उद्धव थापा फेरि पदमुक्त

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त हुने आदेश गरेको छ ।

कोशी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहनुभएको मुख्यमन्त्री थापा पदमुक्त हुनुभएको यो दोस्रो पटक हो ।

यसअघि सभामुखको समेत हस्ताक्षर लिएर मुख्यमन्त्री बन्नुभएको थापा सर्वोच्चकै आदेशबाट पदमुक्त हुनुभएको थियो ।

सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर मुख्यमन्त्री नियुक्त गरेको पाइएपछि सर्वोच्चले ११ साउनमा थापाको नियुक्ति नै बदर गरेको थियो ।

असंवैधानिक रूपमा संसदबाट विश्वासको मत लिएको ठहर गर्दै सर्वोच्च अदालतले थापालाई पद मुक्त गरेको हो ।

यस पटक संसदबाट विश्वासको मत लिने क्रममा सभाध्यक्षको समेत मत लिएपछि नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। कार्कीको रिटको सुनुवाई गर्दै सर्वोच्चले थापाले असंवैधानिक रूपमा विश्वासको मत लिएको ठहर गर्दै पदमुक्त गर्ने फैसला गरेको हो ।

सर्वोच्चले थापा पदमुक्त भएसँगै एमालेका हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेशसमेत दिएको छ ।

१६ साउनमा गठबन्धनको समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएको थापाले प्रदेशसभा बैठकको अध्यक्षता गर्नुभएको इस्राइल अन्सारीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?