मान्मबाट बेपत्ता आमाछोरा नेपालगञ्जमा भेटिए

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 3 mins

कालीकोट । कालीकोटको खाँडाचक्र नगरपालिका-१ मान्म बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमाछोरा नेपालगञ्जमा भेटिएका छन् । पतिसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंशमुद्दा हालेकी सान्नीत्रिवेणी(१ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता थिए ।

उनी मान्म बजारमा व्यववसाय गर्दै आएका दैलेख भगवतीमाई-५ कट्टीका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका भएको थियो । उनीहरु शनिबार दिउँसो नेपालगञ्जको कारकोदोबाट सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कारकाँदोको एक होटलमा खाजा खान आएको बेला कालीकोटमा रहेकी भाउजुसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यज्ञराज जोशीले भन्नुभयो ुबाँके प्रहरीले नियन्त्रणमा लिएर कालीकोट पठाउने तयारी गरिरहेको छ ।ु आफन्तलाई अपहरणमा परेको भने पनि कालीकोट ल्याएपछि सबै प्रस्ट हुने उनले बताउनुभयो ।

बेपत्ता भनिएकी गीताले नेपालगञ्जबाट भाउजु नाता पर्ने समिता सुवेदीलाई कालीकोट फोन गरेकी थिइन् । शुक्रबार बिहान ३ बजेतिर चर्पी जान ढोका खोलेको बेला ३ जनाले केही सुँघाएर आफूलाई बेहोस बनाइ अपहरण गरेको उनले फोनमा सुनाएको सुवेदीले बताउनुभयो ।

पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर आएपछि प्रहरी खोजीमा सतर्क भएको डीएसपी अर्जुन केसीले बताउनुभएको छ । आमाछोरा बेपत्ता रहँदा उनको मोबाइल कोठामै भेटिनुले घटना रहस्यमय बनाएको छ ।

अदालतमा अंश र सम्बन्धविच्छेदको मुद्दा हालेकी गीतालाई उनका पति दानबहादुरले कुटपिट गरेर यातना दिने गरेको आफन्तले बताए । दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुर प्रहरी हिरासतमा छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?