आठ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

लेखनाथ पोखरेल
Read Time = 10 mins

काठमाडौं । काठमाडौंमा जोड्ने चीनसँगको सबैभन्दा नजिकको व्यापारिक नाका तातोपानी शुक्रबारदेखि खुला भएको छ । शुक्रबार सिन्धुपाल्चोक-१ का संघीय सांसद माधव सापकोटाको नेतृत्वमा नेपाली टोली तातोपानी नाकास्थित चिनियाँ भूमि प्रवेश गरेको थियो । नेपाली टोलीलाई तिब्बत सरकारका वित्त प्रमुख वाङ फिङ र सिगात्छेका नगर प्रमुख पासाङले स्वागत गर्नुभएको थियो । सापकोटाको नेतृत्वमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका उपाध्यक्ष दिप्छेन शेर्पा, भोटेकोशी–२ का वडाअध्यक्ष कुमार श्रेष्ठ, तातोपानी भन्सार प्रमुख दयानन्द केसी, उद्योग वाणिज्य संघ तथा हिमालय सीमापार ट्रक कन्टेनर व्यवसायीका प्रतिनिधि सहभागी थिए ।

२०७२ सालको विनाशकारी भूकम्पपछि पहिलोपटक चीनले तातोपानी नाका खुला गरेको हो । तिब्बतस्थित नेपाली महावाणिज्य दूतावासका अनुसार चिनियाँ अधिकारीहरूसँगको बैठकले उक्त नाका भएर मानव आवतजावत खुला गर्ने निर्णय गरेको थियो । तातोपानीको चिनियाँ बजारसम्म पुग्न तातोपानीस्थित अध्यागमन कार्यालयले बिहीबार नै पास वितरण सुरु गरेको थियो । तातोपानी भन्सार प्रमुख दयानन्द केसीले २०७२ सालको भूकम्पपछि अर्थात् आठ वर्षपछि पहिलोपटक मानव आवतजावतका लागि नाका खुला भएको बताउनुभएको छ ।

भूकम्पपछि तातोपानी नाका पूर्णरूपमा चार वर्ष बन्द भएको थियो । भूकम्पबाट क्षति पुगेका संरचना पुनर्निर्माणपछि २०७६ जेठ १४ आयात निर्यातका लागि सञ्चालन आएको भए पनि विश्वव्यापी कोरोना महामारीपछि सोही वर्षको चैत ११ नाका पुनः बन्द भएको थियो । यसबीच नाका खुल्ने र बन्द हुने क्रम चलिरह्यो । तथापि, आवतजावत समेतका लागि भने पहिलोपटक खुलेको हो । तर, तत्कालका लागि सिन्धुपाल्चोकवासीले मात्रै यस्तो सुविधा पाउनेछन् । सिन्धुपाल्चोकबाहेक अन्य जिल्लाका सर्वसाधारणका लागि पनि क्रमशः नाका खुला गर्दै जाने चिनियाँ पक्षले प्रतिबद्धता जनाएको छ । चीनको तिब्बत सरकारले गत १ मे बाटै सामान ढुवानी खुला गरेको भए पनि मानव आवतजावत भने खुलाएको थिएन ।

तातोपानी नाका खुलेपछि नेपालतर्फ व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर सर्वसाधारणको दैनिकीमा पनि प्रत्यक्ष प्रभाव पर्ने अपेक्षा गरिएको छ । चीनसँग सरसामान आयात र निर्यात गर्नका लागि तातोपानी नाका बन्द भएपछि रसुवा जिल्लाको नाका प्रयोग हुँदै आएको थियो । जसकारण लागत बढेको थियो । अझ भूकम्पपछि तातोपानी नाका बन्द हुँदा चिनियाँ सामानको ढुवानी भारतको कोलकताबाट गर्नुपर्ने बाध्यता थियो । तातोपानी नाका सञ्चालनमा आउँदा मूल्य केही घट्न सक्ने व्यवसायीहरू बताउँछन् । चीनको सामान समुद्री मार्ग हुँदै ल्याउँदा कोलकातासम्म आइपुग्न नै झण्डै ४० दिन लाग्ने भएकोले लागत पनि बढी हुन्थ्यो ।

