प्रधानमन्त्रीको विदेश भ्रमण : अमेरिका जाने भ्रमण टोलीको सदस्य संख्या पाँच मात्रै रहने

चीनसँग पुराना सम्झौताको कार्यान्वयनमा जोड दिन सुझाव

अनिल क्षेत्री
Read Time = 12 mins

काठमाडौं । चौतर्फी चर्को आलोचनापछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न अमेरिका भ्रमण टोलीको संख्या घट्ने भएको छ । यसअघि प्रधानमन्त्री प्रचण्डसँग परराष्ट्रमन्त्री एनपी साउदसहित २४ जनाको टोली अमेरिका जाने मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले सो संख्या घटाउन निर्देशन दिएपछि भ्रमण टोलीको संख्या घटाउने निर्णय भएको स्रोतले जनाएको छ । सोमबार बिहान प्रधानमन्त्रीले मुख्यसचिव बैकुण्ठ अर्याललाई बोलाएर भ्रमण टोलीको संख्या घटाउन निर्देशन दिनुभएको बताइएको छ । प्रधानमन्त्री प्रचण्डको सचिवालय स्रोतले प्रधानमन्त्रीको निर्देशन उद्धृत गर्दै भन्यो, ‘देशको आर्थिक अवस्था कमजोर रहेको समयमा जम्बो टोली लिएर विदेश भ्रमणमा जाँदा राम्रो सन्देश जाँदैन, भ्रमण टोलीमा सहभागीको संख्या घटाउने प्रस्ताव तयार गर्नु ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले आज (मंगलबार) बस्ने मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसँग कति जनाको टोली जाने भन्ने निर्णय गर्ने जानकारी दिँदै भन्नुभयो, ‘प्रधानमन्त्रीले जतिसक्दो सानो भ्रमण टोली बनाउन निर्देशन पनि दिइसक्नु भएको छ । सोहीअनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्छ । प्रधानमन्त्रीको चाहना जम्बो टोली लिएर जाने छैन ।’ भ्रमण टोलीको संख्याबारे अमेरिका भ्रमण टोलीका एक सदस्यले भन्नुभयो, ‘सुरक्षा प्रोटोकलका लागि दुई सुरक्षाकर्मीसहित पाँचजना मात्र गए पुग्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो । हामीले नै प्रधानमन्त्रीलाई यस्तो सुझाव दिएका हौँ, अब टोली छरितो बन्छ ।’

स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्ड र स्वकीय सचिव गंगा दाहाल टोलीमा सहभागी हुनुहुने छ । प्रधानमन्त्रीसँग अब एकजना स्वकीय सचिव, एक जना फोटोग्राफर र दुईजना सुरक्षाकर्मी मात्रै हुनेछन् । परराष्ट्रमन्त्री एनपी साउद न्युयोर्क प्रस्थान गरिसक्नु भएको छ । राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलसहित अन्यको नाम भने भ्रमण टोलीको सूचीबाट हटाइएको छ । प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ ।

यसअघि, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिव गंगा दाहाल, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, मुख्यसचिव बैकुण्ठ अर्याल, परराष्ट्र सचिव भरतराज पौड्यालसहित नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीसहितको उक्त प्रतिनिधिमण्डलमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि, न्यूयोर्कस्थित महावाणिज्य दूतावासका पदाधिकारीलगायत नेपालबाट मिडियाबाट समेत प्रतिनिधि रहने बताइएको थियो ।

आसन्न अमेरिका र चीन भ्रमण सम्बन्धमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले आइतबार सिंहदरबारमा बोलाउनुभएको सर्वदलीय बैठकमा राजनीतिक दलका नेताहरूले जम्बो टोली लिएर नजान सुझाव दिएका थिए । अनावश्यक भ्रमण नगर्ने र अनावश्यक व्यक्तिलाई भ्रमण दलमा सहभागी नगराउने नीतिअनुसार संख्या घटाइएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ । प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले चीन भ्रमणमा जाने सरकारी टोली पनि छरितो आकारको बनाउने जानकारी दिँदै भन्नुभयो, ‘अहिलेसम्म चीन भ्रमणमा जाने टोलीको टुंगो लागेको छैन, भोलिको मन्त्रिपरिषद् बैठकबाट टुंगो लाग्छ ।’ प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन भदौ ३० गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क जान लाग्नुभएको छ । प्रधानमन्त्री प्रचण्डले असोज ४ गते राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्युयोर्कबाट चीन प्रस्थान गर्नुहुने छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्ड दिगो विकास लक्ष्य सम्मेलन, क्लाइमेट एम्बिसन समिटलगायत अन्य महŒवपूर्ण एजेण्डासहितका उच्चस्तरीय कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले महासभामा सहभागी हुन पुगेका विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखको सम्मान दिने रात्रिभोजमा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी हुनुहुने छ । महासभा चलिरहँदा प्रधानमन्त्री प्रचण्डले विभिन्न देशका समकक्षी तथा प्रतिनिधिमण्डलसँग साइडलाइन भेटवार्ता गर्नुहुने छ ।

