मान्ममा आमा–छोरा बेपत्ता भएपछि माइतीपक्ष आन्दोलित

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 10 mins

कालिकोट । जिल्लाको सदरमुकाम मान्म बजारबाट आमा छोरा बेपत्ता भएका छन् । खाँडाचक्र नगरपालिका–१ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी हुन् ।

पतिले निरन्तर हिंसा गरेपछि जिल्ला अदालत कालिकोटमा अंश भागबन्डाको मुद्दा दायर समेत गरेकी थिइन् ।  सान्नीत्रिवेणी–१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र शाही जिल्ला सदरमुकाम स्थित नावगैरामा रहेको डेराबाट बेपत्ता भएका छन् ।

उनी दैखेल भगवतीमाई गाँउपालिका–५ कट्टी घर भएर मान्म बजारमा शाही इलेक्ट्रोनिक्स नामको इलेक्ट्रोनिक पसल सञ्चालन गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । लामो समयदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाही एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य र एमाले कालीकोटको कार्यालय सचिव समेत थिए । महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको छ ।

गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको आरोप छ । ' खाना खाएर सुत्न कोठा गएका हुन् ।' होटल संचालक नमराज सुवेदीले भन्नुभयो, 'पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ ।' राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका छ ।

आमाछोरालाई बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै गीताका माइती पक्षका आफन्तले शुक्रबार बिहानैदेखि मान्म बजारमा प्रदर्शन गरेका छन् ।  प्रदर्शनकारी ढुंगामुढा गरेपछि  शाहीको मान्मस्थित घरमा सुरक्षा दिइएकाे छ ।

आफन्तले महिला र बालहिंसाविरुद्ध नारावाजी गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् । उनीहरुले बेपत्ता भएका आमा छोराको खोजी गरिदिन प्रहरीसँग माग  गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख डिएसपी अर्जुन केसीले पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको बताउनु भयाे ।

हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको डिएसपी केसीले बताउनुभयो ।

मान्म बजारमा शाहीजी इलेक्ट्रोनिक्स’ पसल सञ्चालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काेठामै आमाछोराको हत्या भएकाे र शव लुकाइएकाे हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसीले बताउनुभयो ।

पीडित महिला गिताले पत्तिको निरन्तर हिंसा सहन नसकेर अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् । दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरेका थिए । शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेपछि उनी अलग बस्दै आएकी थिइन् ।

दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी छिन् ।

म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की म्यासेन्जर मार्फत दिएका थिए । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेको कुरा केही साताअघि सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

यस्तो थियो घटना

जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर-१ लुसाका ५५ वर्षीय धनिराम जैसीको २०७७ साल भदौ २८ गते निधन भयो ।

स्थानीय जिते बजारतर्फ गइरहेका बेला भिरबाट लडेर मृत्यु भएका जैसीको लडेर नभई उनकै ज्वाइँ दानबहादुर शाहीले मान्छे लगाएर मारेको घटना केही साताअघि बाहिरिएको थियो । मृतक जैसीका छोरी गीता जैसीसँग सम्बन्ध राखेकै कारणले शाही र जैसी परिवारबीच लामो समयदेखि पटकपटक विवाद हुँदै आएको थियो ।

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नम्बर–५ कट्टीका स्थानीय दानबहादुर शाहीले गीता जैसीसँग अवैध सम्बन्ध राखेर एक छोरासमेत जन्माएका थिए । उनी कालीकोट सदरमुकाम मान्म बस्दै आएका थिए ।

माइती पक्षले आफ्नो छोरीको जिम्मा लिन दबाब दिएका थिए । शाहीले गर्भ बसिसकेकाले कान्छी श्रीमतीका रूपमा स्वीकार पनि गरेका थिए । छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हिंसा गर्दै आए । छोरीलाई हिंसा गरेको माइती पक्षलाई मन परेन । गीताका माइती पक्षले हिंसा नगर्न र अति गरे कानुनी निकायमा पुग्ने चेतावनी दिएका थिए ।

हिंसा बढ्दै गएपछि गीताका माइती पक्षले दानबहादुर शाही (गीताका श्रीमान्) विरुद्ध गीतालाई नै प्रहरीमा उजुरी गर्न लगाएका थिए । आफूलाई प्रहरीमा उजुरी गरेको र गीताले पनि अदालतमा अंशवण्डाको मुद्दा दर्ता गराएपछि उनका बुवाको मृत्युको कारण खुलेको हो । एमाले कालीकोट जिल्ला कमिटी सदस्य रहेका शाहीले आफ्नो कान्छी श्रीमतीलाई म्यासेन्जरमार्फत सन्देश पठाउँदै अदालतबाट मुद्दा फिर्ता नलिएमा हत्या गरिदिने भनेका थिए ।

शाहीले गीता जैसीलाई लेखेको म्यासेजमा तेरो बुवाको हत्या पनि आफूले गाउँकै केटा लगाएर भिरबाट धकेलेर गरेको र तेरो हालत पनि त्यस्तै बनाइदिने भनेर धम्की दिएको म्यासेज हिमालय टाइम्ससँग सुरक्षित छ ।

उनले धेरै पटक लेखेको म्यासेजमा वकिल, न्यायाधीशलाई किनेको, पैसा भएमा सबथोक हुने भन्दै कान्छी श्रीमती र उसबाट जन्मेको छोराको हालत पनि त्यही बनाइदिने भनेका थिए । उनले आफैँले जन्माएको छोरालाई पनि मारिदिने म्यासेन्जरमा गरिएको कुराकानीमा उल्लेख छ ।

म्यासेन्जरमा लेखेको चेतावनीमा 'कान्छी श्रीमतीलाई तेरो छोरालाई पनि मान्छे लगाएर मार्छु, ठकुरीको छोरा हो पछि हट्दैन । तेरो छोरा मारेपछि कसरी अंशवण्डा लिन्छेस्' भन्दै विभेदकारी शब्दले गालीसमेत गरेको म्यासेन्जरमा देखिन्छ ।

सो घटना बाहिरिएको एक साता नबित्दै शाहीले म्यासेन्जरमा गीतालाई आमा–छोरा दुबैलाई मारिदिने अर्थात् गायब पारिदिने भनेर लेखेको कुरा आमाछोरा दुबै बेपत्ता पछि घटना रहस्यमय तरिकाले भएको बुझिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?