सुनवलमा २५ करोडको लगानीमा शीतभण्डार

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका २, मुखिया टोलमा तीन हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माणकार्य सम्पन्न भएको छ । २५ करोड लागतको शीतभण्डार निर्माणका लागि २० करोड ९८ लाखमा टेण्डर स्वीकृत भएको थियो । विक्याट विल्डर्स काठमाडौंंले १८ महिनामा निर्माणकार्य सम्पन्न गर्ने गरी २०७६ साल मंसिरमा सम्झौता गरे पनि कोरोनाका कारण चार वर्षपछि मात्र शीतभण्डारको निर्माण सम्पन्न भएको हो ।

नेपाल सरकारको सहकारी विभागमार्फत् अर्थ मन्त्रालयले स्थानीय पालिकासँग समन्वय गरी निर्माण सम्पन्न गर्ने गरी २०७४ साल पुस १४ गते जिल्ला सहकारी संघ पश्चिम नवलपरासीले शीतभण्डार निर्माणको अनुमति लिएको थियो । शीतभण्डार निर्माणका लागि सरकारको ६० प्रतिशत, पालिकाहरूको २० प्रतिशत र सहकारी संघ–संस्थाको २० प्रतिशत लागत रहने गरी शीतभण्डार स्वीकृत भएको थियो ।

हाल सरकारबाट १२ करोड ५९ लाख अर्थात् ६० प्रतिशत अनुदान रकम, सुनवल नगरपालिकाबाट एक करोड ५० लाख, रामग्राम नगरपालिकाबाट एक करोड, बर्दघाट नगरपालिकाबाट २५ लाख, सरावल गाउँपालिकाबाट चार लाख ५० हजार र ८५ वटा सहकारीबाट तीन करोड ३० लाखसम्म संकलन भएको जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

स्टिल स्ट्रक्चरमा मल्टी चेम्बरको तीन तला रहेको शीतभण्डार निर्माणकार्य सम्पन्न भएसँगै सञ्चालनका लागि तयारी रहेको जिल्ला सहकारी संघ पश्चिम नवलपरासीका सचिव चण्डीप्रसाद पाण्डेले बताउनुभएको छ । घरछेउमा नै शीतभण्डार सञ्चालनमा आउने भएपछि वडा २ मुखिया टोलका स्थानीयवासीसमेत हर्षित भएको स्थानीय रामनाथ पौडेलको भनाइ थियो । जिल्लाका कृषकलाई लक्षित गरी निर्माण गरिएको शीतभण्डार सबैका लागि र सधैंंका लागि प्रभावकारी बनाउन जिल्लाका सबै किसान तथा व्यवसायीलाई जागरुक बनाउन जरुरी छ । शीतभण्डारको समयमै सदुपयोग गर्न सकिएन भने राज्य र सहकारीको लगानी बालुवामा पानी नहोला भन्न सकिँदैन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?