एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन हुँदै

पार्टीभित्र कुनै नेताको नाममा गुट बनाउन सम्भव छैन, निराधार हल्लामात्र हुन् : प्रदेश इन्चार्ज अर्याल

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 9 mins

रुपन्देही । नेकपा एमालेकी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले पार्टीभित्र कुनै नेताको नाममा गुट बनाउन संभव नभएको बताउँदै लुम्बिनी प्रदेशमा भएका चर्चा सत्य नभएको बताउनु भएको छ।

रुपन्देहीमा एक छलफलमा अर्यालले नेताहरु स्वयम्ले कुनै गुट नबनाएको तर केही व्यक्तिले त्यसप्रकारको हल्ला चलाएको आधारमा संचारमाध्यमले त्यसलाई प्राथमिकता दिन आवश्यक नहुने बताउनु भयो।

‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ, अध्यक्ष, उपाध्यक्ष, महासचिव कसैले पार्टी हित विपरीत गुट बनाउने कुरा असंभव हो, अहिले दुई जना उम्मेदार हुँदा २ जनाको गुट लेख्दा पछि धेरै उम्मेदार भए कसको गुट लेख्ने नि ?’ अर्यालले भन्नु भयो ।

अर्यालले आफूले पनि गुट सिर्जना गर्न खोजको हल्ला सुनेको भन्दै त्यो ‘वाहियात’ भएको र कुनै पनि नेतालाई गुट सिर्जना गर्ने र संगठनलाई आफ्नो स्वार्थमा प्रयोग गर्ने छुट नभएको दावी गर्नु भयो ।

सचिव अर्यालले अहिले प्रदेशमा आफू इन्चार्ज भएर आएको र उपाध्यक्ष एवं महासचिवले आफूसँग सल्लाह र छलफल नगरी कसैलाई अघि सार्ने वा संगठनको विषयमा निर्देशन गर्ने अधिकार नभएको समेत बताउनु भयो । ‘तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान,त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने गलत र वाहियात छ, त्यो हुनै सक्दैन’ उहाँले भन्नु भयो।

एमालेले भदौ १६ र १७ गते बुटवलमा लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्न लागेको विषयमा नेतृ अर्यालले रुपन्देहीमा रहेका विभिन्न संचार माध्यमका सम्पादकसँग अन्तरसंवाद गर्नु भएको हो ।

लुम्बिनी प्रदेशका १ सय ९ वटै स्थानीय तहबाट १ सय १ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्य समेत रहेका प्यूठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङको घोराहीबाट प्रतिनिधि छनोट भएका छन् ।

रिजाल केन्द्रीय सदस्य भएपनि उनी प्रदेश अध्यक्षमा प्रतिस्पर्धा गर्ने उद्देश्यसहित प्रतिनिधि छनोट भएपछि एमाले भित्र महासचिव शंकर पोखरेलले रिजाललाई अघि सारेका उनी निकट नेताहरुले प्रचार गरेका छन् । कँडेललाई उपाध्यक्ष पौडेलले अघि सारेको बताएपनि कंडेल आफैले मुख खोलेका छैनन् । उहाँले यसअघि अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलकै प्रस्तावमा अध्यक्ष भएकाले पार्टीले खटाएकै जिम्मेवारीमा लाग्ने वताउनु भएको छ ।

एमालेले दोहोरो जिम्मेवारी नदिने मापदण्ड बनाएपछि प्रदेश अध्यक्ष पदका अन्य आकांक्षी प्रतिनिधि छनोटको प्रक्रियामै सहभागी नभएको तर रिजाल केन्द्रीय सदस्य पद छोड्न तयार हुँदै प्रतिनिधि छनोट भएपछि आशंका बढेका छन् ।

