मन्त्रालयको भार घटाउने तयारीमा प्रधानमन्त्री प्रचण्ड

एनपी साउद परराष्ट्र मन्त्री बन्दै

डिबी शर्मा
Read Time = 7 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको छ । सरकारको काम कारबाही थप प्रभावकारी बनाउन भन्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गर्नुभएको हो । त्यसका लागि उहाँले सत्तारूढ गठबन्धनका प्रमुख घटक दलहरूसँग छलफल गर्नुभएको छ । शनिबार भएको छलफलमा गठबन्धन दलका प्रमुख नेताहरूबीच मन्त्रिपिरषद् विस्तारलगायत विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा भएको छलफलमा मन्त्रिपरिषद् विस्तार र उपनिर्वाचनका विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गर्नुभएको हो ।

बैठकमा कांग्रेस उपसभापति तथा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र महामन्त्री गगनकुमार थापा, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललगायत नेताको पनि उपस्थिति थियो । कांग्रेसले थप मन्त्रीको नाम नदिँदा सरकारले पूर्णता प्राप्त गरेको छैन । कांग्रेसबाट थप चार मन्त्री र अरू दललाई थप दुई मन्त्रालय दिएर सरकारलाई पूर्णता दिने प्रधानमन्त्री प्रचण्डको तयारी छ । प्रधानमन्त्री ‘प्रचण्ड’ले अझै ६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहनु भएको छ ।

केही समय अघिसम्म १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका उहाँले प्रधानमन्त्रीसँगै परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, युवा तथा खेलकुद, वन तथा वातावरण र खानेपानी तथा सरसफाइ मन्त्रालय आफँैसँग राख्नुभएको छ ।
मन्त्रिपरिषद् विस्तार हुँदा गठबन्धन दलभित्रको आन्तरिक भागबण्डा नमिल्दा सरकारले पूर्णता पाउन नसकेको हो । कांग्रेसको डा. शेखर कोइराला पक्षले मन्त्रीको नाम नदिएपछि कांग्रेसको भागमा परेका आधा मन्त्रालय प्रधानमन्त्री प्रचण्डसँग छन् । तीन मन्त्रालय नपाएसम्म सरकारमै सहभागी नहुने शेखर समूहको अडान छ । त्यसो त गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी (जसपा) मा पनि विवाद देखिएको छ । दुई मन्त्रालय पाएको जसपाबाट अशोक राईले मात्र शपथ लिनुभएको छ । गठबन्धनमा सामेल आमजनता पार्टी पनि सरकारमा गएको छैन भने जनमत पार्टीका मन्त्रीले राजीनामा दिएका छन् । गत पुसमा प्रधानमन्त्री बन्नुभएका प्रधानमन्त्री प्रचण्डले सय दिनमै दुईपटक विश्वासको मत र सातपटक मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएको छ । यसैबीच, नेपाली कांग्रेसले नेता एनपी साउदलाई परराष्ट्र मन्त्री बनाउने भएको छ ।

कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा साउदलाई नियुक्त गर्न लागिएको कांग्रेसनिकट स्रोतले बतायो । स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले एनपी साउदको नाम सिफारिस गरिसक्नु भएको छ । उहाँलाई आजै (आइतबार) नै शपथ गराउने तयारी छ । साउदलाई परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी भए पनि अझै मन्त्रिपरिषद्ले पूर्णता भने पाउने छैन ।

सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्न सक्छ : थापा
कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताउनुभएको छ । महामन्त्री थापाले संघीय सरकारदेखि प्रदेश र स्थानीय सरकारले समेत महाविपत्तिको बेलामा जस्तो सोेचेर काम गर्नुपर्ने बताउनुभयो । कांग्रेस मकवानपुर-काठमाडौं सम्पर्क समितिले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मुलुक संकटमा रहेकाले परिणाम दिने गरी काम गर्नुपर्ने बताउनुभयो । सुझबुझपूर्ण ढंगले काम नगरे मुलुक झनै संकटमा पर्दै जाने उहाँको भनाइ छ । ‘नेपालमा अहिले महाविपत्ति आएको छ । संकटको बेला छ । युद्धको बेलामा जस्तो सोच्ने हुनुपर्दछ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीदेखि, मन्त्री, प्रदेशमन्त्री र स्थानीय सरकार प्रमुखलाई भ्याइ-नभ्याई हुनुपर्दछ । अनि मात्रै परिणाम दिन सकिन्छ । राम्रोसँग सम्हालेनौँ भने बिग्रँदै जान्छ ।’

मुलुक अराजकतातिर जाँदै छ : कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको बताउनुभएको छ । नेपाली कांग्रेस मोरङले नयाँ वर्षका अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले देशको आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक क्षेत्रमा अराजकता बढ्दै गएको बताउनुभयो । ‘म अहिले मुलुक अप्ठ्यारो स्थितिमा छ त भन्न चाहन्न । तर, देश आर्थिक क्षेत्रमा मात्रै होइन राजनीतिक, धार्मिक र सांस्कृतिकलगायत कुनै पनि क्षेत्रमा सही तरिकाले हिँड्न सकेको छैन,’ उहाँले भन्नुभयो, ‘मुलुक विस्तारै अराजकतातर्फ अगाडि बढिरहेको छ ।’ कांग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने बताउँदै कोइरालाले कांग्रेसलाई एक ढिक्का बनाउनुपर्नेमा जोड दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?