श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन

रमेश भारती
Read Time = 10 mins

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रमिकको हितमा काम गर्न राजदूतहरूलाई निर्देशन दिनुभएको छ । १३ देशका कूटनीतिक नियोगका प्रमुखहरू, श्रम र परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूसँग सोमबार र मंगलबार भएको छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उक्त छलफलमा प्रधानमन्त्री प्रचण्डले रोजगारदाता देशमा कामदारले भोग्दै आएका समस्या समाधान गर्न, नेपाली कामदारलाई सहजीकरणको काम गर्न र वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र मयार्दित बनाउन कूटनीतिक नियोगका प्रमुखहरूलाई सुझाउनु भएको हो ।

वैदेशिक रोजगारीमा कार्यरत कामदारले देशको अर्थतन्त्रमा ठूलो योगदान र विदेशबाट आर्थिकसँगै सीप पनि भित्र्याइरहेको बताउनु हुँदै प्रधानमन्त्री प्रचण्डले विदेशमा कार्यरत कामदार आगामी दिनमा रुँदै सामाजिक सञ्जालमा समस्या पोखेको नदेखिने गरी काम गर्न १३ वटा देशका प्रमुखहरूलाई निर्देशन दिनुभएको श्रम मन्त्रालयले जनाएको छ । ‘श्रम सम्झौता पुनरावलोकन नगरेका कारण विदेशमा कार्यरत कामदारले समयअनुसारको सेवा-सुविधा नपाएको गुनासो आउने गरेको छ । यो समस्या हेर्ने जिम्मा कूटनीतिक नियोगको हो । नेपालले श्रम सम्झौता पुनरावलोकन गरेको छैन । यो समस्या पनि कूटनीतिक नियोगले तत्काल गर्नुपर्छ’ भन्ने प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ ।

रोजगारदाता देशसँग गरेका श्रम सम्झौतालाई पुनरावलोकन गर्न, श्रम सम्झौतालाई कार्यान्वयन गर्दै लैजाने, नेपाली कामदार कुन समस्यामा फसेका छन् । यी समस्यामा केन्द्रित भएर राजदूतहरूले तत्काल काम गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको थियो । प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवा सूचना प्रविधिमा आधारित बनाएर सेवा दिनसमेत निर्देशन दिनुभएको छ । यस्तै, प्रधामन्त्री प्रचण्डले रोजगारदाता देशसँग भएको श्रम सम्झौतालाई समयअनुसार तत्काल पुनरावलोकन गरी नयाँ ढाँचामा प्रक्रिया अगाडि बढाउनसमेत श्रम मन्त्रालय र राजदूतहरूलाई निर्देशन गर्नुभएको छ ।

प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा कार्यरत कामदारलाई कसरी सामाजिक सुरक्षा कोषको कार्यक्रम ल्याउन सकिन्छ । यो विषयमा रोजगारदाता देशको सम्बन्धित निकायलाई बुझाउनसमेत प्रधानमन्त्रीले राजदूतहरूलाई सुझाव दिनुभएको श्रम मन्त्रालयले जनाएको छ । सोमबारदेखि प्रचण्डले प्रधानमन्त्री कार्यालयमा श्रम आप्रवासनसम्बन्धी समस्या र तीसँग सम्बन्धित विषयलाई सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया कार्यक्रम थाल्नुभएको थियो । प्रधानमन्त्रीले विभिन्न १३ वटा देशका कूटनीतिक नियोगका प्रमुखहरू तथा श्रम र परराष्ट्र मन्त्रालयका प्रतिनिधिसहित उच्चस्तरीय छलफल गर्नुभएको थियो । सरकारले संस्थागत (म्यानपावर)मार्फत वैदेशिक रोजगारीमा १११ वटा देशका लागि श्रम स्वीकृति जारी गर्दै आएको छ । व्यक्तिगत रूपमा १७८ वटा देश जाने कामदारका हकमा श्रम स्वीकृति जारी हुने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

