छन्द-साधना पुरस्कार-२०८० सिग्देल र पौडेललाई

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित ‘छन्द-तरंग’ले एक विज्ञप्तिमार्फत् यस वर्षको ‘छन्द-साधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ सालदेखि हरेक वर्ष छन्दकविताका एकजना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको विशिष्ट छन्द-साधना पुरस्कार र २०७९ सालदेखि ४० वर्षभित्रका एकजना युवाकविलाई प्रदान गरिँदै आएको ‘छन्द-साधना युवा प्रतिभा पुरस्कार’को घोषणा शुक्रबार गरिएको हो । नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्द-साधकहरूलाई जोड्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियानअन्तर्गत २०८० सालको ‘विशिष्ट छन्द-साधना पुरस्कार’ वरिष्ठ कवि भुवनहरि सिग्देल (काठमाडौं) लाई र ‘छन्द-साधना युवा प्रतिभा पुरस्कार’ प्रखर युवाकवि कविराज पौडेल (रूपन्देही) लाई प्रदान गरिने भएको छ ।

नगद २५ हजार र प्रमाणपत्र रहेको ‘विशिष्ट छन्द-साधना पुरस्कार’ र १५ हजार र प्रमाणपत्र रहेको ‘छन्द-साधना युवा प्रतिभा पुरस्कार’को रकममा यस वर्षदेखि वृद्धि गरी क्रमशः ४० हजार र २० हजार बनाइएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । उक्त विशिष्ट छन्द-साधना पुरस्कारबाट यसअघि नै विशिष्ट छन्दसाधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल र रामचन्द्र भट्टराई पुरस्कृत भइसक्नुभएको छ भने छन्द-साधना युवा प्रतिभा पुरस्कारबाट युवाकवि सुदेश सत्याल पुरस्कृत भइसक्नुभएको छ ।

नेपाली कविताको इतिहासमा विगत लामो समयदेखि शास्त्रीय छन्दको विकास, विस्तार, परिष्कार तथा मानकीकरणका लागि अहोरात्र समर्पित भई नेपाली छन्दकविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि सिग्देललाई विशिष्ट छन्द-साधना पुरस्कार प्रदान गरिएको हो । विसं २००७ जेठ ५ गते दहचोक, काठमाडौंमा जन्मिएर २०५० को दशकबाट अत्यन्त तीव्र गतिमा कविता-काव्यको सिर्जनामा लाग्नुभएका सिग्देलका ‘आर्तनाद’ (२०५४), खाते (२०५५), कानी (२०५५) लगायतका दशवटा खण्डकाव्य, ‘धरणीधर’ (२०५५), ‘मेनुका’ (२०५६) लगायतका पाँचवटा महाकाव्य, विभिन्न कवितासंग्रह, कथासंग्रह, उपन्यास, संस्मरण, बालसाहित्य आदि क्षेत्रका ३६ वटा साहित्यिक कृतिहरू प्रकाशित छन् । सिग्देलका छन्दकविताहरू कलासौन्दर्य र परिष्कृति शिल्पकारिताका दृष्टिले उच्चकोटिका मानिन्छन् ।

यसरी नै विसं २०४० भदौ १२ गते रापाकोट, स्याङ्जामा जन्मिएर २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय र रूपन्देहीमा ‘छन्दवादी समाज नेपाल’जस्तो संस्था नै स्थापना गरेर झण्डै दुई दशकदेखि छन्दकविताको साधनामा समर्पित रही ‘चित्रविचित्र’ (२०६२), घाइते राष्ट्र (२०७०) जस्ता छन्दोबद्ध कवितासंग्रह र रूपसी (२०६३), कैदी (२०६५) र छायाछवि (२०६९) जस्ता छन्दोबद्ध खण्डकाव्यका साथै सयौँ फुटकर कविताका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला, छन्दसम्बद्ध राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन निर्माण, पिङ्गल छन्द र अंग्रेजी छन्दविधानसम्बन्धी प्राज्ञिक अनुसन्धान र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि कविराज पौडेललाई छन्द-साधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । कवि पौडेलले पूर्वीय जगत्को पिङ्गल छन्द र पाश्चात्य जगत्को छन्दविधानका समानता र भिन्नताहरूको गहन अध्ययन र अनुसन्धान गरी आधिकारिक रूपमा सामग्रीहरूको प्रकाशन र प्रसारण गर्ने कार्यमा समेत आफूलाई समर्पित गर्दै आउनुभएको छ ।

उक्त दुवै पुरस्कार निकट भविष्यमा एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा छन्द-तरंगबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत पाँच वर्षअगाडि २०७५ भदौ २२ गतेबाट काठमाडौंको वानेश्वर थापागाउँमा रहेको लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रबार फरक-फरक पुस्ताका तीनजना कविका पाँच-पाँचवटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम १९औँ शृंखलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण २०७६ चैत महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिएको कुराको जानकारी छन्द-तरंगका संयोजकद्वयमध्येका एक प्रा.डा. देवी नेपालले दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?