अष्ट्रेलियालाई एक खेलअगावै सिरिज

Read Time = 4 mins

मेलबर्न । अष्ट्रेलियाले दक्षिण अफ्रिकाविरुद्धको टी-२० सिरिज एक खेलअगावै जितेको छ । दोस्रो खेलमा दक्षिण अफ्रिकालाई आठ विकेटले हराउँदै तीन खेलको सिरिजमा अष्ट्रेलियाले दुई-शून्यको अग्रता लिएको छ । जितका लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले १४.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्शले ३९ बलमा आठ चौका र ६ छक्कासहित ७९ रनको पारी खेल्नुभयो ।

यस्तै, ओपनर म्याथ्यु शर्टले ३० बलमा सात चौका र चार छक्कासहित ६६ रनको योगदान दिनुभयो । ट्रविस हेड १७ बलमा चार चौकासहित १८ र जोश इंग्लिस दुई रनमा समेटियो । दक्षिण अफ्रिकाका लिजार्ड विलियम्स र तबरेज शाम्सीले एक-एक विकेट लिनुभयो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिकाले २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका कप्तान एडेन माक्ररमले ३८ बलमा तीन चौका र दुई छक्कासहित ४९ तथा टेम्बा बभुमाले १७ बलमा ६ चौका र एक छक्कासहित ३५ रन बनाउनुभयो । ओपनर रिजा हेन्ड्रिक्स ३, रास्सी भान डर डुसेन ६, डेवाल्ड ब्रेभिस डक, जेराल्ड कोट्जी ११ रनमा आउट हुनुभयो ।

अष्ट्रेलियाका शन एबोटले चार ओभरमा २२ रन खर्चेर तीन विकेट लिनुभयो । नाथन एलिसले चार ओभरमा एक मेडनसहित २५ रन खर्चेर ३ विकेट लिनुभयो । पहिलो खेलमा अष्ट्रेलिया १११ रनले विजयी भएको थियो । अब तेस्रो खेल आइतबार हुनेछ । त्यसपछि पाँच ओडिआई खेल हुनेछ ।

यता इंग्ल्याण्डले दोस्रो टी-२० आई खेलमा न्युजिल्याण्डलाई ९५ रनले पराजित गर्‍यो । योसँगै चार खेलको सिरिजमा इंग्ल्याण्ड दुई-शून्यले अघि छ । जितका लागि १९९ रनको विशाल विजयी लक्ष्य पछ्याएको न्युजिल्याण्ड १३.५ ओभरमा १०३ रनमा अलआउट भयो । न्युजिल्याण्डका टिम सिफर्टले ३१ बलमा चार चौकासहित ३९, ग्लेन फिलिप्स २२ र मार्क च्यापम्यान १५ रनमा आउट हुनुभयो । इंग्ल्याण्डका गस एटिकिन्सनले २.५ ओभरमा २० रन खर्चेर चार विकेट लिनुभयो ।

त्यसअघि म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ रोजेको इंग्ल्याण्डले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९८ रन बनाएको थियो । इंग्ल्याण्डका जोनी बेयरस्टोले ६० बलमा आठ चौका र चार छक्कासहित ८६ रन जोड्नुभयो । न्युजिल्याण्डका इश सोधीले चार ओभरमा ४४ रन खर्चेर २ विकेट लिनुभयो । पहिलो खेलमा इंग्ल्याण्ड सात विकेटले विजयी भएको थियो । तेस्रो खेल आइतबार र चौथो खेल मंगलबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?