एमालेले पहिलो अधिवेशनबाट २ सय ५ जनाको प्रदेश कमिटीको चयन गर्दैछ । यसअघि अहिले केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारीसहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने अर्यालले बताउनु भयो । एमालेले यसअघिको प्रदेश कमिटीमा रहेकालाई आयोजक कमिटी मानेर स्वतः प्रतिनिधि गराउने व्यवस्थालाई निरुत्साहित गर्दै प्रदेश कमिटीका अध्यक्षलाई समेत आफ्नो क्षेत्रबाटै निर्वाचित भएर आउनु पर्ने बनाएको छ ।

सचिव अर्यालले प्रतिनिधि छनोटमा एमालले पार्टीले गरेको निर्देशन अनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएर आएको प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले वताउनु भयो।

अध्यक्षमा रिजाल र कँडेल मैदानमा निश्चित

प्युठानको नौबहिनी गाउँपालिकाबाट प्रदेश प्रतिनिधि परिषद् सदस्य बनेर एमाले केन्द्रीय सदस्य रहेका हरि रिजाल लुम्बिनी प्रदेशको अध्यक्षको उम्मेदवार छन् । पार्टीको विधानअनुसार प्रदेश प्रतिनिधि बनेर उम्मेदवारी मनोनयन गरेपछि केन्द्रीय सदस्य पद स्वतः निस्क्रिय हुन्छ ।
हालका एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पुनः अध्यक्षको दाबी स्वाभाविक भएकाले भन्दै तयारी गरिरहेका छन् । पाल्पाबाट प्रतिनिधि भएर आएका कँडेल अहिले आफ्नो अध्यक्ष उम्मेदवारी भन्दा पनि अहिले प्रतिनिधिहरू को कहाँ छन् बुझ्ने काम भइरहेको बताउँछन् ।
कँडेल आफू २ वर्ष पहिले तदर्थ समिति अध्यक्ष भएकोले अहिले पहिलो अध्यक्ष बन्न केन्द्रदेखि तल्लो तह सम्मका साथीहरूको साथ पाउन आकाङ्क्षा राख्नु स्वाभाविक ठान्छन् ।

यस्तै, दाङबाट प्रतिनिधिमा निर्वाचित भएका हालका प्रदेश सचिव लक्ष्मण आचार्य पनि अध्यक्षको लागि आन्तरिक तयारी गरेको बताइन्छ ।
अध्यक्षमा कँडेल र रिजाल मुख्य दाबेदार भएसँगै नेतृत्वले सर्वसम्मत मिलाउने विषय थप चुनौतीपूर्ण देखिएको एमालेका प्रदेशस्तरीय कार्यकर्ताहरूको भनाई छ ।

एमाले केन्द्रीय पोलिटब्युरो सदस्य बैजनाथ चौधरीले अन्तिममा कँडेल र रिजालबीच चुनाव हुन सक्ने सम्भावना रहेको वताउनु भयो ।, ‘ पार्टीमा चुनाव हुने अवस्था जहाँसम्म नआउला, निर्वाचन हुने अवस्था आए कँडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने देख्छु ।’

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीका प्रभावशाली नेताहरू रहेकाले एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी नेतृत्वमा को आउला भन्नेमा तीव्र चासो छ । एमाले रुपन्देही अध्यक्ष तेजेन्द्र केसीले रुपन्देहीमा अधिकांश प्रतिनिधिहरू सर्वसम्मत चयन भएर आएकाले प्रदेशमा सर्वसम्मत नेतृत्व आउनुपर्ने भावना रहेको वताउनु हुन्छ।

खास गरी यहाँबाट केन्द्रमा पुगेका उपाध्यक्ष विष्णु पौडेल, महासचिव शङ्कर पोखरले, छविलाल विश्वकर्मा, ठाकुर गैरेलगायत नेताहरू रहेकोले उनीहरूको आफ्नो प्रदेशमा के कस्तो नेतृत्व आउँछ छ भन्ने चासो लिएको एमालेको कार्यकर्ताहरू बताउँछन् । प्रदेशको प्रथम अधिवेशनमा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरू बुटवल आउने तय भइसकेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?