न्युयोर्कबाट सिधै चीन भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक दलका नेताहरू, पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्री र विज्ञहरूले चीनसँग सम्पन्न गर्न सकिने मात्रै परियोजनाहरू अघि बढाउन सुझाव दिएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्डले आइतबार बिहान पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री तथा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरूसँग र अपराह्न परराष्ट्र मामिलाका विज्ञहरूसँग परामर्श गर्नुभएको थियो । दुई देशबीचमा घनिष्ठ सम्बन्ध रही आएको र अझ सुदृढ गर्नका लागि नतिजामुखी र सम्भव हुने परियोजनाहरू मात्रै अघि बढाउन सुझाव दिइएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिनुभएको थियो । चीनको चिन्ता, चासोहरूलाई सम्बोधन गर्ने गरी भ्रमणलाई सार्थक बनाउन विज्ञहरूले सुझाएको जानकारी दिँदै मन्त्री साउदले भन्नुभयो, ‘प्रधानमन्त्रीज्यूले सल्लाहका लागि बोलाउनुभएका पूर्वपरराष्ट्र सचिवहरू, राजदूतहरूले दुवै देशको सम्बन्धलाई सुदृढ गर्नका लागि कार्यान्वयन (डेलिभरेबल) हुने र सम्भव (भायबल) परियोजनाहरू मात्र समेटेर एजेण्डा राख्दा बढी उपयुक्त हुने, दुई देशबीचको सम्बन्ध सुमधुर बनाउन निरन्तरता दिने कुरामा बढी जोड दिन र चीनका चिन्ता, चासोहरूलाई सम्बोधन गर्ने गरी भ्रमणलाई सार्थक बनाउन सुझाव दिनुभएको छ ।’ नेताहरूले चीनसँग नयाँ सम्झौता गर्नुभन्दा पुराना सम्झौताको कार्यान्वयनमा जोड दिनपनि प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

नेपालले सन् २०१७ मै बिआरआईमा हस्ताक्षर गरे पनि कुनै पनि परियोजना सञ्चालन हुन सकेको छैन । सन् २०१९ मा तत्कालीन प्रधानमन्त्री ओलीको चीन भ्रमण क्रममा नेपालले ३५ वटा परियोजना प्रस्तुत गरेको थियो । तर, चिनियाँ पक्षले थोरै परियोजनाहरू प्रस्ताव गर्न सुझाव दिएपछि नेपालले नौ वटा परियोजना मात्र छनोट गरेको थियो । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा पनि विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो । तर, ती सम्झौता पनि कार्यान्वयनमा आउन सकिरहेका छैनन् । आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोपसा) का अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतसहितका नेताहरूको उपस्थिति थियो ।

‘मुलुकलाई समस्यामा छाडेर प्रधानमन्त्री राष्ट्रसंघमा जानु हुँदैन’
पूर्व–परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. नारायण खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त राष्ट्रसंघीय महासभामा सभागिताको औचित्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको ११औँ जन्मजयन्तीका अवसरमा सोमबार आयोजना गरिएको साहित्य महोत्सवमा बोल्दै प्रश्न उठाउनुभएको हो । ‘प्रचण्डजी संयुक्त राष्ट्रसंघको महासभामा किन जाने ?’, साहित्य महोत्सवको ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ विषयक सेसनमा बोल्दै नेता खड्काले भन्नुभयो, ‘देशमा भ्रष्टाचारका यति धेरै मुद्दा आइरहेका छन् । यस्तो अवस्थामा राष्ट्रसंघको महासभामा गएर उहाँले के कुरा गर्नुहुन्छ ?’ डा. खड्काले राजनीति अस्थिर बन्दै गइरहेको उल्लेख गर्दै यो बेला प्रधानमन्त्री राष्ट्रसंघीय महासभामा जानुभन्दा यहीँ बसेर मुलुकका समस्या सम्हाल्नुपर्ने जिकिर गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?