तातोपानी नाकाको सञ्चालनले बजारमूल्य मात्र नभएर अन्य थुप्रै क्षेत्रमा सकारात्मक प्रभाव पर्ने नेपाल हिमालय सीमापार वाणिज्य संघका पूर्वअध्यक्ष दुर्गाबहादुर श्रेष्ठ बताउनुहुन्छ । श्रेष्ठका अनुसार दुई देशबीचको व्यापार सहजीकरण मात्र नभई दुई पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ । किनभने मानसरोवर जाने पर्यटकका लागि तातोपानी हुँदै यात्रा गर्न सहज हुने उहाँको भनाइ छ । तातोपानी नाका खुलेको खुसी व्यक्त गर्दै पूर्वअध्यक्ष श्रेष्ठले हिमालय टाइम्ससँग भन्नुभयो, ‘आठवर्षको प्रतीक्षापछि तातोपानी नाका खुलेको छ । पहिलो कुरा त नाका खुल्नु नै सबैभन्दा ठूलो उपलब्धि हो । तातोपानी नाका व्यापारिक नाका मात्र नभई यसको बहुआयामिक महत्व छ । व्यापारसँग नेपाल पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्नेछ । किनभने तातोपानी नाका हुँदै कैलाश मानसरोवर जाने तीर्थयात्री बढ्नेछन् भने सोही नाका हुँदै नेपाल आउने चिनियाँ पर्यटक पनि बढ्नेछन् ।’

तातोपानी नाका सञ्चालनमा आएपछि दुई देशबीचको आयात निर्यातको लागत कम हुने र सामान समयमै आइपुुग्ने भएकोले व्यापारी र उपभोक्ता दुवै लाभान्वित हुन सक्ने उहाँको भनाइ छ । चिनियाँ सामानको व्यापार गर्दै आएका खुद्रा व्यापारीहरूका अनुसार भूकम्पपछि तातोपानी नाका बन्द हुँदा सामानको मूल्य झण्डै १० प्रतिशतले बढेको थियो ।

पूर्ववत रूपमा सञ्चालन हुन अझै एक वर्ष लाग्छ : सापकोटा
सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य माधव सापकोटाले तातोपानी नाका पूर्ववत रूपमा सञ्चालन हुन अझै एक वर्ष लाग्ने बताउनुभएको छ । उहाँले भूकम्पका कारण नेपालतर्फ र चीनतर्फ धेरै क्षति भएको जसलाई कोरोनाले थलाएका कारण पूर्ववत रूपमा सञ्चालन हुन अझै एक वर्ष पर्खनुपर्ने बताउनुभएको हो । उहाँले दुवैतर्फका भौतिक संरचनाहरू निर्माणको जारी रहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘तातोपानी नाका खुल्दैन भन्ने नै अविश्वास ज्यादा थियो । अब खुलेको छ । अब पहिलाको जस्तो खोल्ने, बन्द हुने हुँदैन ।

यो कुरा म स्पष्ट पार्न चाहन्छु । नेपालका सबै जनताहरूलाई र बोर्डर वरपरका बासिन्दाहरूलाई के अनुरोध गर्न चाहन्छु भने हामी संयमित भएर, अनुशासित भएर चीन सरकारको नियम, कानुनलाई राम्रोसँग पालना गरेर उहाँहरूलाई सकारात्मक सन्देश दिन जरुरी छ । राम्रो सन्देश दिनसक्यौँ भने उहाँहरूलाई पनि पारि गएर भेट्यौँ, कुरा गर्‍यौँ । निकै उत्साहित र खुसी हुनुहुन्छ । यसरी हेर्दा पहिलाको जसरी खुल्ने बन्द हुन्छ जस्तो मलाई लाग्दैन । यो अब हामी पूर्ववत् रूपमा लान्छौँ । पारि पनि उहाँहरूको कतिपय तयारीहरू बाँकी छन् र त्यहाँ भवनहरू पुनर्निर्माण, जीर्णोद्धार गर्दै हुनुहुन्छ । मलाई के विश्वास छ भने हामीले संयमित र अनुशासित भएर चीन सरकारका नियम र कानुनहरूलाई परिपालना ग¥यौँ भने यसलाई एक वर्षभित्रमा पूर्ववत् रूपमा सञ्चालन गर्न सकिन्छ । म त्यो दिशामा सकारात्मक र उत्साहित भएर भूमिका खेल्नेछु ।’

तातोपानी नाका सुचारु भएसँगै सो क्षेत्रका सर्वसाधारण र व्यापारी, व्यवसायीहरूले खुसी व्यक्त गरेका छन् । आगामी दिनमा पुनः बन्द नहुने वातावरण मिलाउन पनि उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । नाका खुलेसँगै सीमा क्षेत्रका स्थानीय र व्यावसायीमा खुसी छाएको छ । चीनबाट सीमित सामान आयातका लागि खुला रहेको नाकाबाट २०८० वैशाख १८ (१ मे) बाट दोहोरो आयात निर्यात खुलाइएको थियो । आयात निर्यात खुलेलगत्तै नेपाल सरकारले नाका खोल्न कूटनीतिक पहल गर्दै आएको हो । त्यसपछि चिनियाँ अधिकारीबीच भएको छलफलले स्थानीय आवतजावत गर्न पाउने निर्णय गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?