एमाले लुम्बिनी प्रदेश अध्यक्षमा विष्णु पौडेल पक्षका कँंडेल विजयी

एक उपसचिवबाहेक सबै पदाधिकारी कंडेल प्यानलकै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेकपा (एमाले) को लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल निर्वाचित हुनुभएको छ ।

तीव्र प्रतिस्पर्धाबीच कँडेल दुई मतले निर्वाचित हुनुभएको हो । कँडेलले ४७९ मत ल्याउनुभयो भने प्रतिस्पर्धी प्युठानका हरि रिजालले २७७ मत प्राप्त गर्नुभयो ।

कँडेललाई उपाध्यक्ष विष्णु पौडेल पक्षको समर्थन थियो भने रिजाललाई महासचिव शंकर पोखरेल पक्षको समर्थन थियो ।

पदाधिकारीमा एक उपसचिववाहेक अरु सबै पदमा राधाकृष्ण कंडेलकै प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।

सचिवमा लक्ष्मण आचार्यसहित भूगोलतर्फ १२ मध्ये आठ जिल्लाका सदस्य निर्विरोध निर्वाचित भएका छन् । आचार्य पनि कंडेल पक्षका हुनुहुन्छ । भूगोलतर्फ रुपन्देही, गुल्मी, बाँके र दाङ जिल्ला गरी चार जिल्ला, लेखा कमिटी र प्रदेश खुलातर्फ मतदान भएको थियो ।

उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, उपसचिवमा रोल्पाका पूर्ण बुढामगर विजयी हुनुभएको छ । महिला उपसचिवमा लिला राना विजयी हुनुभएको छ । बुढामगर रिजाल प्यानलका हुनुहुन्छ भने बांकी सबै कंडेल प्यानलका हुन ।

यस्तै लेखा समिति अध्यक्षमा दामोदर घिमिरे पनि विजयी हुनुभएको छ । घिमिरे पनि कंडेल प्यानलका हुनुहुन्छ।

प्रदेश अधिवेशन भए पनि यो निर्वाचनलाई एमालेका प्रभावशाली नेताद्वय पौडेल र पोखरेलको शक्ति परीक्षणको रुपमा एमाले भित्र चर्चा भएको थियो ।

१००४ मतदाता रहेको चुनावमा ९६५ मत खसेको थियो । ३९ जना प्रतिनिधि मतदानमा उपस्थित भएनन् ।

शनिवार शुरू प्रदेश अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको थियो। ओलीले सहमतिमा नेतृत्व चयनका लागि दबाव बढाए पनि नेतृत्व चयन मतदान प्रक्रियामा गएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?