलमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्ने मोर्चाका नेताहरूले पनि एमसिसीबारे आशंका व्यक्त गरेका हुन् ।

सभामा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महसचिव विप्लव लगायतले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा विप्लवले त एमसिसी कार्यान्वयन हुन नदिने दोहो¥याउनुभयो । त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष नेपालले समेत सर्तसहित एमसिसी स्वीकार्न नसकिने बताउनुभयो । अन्तिममा बोल्नुभएका प्रधानमन्त्री प्रचण्डले समेत यसबारे आशंका व्यक्त गर्नुभयो । उहाँले एमसिसीका प्रतिनिधिसँग यसबारे थप बुझ्ने आश्वासन दिनुभयो । यसअघि समाजवादीकै सम्मानित नेता झलनाथ खनालले एमसिसी स्वीकार्न नसकिने बताउँदै आउनुभएको छ । यसअघि संसद्बाट पारित हुनुअघि पनि एमसिसीबारे चर्को बहस भएको थियो । स्वयं सत्तारूढ माओवादी एमसिसीविरुद्ध सडक आन्दोलनमा उत्रिएको थियो । अन्तिममा १२ बुँदे व्याख्यात्मक टिप्पणीसहित संसद्बाट एमसिसी अनुमोदन गरिएको थियो ।

सर्तसहितको सहयोग चाहिँदैन : विप्लव
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम विप्लवले समाजवादविरुद्ध विश्वमै हमला भइरहेकाले त्यसविरुद्ध लड्न मोर्चा बनेको बताउनुभएको छ । मंगलबार बुटवलमा आयोजित समाजवादी मोर्चाको घोषणा सभालाई सम्बोधन गर्दै उहाँले अहिलेको आवश्यकताले मोर्चा गठन गरिएको बताउनुभयो ।

विश्वबाट नै दलाल पुँजीवादी तत्वले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन मोर्चा बनेको उहाँको भनाइ थियो । ‘धेरै राजनीतिक उपलब्धि भए । आर्थिक र सामाजिक क्षेत्रमा धेरै चाहेका उपलब्धि भएनन् । तर, पुँजीवाद आयो,’ उहाँले भन्नुभयो, ‘अब एक्लै हिँडेर त्यो उपलब्धि हुन सक्दैन भनेर समाजवादी आन्दोलनका लागि यो मोर्चा बनेको हो । विश्वबाटै दलाल पुँजीवादी तŒवले सत्ता कब्जा गर्न खोजेको अवस्थामा समाजलाई निराशा बनाउन नदिन यो मोर्चा तयार भएको हो ।’

विप्लवले मुलुकलाई साम्राज्यवादको चंगुलबाट मुक्त गराउन चाहेको बताउनुभयो । उहाँले नेपालमा अमेरिकी सहयोग एमसिसी लागू हुन नदिने दोहो¥याउनुभयो । ‘हामीलाई सरकारमा जाने लोभ छैन । मोर्चाको लक्ष्य भ्रष्टाचारविरुद्ध, सुशासनको पक्ष र नेपाली विशेषताको समाजवादतिर लैजाने हो,’ उहाँले भन्नुभयो, ‘नेपालको कानुन, सार्वभौमिकता मिचेर अगाडि बढ्न दिँदैनौँ, नेपाललाई निःस्वार्थ सहयोग गर्नेको हामीले विरोध गरेको होइन तर सर्तसहितको सहयोग हामीलाई चाहिँदैन, समाजवादी मोर्चाले त्यसलाई स्वीकार गर्दैन, अहिलेको अवस्थामा एमसिसी अगाडि बढ्न सक्दैन ।’

आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्य हुँदैन : नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाले आर्थिक सहयोगका नाममा राखेका अनुचित स्वार्थ मान्न नसकिने बताउनुभएको छ । समाजवादी मोर्चाले बुटवलमा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसिसीमा केही अनुचित कुराहरू बाँकी रहे नेपाली जनतालाई जानकारी गराउन आग्रह गर्नुभयो । एमसिसीलाई आइपिएससँग जोड्ने कुरा स्वीकार्न नसकिने उहाँको भनाइ थियो । ‘कसैको आर्थिक सहयोग लिँदा राखिएका अनुचित सर्त स्वीकार्नु हुँदैन । एमसिसीलाई आइपिएससँग जोड्ने कुरा हामी स्वीकार्दैनौँ,’ उहाँले भन्नुभयो, ‘त्यो भनेको चीनलाई घेराउ गर्ने अरू देशलाई शत्रु घोषणा गर्ने योजना हो । एमसिसी यथावत् पास हुने अवस्थामा पुगेकाले संसद्बाट १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेका हौँ । अनुचित कुरा बाँकी छन् भने प्रधानमन्त्रीजी जनतालाई जानकारी गराउनुस् ।’ नेपालको भूमिमा नेपाली जनताको अधिकार भएको र अरू कसैको हस्तक्षेप स्वीकार्न नसकिने पनि नेपालको भनाइ छ ।

