अमेरिकी सिनेटर र एमाले अध्यक्ष ओलीबीच भेटः एमसीसी र शान्ति प्रक्रियाबारे चासो

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ ।

आईतवार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो ।

भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले संसदीय दलका उपनेता एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भेटमा दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भएको बताउनु भयो । उहाँले सिनेटरले नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा राख्नुभएको र अध्यक्ष ओलीले आफू सरकारमा रहँदा नै शान्ति प्रक्रिया टुंगोमा पु¥याउन पहल गरेको र अहिले पनि अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर अघि बढ्ने बताउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई देशबीचको सम्बन्धका बारेमा कुराकानी भयो । सिनेटरजीको नेपालको शान्ति प्रक्रियाको बारेमा जिज्ञासा थियो, यो अब कसरी, के हुन्छ भन्ने जिज्ञासा थियो, दुई देशबीचको सम्बन्ध अझै सुमधुर हुँदै जाने कुरामा आशा थियो । अध्यक्षले यो सबै कुराको बारेमा नेपालको सन्दर्भमा हाम्रो पार्टीको दृष्टिकोण राख्नुभयो । शाीन्त प्रक्रिया हाम्रो सरकार हुँदैखेर टुंगोमा पु¥याउन खोजेको कुरा राख्दै तीन कुराहरु अन्तर्राष्ट्रिय प्रतिवद्धता, सर्वोच्च अदालतको फैसला, शान्ति प्रक्रिया पीडितमैत्री हुनेगरी टुंगोमा पुग्नुपर्छ भन्नेकुरालाई ध्यानमा राखेर हाम्रो तर्फबाट शान्ति प्रक्रिया टुंगोमा पु¥याउन लागेको छाैँ, भन्नेकुरा भयो ।’

उपाध्यक्ष नेम्वाङले भेटमा सिनेटरले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) एमसीसी नेपालले अनुमोदन गरेर कार्यान्वयन गर्न शुरु गरेकोमा खुशी लागेको बताउनुभएको जानकारी गराउनु भयो । उहाँले अमेरिकाले सम्झौता कार्यान्वयन गर्न शुरु भएकोमा अमेरिका सकारात्मक रहेको बताउनुभएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एमसीसीको सन्दर्भ आएको छ । एमसीसी नेपालले अनुमोदन गरेको छ भन्ने उहाँको भनाइ थियो । नेपालले एमसीसी अनुमोदन गरेर कार्यान्वयन समेत गर्नलाई अघि बढीरहेको कुराले आफूहरु यसलाई लिएर सकारात्मक भएको र खुशी भएको कुरा राख्नुभयो ।’

होलेन गत शुक्रवार नेपाल आउनुभएको थियो । होलेन अमेरिकी संसदको विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?