समाचार प्रभाव : पत्रकार बिश्वकर्माको पहलमा कालीकोटका तीन बालकको उद्वार

बिचल्ली भएका तीन बालकको उद्वारपछि कालीकोटदेखि काठमाडौं जाँदै दिर्घ बिष्ट र छोराहरु । तस्बिर: मानबहादुर बिश्वकर्मा

हिमालय टाइम्स
Read Time = 5 mins

कालीकोट । कालीकोटमा घाँस काट्ने क्रममा भीरबाट लडेर आमाको मृत्यु भएपछि बिचल्ली भएका तीन बालकको पत्रकार मानबहादुर बिश्वकर्माको पहलमा शुक्रबार उद्वार गरिएको छ ।

जिल्लाको नरहरिनाथ गाउँपालिका-८ निवासी दीर्घ बिष्टकी श्रीमती ३४ वर्षीया धनसरा बिष्टको भदौ १४ गते गाउँ नजिकैको बनमा घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएपछि उहाँका तीन छोराहरूको बिचल्ली भएको थियो ।

आमाको मृत्यु भएपछि तीन बालकको बिचल्ली हेडलाईनमा हिमालय टाइम्समा कार्यरत पत्रकार बिश्वकर्माले भदौ २२ गते हिमालय टाइम्स राष्ट्रिय दैनिकको अनलाइन र पत्रिकामा समाचार प्रकाशित गर्नुभएको थियो । उक्त समाचार प्रकाशित पछि पत्रकार बिश्वकर्माको पहलमा तीन बालकको शान्ति सेवा गृह समाज काठमाडौंले उद्वार गरेको हो ।

पत्रकार बिश्वकर्माले समाचार प्रकाशित गरेपछि बाजुरा घर भई काठमाडौंलाई कर्मथलो बनाउँदै आइरहनुभएका पत्रकार तथा सामाजिक अभियन्ता प्रकाश सिंहले बिश्वकर्मासँग बालबालिका उद्वारका लागि समन्वय गर्नुभएको थियो । सिंहको बिशेष समन्वय र बिश्वकर्माको बिशेष पहलपछि कालीकोटको नरहरिनाथका गाउँपालिका-८ का बिचल्ली तीन बालकको उद्वार भएको हो ।

१२ वर्षको उमेरमा आमा बुवा गुमाउनु भएका दीर्घ बिष्ट आफन्तको शरणमा हुर्केर घरजम गर्नुभयो । त्यसपछि बिवाह गरेर बालबच्चासमेत जन्माउनुभयो । बिहान खाए बेलुका के खाऊँ ? भन्ने अवस्थामा रहनु भएका दीर्घ बिष्ट रोजगारीको लागि भारत जान थाल्नुभयो । रोजगारीको लागि लामो समयसम्म भारतमा काम गरे पनि उहाँले आफू बस्ने घरसमेत बनाउन सक्नुभएन । उहाँ पुरानो आफ्नो बुवाले बनाएकै जीर्ण घरमा बस्दै आउनुभएको छ ।

घरपरिवारको आर्थिक अबस्था निकै कमजोर र दयनीय भएकाले जन्मिएका ती बालबच्चाले राम्रोसँग खान, बस्न र पढ्न समेत नपाउने अबस्था भएपछि गाँस, बाँस र कपासको पूर्ण ब्यवस्थासहित गतिलो शिक्षा आर्जनका लागि शान्ति गृह समाज काठमाडौंले उद्वार गरेको हो ।

आमा गुमाएपछि बिचल्लीमा परेका १० वर्षीय सुमन बिष्ट ८ वर्षिय निराजन बिष्ट र साढे दुई वर्षका मुनलाल बिष्टको उद्वारका लागि दिर्घ बिष्टले टुहुरा तीन छोराको संघसंस्था र सरकारलाई ब्यवस्थापन गरिदिन आग्रह गर्नुभएको थियोे ।

भदौ १४ गते गाउँ नजिकैको बनमा घाँस काट्ने क्रममा उहाँकी श्रीमतीको लडेर मृत्यु भएपछि उहाँ जन्मघर लालु फर्किनुभयो । उहाँले तीन वर्षकोे कान्छो छोरा काखमा राख्दै आँखामा आँसु टिलपिल गर्दै भन्नुभयो, ‘म त दुःखमै हुर्किएँ सुख कस्तो हुन्छ यो जुनीमा थाहा पाइनँ मेरो सन्तानले पनि म जस्तैः दुख पाउछन् कि भन्ने चिन्ता थियो तर मेरा लागि भगवान बनेर तपाईं आइदिनुभयो । अब मेरा छोराहरुको ब्यवस्थापन हुँने भयो, म अति नै खुसी छु,' बिष्टले रुँदै भन्नुभयो ।

‘मलाई जन्माउने आमा बुवा कस्ता थिए मुख देख्न पाइनँ आफन्तको घरमा बसेर हुर्किएँ । पढ्न त के बाँच्नसमेत नसक्ने अवस्थामा आफन्तले पाले । अहिलेसम्म दुःखमै जीवन काटिरहेको छु । मेरो सन्तानले मेरो जस्तै दुःख नपाओस् भन्न चाहान्छु ।’ बिष्टले भन्नुभयो ।

जीर्ण घर खरको छानामाथि त्रिपालले ढाकेको वर्षाको पानी घरभित्रै चुहिँदै बस्नु परेको पीडालाई सम्झिँदै बिष्टलाई तीन छोरालाई कसरी पाल्ने ? भन्ने चिन्ताले सताउँदै आइरहेको थियो । छोराहरुको उद्वार पछि बिष्टलाई केही सहज हुँने देखिएको छ ।

उद्वार गरिएका दिर्घ बिष्टका तीन छोरासहित बिष्ट शुक्रबार जन्मघर नरहरिनाथ गाउँपालिकाबाट नेपालगञ्ज हुँदै शनिबार नेपालगन्जबाट जहाज मार्फत् काठमाडौं पुगिसकेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?