नेपाल सुपर लिगमा नौ टोली

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा नौ टोलीले सहभागिता जनाउने भएका छन् । पहिलो संस्करणमा सहभागिता जनाएको विराटनगर एफसीले नखेल्ने भएसँगै नौ टोलीले मात्रै खेल्ने भएका हुन् । प्रतियोगिताको आयोजक नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार पहिलो संस्करणमा सात टोली सहभागी रहेकोमा यसपटक १० टोलीले प्रतिस्पर्धा गर्ने भनिए पनि अन्तिममा विराटनगर सिटी एफसीले नखेल्ने जनाएको हो ।

एनएसएलमा साबिक विजेता काठमाडौं रेजर्स, उपविजेता धनगढी फुटबल क्लब, पोखरा थन्डर्स, बुटवल लुम्बिनी फुटबल क्लब, ललितपुर फुटबल क्लब र फुटबल क्लब चितवनसँगै नयाँ टोली झापा एफसी, स्पोर्टिङ इलाम डे मेची एफसी र वीरगञ्ज युनाइटेड एफसीले सहभागिता जनाउँदै छन् ।

एनएसएलले दोस्रो संस्करणका लागि यसअघि नै अक्सन गरे पनि अधिकांश खेलाडी पलायन भएकाले पुनः अक्सन हुने भएको छ । असोज १९ गते नयाँ टोली निर्माणका लागि अक्सन हुने भएको छ । यसका लागि आयोजकले असोज ५ गतेसम्म खेलाडी सूची फ्रेन्चाइज टोलीलाई उपलब्ध गराउने भनेको छ ।

यस्तै, आयोजकले प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक गरेको छ । जसअनुसार उद्घाटन खेलमा मंसिर ८ गते काठमाडौं रेजर्स र स्पोर्टिङ इलाम डे मेची भिड्नेछन् । खेल तालिकाअनुसार दोस्रो संस्करण ९ मंसिर देखि ९ पुससम्म सञ्चालन हुनेछ ।

पहिलो संस्करण कोभिड संक्रमणका कारण दशरथ रंगशालामा बिनादर्शकको उपस्थिति आयोजना भएको थियो । आयोजक एनएसइएमले यसपटक केही खेल उपत्यकाबाहिर गर्ने भने पनि आर्थिक अवस्थाका कारण सम्पूर्ण खेल दशरथ रंगशालामै हुने भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?