हामी अझै एमसिसीविरुद्ध सडकमा जाने अवस्था छ ः प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसिसीबारे उठेको प्रश्नको जवाफ खोज्ने बताउनुभएको छ । मोर्चाले बुटवलमा गरेको कार्यक्रमलाई सम्बोधनका क्रममा उहाँले अमेरिकी अधिकारीसँग आफूले १२ बुँदे घोषणा कार्यान्वयनबारे सोध्ने बताउनुभएको हो । नेपालको सदनबाट पास गर्दा गरिएको १२ बुँदे घोषणालाई सम्झौताको मूल अंश नबनाइए सडकमा जाने विकल्प खुल्लै रहेको उहाँको भनाइ थियो । ‘एमसिसीबारे अझै पनि धेरै चासो छ । केही साथीहरूको विरोधमा पनि स्वर सुनिएको छ । हामी अझै एमसिसीविरुद्ध सडकमा जाने अवस्था छ,’ उहाँले भन्नुभयो, ‘१२ बुँदे व्याख्यात्मक घोषणाका कारण सडकमा जान सक्छौँ । एमसिसी कार्यान्वयनबारे छलफलका लागि एकजना अधिकारी नेपाल आउँदै छन् । हाम्रो घोषणालाई सम्झौताको पाठ बनाउने हो कि होइन भनेर म पनि सोध्छु ।’ यदि १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अंश नबनाइए समाजवादी मोर्चामा सल्लाह गरेर सडकमा उत्रिने उहाँले चेतावनी दिनुभयो ।

लुम्बिनी प्रदेश समिति घोषणा
समाजवादी मोर्चाको लुम्बिनी प्रदेशमा समिति घोषणा गरिएको छ । बुटवलमा मंगलबार आयोजित समाजवादी मोर्चाको ‘सन्देश सभामा समितिका सदस्यहरूको नाम घोषणा गरिएको हो । मोर्चामा आबद्ध दलका तीन÷तीनजना नेताहरू सदस्य रहने गरी समन्वय कमिटी गठन गरिएको छ । मोर्चामा नेकपा माओवादी केन्द्रका तर्फबाट लुम्बिनी अध्यक्ष सुदर्शन बराल, उपाध्यक्ष दुर्गाबहादुर थारू र सचिव कृष्ण अधिकारी सदस्यका रूपमा चयन हुनुभएको छ । यसैगरी, एकीकृत समाजवादीको तर्फबाट पोलिटब्युरो सदस्य सोम पाण्डे, निर्मल सुवेदी र मेटमणि चौधरी रहनुभएको छ । त्यस्तै, जसपाबाट नवीनकुमार सुनुवार, मनिकर कार्की र अशोक यादव रहनुभएको छ । यस्तै, नेकपाबाट वसन्त, नारायण र सम्झना मोर्चामा कमिटीमा समावेश हुनुहुन्छ ।

भदौ १५ गते पोखरामा सन्देशसभा आयोजना गर्ने
समाजवादी मोर्चाले भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ । पोखरा सभागृहमा हुने सभामा प्रधानमन्त्री ‘प्रचण्डलगायत मोर्चामा आबद्ध विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेश इञ्चार्ज देवेन्द्र पौडेलले सन्देशसभामा प्रधानमन्त्री प्रचण्डसहित, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव लगायतले सम्बोधन गर्ने जानकारी दिनुभयो । ‘प्रधानमन्त्रीलगायत मोर्चाका शीर्षनेता सन्देशसभामा वक्ताका रूपमा उपस्थित रहनुहुनेछ, मोर्चा गठनको उद्देश्यबारे जनसाधारणलाई जानकारी दिने उद्देश्यले सन्देशसभा आयोजना गरिएको हो,’ उहाँले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?