नेपाली क्रिकेटको आशालाग्दो भविष्य

हिमालय टाइम्स
Read Time = 7 mins

नेपालीहरूले बहादुरी र वीरतामा विश्वमै नाम कमाएको कुरा जगजाहेर छ । बर्मा, मलेशिया, सिंगापुर, हङ्कङ, फोकल्याण्डमा नेपालीहरूले आफ्नो युद्धकौशल देखाएर विश्वमा वीर गोर्खा भनेर चिनिए । अब हामीले कलमवीर बन्न बाँकी छ भन्ने आशयका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘कलमवीर’ शीर्षकको कविता नै लेख्नुभयो । अबको समय भनेको खेलकुदमा पनि नेपालीहरूले कौशल प्रदर्शन गर्ने समय आइरहेको छ । खेलसँग बहुविविध क्षेत्र जोडिएर आउँछन् । यो हारजित र प्रतिस्पर्धाका लागि मात्र हुँदैन, यसका अनेकौं उद्देश्य हुने गर्छन् । दुई पक्षका बीचको सम्बन्ध स्थापित गर्न, भाइचारा र घनिष्टता बढाउनेजस्ता उद्देश्य राखेर खेलकुदको आयोजना हुन्छन् ।

शारीरिक सुस्वास्थ्य त प्रमुख उद्देश्य छँदैछ । दुई देशबीचको सम्बन्ध सुमधुर राख्नका साथै विश्व कूटनीतिको अभिवृद्धि गर्न/गराउन विश्वमा बेला-बेलामा विभिन्न खेल आयोजना हुने गर्दछन् । यसकै लागि ओलम्पिक र फुटबलको विश्वकप आयोजना हुनेगर्छ । विश्वकप फुटबलले विश्वमा एक प्रकारको हलचल पैदा गर्छ । विश्व स्तरीय, महादेश स्तरीय, क्षेत्रीय र दुई देशीय प्रतिस्पर्धा हुने गर्छन् । विभिन्न खेलका प्रतियोगिता प्रायः भइरहेकै हुन्छन् । हालका केही दशकदेखि विश्वमा क्रिकेट धेरै लोकप्रिय खेलका रूपमा विकसित भइरहेको छ । क्रिकेट फुटबल पछिको लोकप्रिय खेलका रूपमा चर्चित बनिरहेको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेट खेलका भाग लिन थालेको धेरै समय भएको छैन ।

अरूले एक शताब्दीदेखि खेल्दै आएको यो खेल नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको तीन दशक पनि भएको छैन तर नेपालले क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आइरहेको छ । सानो देश, अभ्यासमा कमी, साधनस्रोतको कमीजस्ता विभन्न कुराको सामना गर्नुपर्ने अवस्थाबाट अगाडि बढेको नेपाली क्रिकेट खेल र खेलाडी हिलोमा फुलेको कमल जस्तो हो । तर, यस पटकको एशियाली खेलमा नेपालले गरेको प्रदर्शनले सबैको आकर्षणमा पर्न सफल भयो । पहिलो कुरा त नेपाललाई राम्रो प्रतिस्पर्धीका रूपमा कसैले नहेरेको हुनसक्छ । प्रमुख कुरा त नेपालले भारतजस्तो ठूलो देशको शक्तिशाली राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गरिरहेको थियो ।

नेपालले भारतको राष्ट्रिय टिमसँग पहिलो पटक खेलेको थियो तर नेपालको उत्कृष्ट प्रदर्शनले सबैको ध्यानाकर्षण गर्‍यो । नेपालदेखि खेल हेर्न केही राजनीतिज्ञका साथै दुई हजार जतिको संख्यामा नेपाली दर्शकहरू श्रीलंका पुगे । त्यहाँको अध्यगमन विभागले समेत नेपालीहरूको संख्या देखेर प्रश्न सोध्यो । खेलमा भारतीयभन्दा नेपाली दर्शकहरूको संख्या बढी देखेर भारतीयहरूले आश्चर्य मानेका थिए । भारतीय क्रिकेट टिमले ठूलो देशको राष्ट्रिय टिम भएकाले नेपाली टिमलाई सामान्य ठानेको थियो तर नेपालको उत्कृष्ट खेल देखेर भारतीय टिमसमेत विशेष सतर्कताका साथ खेल्न बाध्य भयो । नेपालको पराजय भयो तर नेपालीको राम्रो प्रर्शदन देखेर भारतीय पक्षबाट नेपाली टिमलाई हौसला दिने काम भयो ।

भारतीय कोच र खेलाडीहरूले नेपाली खेलाडीहरूलाई मेडल दिए । विजेताले मात्र पाउने मेडल नेपालले खेलमा हारे पनि मन जित्न सकेकाले पाएका हुन् । नेपालको प्रदर्शन देखेपछि भारतका पूर्वक्रिकेटर आकाश चोपडाले नेपाली खेलाडीहरूको प्रशंसा गर्दै भारतले नेपाली टोलीको क्षमता अभिवृद्धि गर्न भारतको ‘ए’ टोलीलाई नेपाल पठाएर घरेलु संरचनासँग सामेल गराउनुपर्ने सुझाब दिनुभएको छ । सबै कारणबाट नेपालको क्रिकेट खेलको भविष्य उज्ज्वल भएको कुरा निर्विवाद छ भन्न सकिन्छ तर नेपाली खेलाडीलाई प्रोत्साहन आवश्यक छ र खेलका अभ्यासका लागि आवश्यक संशाधनको व्यवस्था गर्न राष्ट्रले सक्नुपर्छ । यसका लागि सुविधा सम्पन्न रंगशालाको आवश्यकता पूर्वसर्त हो । भरतपुरमा घुर्मुस-सुन्तलीको प्रयासबाट बन्दै गरेको रंगशालाले विभिन्न कारणले पूर्णता पाउन सकेको छैन भने मूलपानी र कीर्तिपुरको खेलमैदान उच्च क्षमताका छैनन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साह पनि यस पटक श्रीलंकामा खेल हेर्न जानुभएका कारण त्यहाँको खेलमैदान हेरेर फर्किनुभएको छ । उहाँले सरकारले जग्गा उपलब्ध गराउने हो भने श्रीलंकामा नेपाल-भारतबीच प्रतिस्पर्धा भएको रंगशाला जत्तिको स्तरको महानगरपालिकाले बनाइदिने प्रतिबद्धता प्रकट गर्नुभएको छ । यसका लागि सबैको प्रयास त हुनैपर्छ, कसैको एक्लो प्रयासबाट यो सम्भव हुने कुरा होइन । तर, जग्गा काठमाडौं उपत्यकामा त्यत्रो परिमाणमा नपाइन सक्छ र पाइए पनि लागत मूल्य बढी पर्ने भएकाले उपत्यकाबाहिरको नजिकको ठाउँ हेर्दा लागत कम पर्ने कुरा निर्ववाद छ । सरकार तथा संबद्ध पक्षहरूको प्रयास हुने हो भने नेपालको क्रिकेट खेलले विश्वमा नाम राख्नसक्ने कुरा निर्विवाद छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?