जर्मनीमाथि जापानको सानदार जित

Read Time = 3 mins

टोकियो । मैत्रीपूर्ण खेलमा जापानले जर्मनीमाथि चार-एकको जित हात पारेको छ । एसियाली टोलीले युरोपियन टोलीमाथि हात पारेको यो ठूलो सफलता हो । जुन्या इटोले गोल गर्दै जापानलाई अग्रता दिलाउनुभएको थियो । लगत्तै लिरो सानेले घरेलु टोली जर्मनीका लागि बराबरी गोल फर्काउनुभयो । अयासे उएडाले गोल गर्दै जापानलाई पहिलो हाफमा दुई-एकले अघि बढाउनुभयो । त्यसपछि दोस्रो हाफमा तकुमा असानो र आओ तनाकाले गोल गर्दै जापानलाई चार-एकको फराकिलो जित दिलाउनुभयो ।

जर्मनीले पछिल्लो पाँच खेलमा चौथो पराजय भोगेको छ । सन् २०२० को नेसन्स लिगमा स्पेनसँग छ-शून्यले पराजित बनेपछि जर्मनीले सबैभन्दा ठूलो हार बेहोरेको हो । सन् २०२१ मा गोचिम लोको स्थानमा आउनुभएका बायर्न म्युनिखका पूर्वप्रशिक्षक फ्लिकले जर्मनीका लागि पछिल्ला २५ खेलमा १२ खेलमा जित हासिल गर्नुभएको छ । जर्मनी सन् २०२२ को विश्वकपमा समेत जापानसँग दुई–एकले पराजित भएको थियो ।

यता, युइएफए युरो २०२४ को छनोटअन्तर्गतको खेलमा इंग्ल्याण्ड र युक्रेनबीचको खेल एक-एकको बराबरीमा टुंगिएको छ । गए राती सम्पन्न खेलमा इंग्ल्याण्डले खेलमा पछि परेको अवस्थाबाट पुनरागमन गर्दै बराबरी गरेको हो ।

एलेक्जेन्डर जिन्चेनकोले खेलको २६औँ मिनेटमा गोल गर्दै युक्रेनलाई अग्रता दिलाउनुभएको थियो । तर, काइल वाल्करले आफ्नो अन्तर्राष्ट्रिय क्यारियरको पहिलो गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।

त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसक्दा दुवै टोलीले अंक बाँडेका हुन् । इंग्ल्याण्ड समूहमा पाँच खेलमा १३ अंकसहित पहिलो स्थानमा छ । युक्रेन भने सात अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यस्तै, अर्को खेलमा बेल्जियमले अजरबैजानलाई एक-शून्यको झिनो अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि यानिक कारास्कोले खेलको ३८औँ मिनेटमा गरेको गोल निर्णायक साबित भयो ।

बेल्जियम चार खेलमा १० अंकसहित समूहको पहिलो स्थानमा छ भने १० अंक नै रहेको अष्ट्रिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?