संस्थागत वैदेशिक रोजगारीमा १११ वटा देश खुला गरे पनि हालसम्म ११ वटा रोजगारदाता देशसँग मात्र श्रम सम्झौता सरकारले गरेको विभागको तथ्यांकमा छ । एक सयवटा देशसँग श्रम सम्झौता गर्न सकेको छैन । तर, ती देश दैनिक वैदेशिक रोजगारीमा कामदार गइरहेको विभागले जानकारी दिएको छ । इजरायल, कतार, युएई, दक्षिण कोरिया, जापान, बहराइन, जोर्डन, मलेसिया, मौरिसस, बेलायत र ओमानसँग मात्र सरकारीस्तरमा श्रम सम्झौता भएको छ ।

प्रमुख रोजगारदाता देशमै समस्या
नेपाली कामदारको मुख्य रोजगार गन्तव्य देश कतार, मलेसिया, साउदी, युएई, कुवेत, बहराइन, दक्षिण कोरिया, ओमान, जापान र रोमनिया भए पनि यिनै देशमा कार्यरत कामदार बढी समस्यामा पर्ने गरेका छन् । यो विषय पनि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले श्रम अवधारणापत्रमा उठाउनुभएको थियो । श्रम आप्रवासनका सवालहरू र कूटनीतिक नियोगको भूमिका विषयमा संक्षिप्त अवधारणा प्रस्तुत गर्नुहुँदै श्रम सचिव भण्डारीले नेपाली कामदार मुख्य रोजगारदाता देशमै बढी समस्यामा परेको गुनासो आउने गरेको छ । त्यहाँ भइरहेका समस्या कसरी समाधान गर्न सकिन्छ भनेर राजदूतहरूसँग सुझावसमेत माग्नुभएको थियो ।

प्रधानमन्त्रीसँगको अन्तरक्रिया कार्यक्रममा आगामी दिनमा सामाजिक सुरक्षा कोष, फ्री भिसा फ्री टिकटको अवस्था र समस्या, रोजगारी बीमा, रोजगारीको सुनिश्चित, ई-भिसा, सिजनेवल भिसाका समस्या, मागपत्र प्रमाणीकरण, वैदेशिक रोजगारीमा हुने ठगी, जाँचबुझमा रहेका समस्या, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातविहीन नेपाली श्रमिकका समस्या र नेपाली कूटनीतिक नियोगको प्रभावकारितालगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउनका लागि सबै देशका राजदूत र कार्यक्रममा सहभागी प्रतिनिधिले चासो दिएको श्रम सचिव भण्डारीले जानकारी दिनुभयो । सरकारले वैदेशिक रोजगारीको विकल्प नभएसँग यो क्षेत्रलाई रोजगारमैत्री र कामदारलाई सहज हुनेगरी योजना बनाएर अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्रीसँगको अन्तरक्रिया कार्यक्रममा राजदूतहरू, जापान दुर्गाप्रसाद सुवेदी, जर्मनी रामकाजी खड्का, मलेसिया डिल्लीराज पौडेल, अष्ट्रिया भरत गौतम, ओमान डोरनाथ अर्याल, दक्षिण कोरिया ज्योति प्याकुरेल, कतार नरेशविक्रम ढकाल, बहराइन तीर्थराज वाग्ले, पाकिस्तान तापस अधिकारी, कुवेत घनश्याम लम्साल, युएईका तेजबहादुर क्षेत्री र साउदी अरेयिबा नवराज सुवेदी सहभागी हुनुहुन्थ्यो ।

अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरद्सिंह भण्डारी, परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउद, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, नेपाल सरकारका सचिवहरूको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी प्रमुखहरूले वैदेशिक रोजगारीको स्थिति र विदेशमा रहेका नेपाली कामदारहरूको अवस्था अथवा त्यसमा सुधार ल्याउन चाल्नुपर्ने कदमहरूबारे आफ्नो रिपोर्टसहितको धारणा प्रधानमन्त्रीलाई पेस गर्नुभएको थियो । उहाँहरूले पेस गरेको कार्यपत्रमाथि अध्ययन गरेर प्रधानमन्त्री कार्यालय सुझाव दिनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?