ठेकेदारको लापरबाही : एक वर्षमै बन्नुपर्ने भवन दुई वर्षमा पनि बनेन

स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्माणाधीन भवन ।

नन्दराम जैशी
Read Time = 7 mins

सुर्खेत । कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन नबन्दा औषधि स्टोरमा सकस परेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण एक वर्षमै बन्नुपर्ने भवन दुई वर्ष बितिसक्दासमेत नबन्दा स्वास्थ्य सामग्री भण्डारणमा समस्या आएको हो । हाल कर्णालीका लागि आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामग्री सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्जमा भाडाकै घरमा भए पनि भण्डार गरिँदै आएको छ । सम्झौताअनुसार २०७९ चैतमा काम सम्पन्न गर्नुपर्ने भवन अझै निर्माण भएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।

निर्माणाधीन भवनमा कर्णालीका १० जिल्लामा आपूर्ति गर्नुपर्ने औषधि भण्डारण गर्ने ध्येयले निर्माणको काम थालिएको हो । तर, समयमै भवन निर्माण नहुँदा आपूर्ति केन्द्रलाई भाडाको घरमा औषधि राख्नुपर्ने बाध्यता छ । औषधि स्टोरसँगै एक वर्षदेखि मासिक ४० हजार भाडा तिरेर निजी घरमा आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ । तर, ती घरमा मापदण्डअनुसार औषधि स्टोर गर्न सकस छ । आपूर्ति केन्द्रका प्रमुख डा.शक्तिप्रसाद सुवेदीका अनुसार सुर्खेतमा भवन नभएकै कारण आपूर्ति केन्द्रका उपकरण तथा औषधि नेपालगञ्जमा भाडाका घरमा राख्नुपर्ने बाध्यता छ । गत वर्ष नै हस्तान्तरण हुनुपर्ने भवन निर्माण व्यवसायीको ढिलाइले गर्दा अझै काम सकिएको छैन ।

औषधि भण्डारका लागि ठाउँ नहुँदा जिल्लाबाट माग भएका र तत्काल जिल्लामा पठाउनुपर्ने औषधि मात्र खरिद गरी ल्याउने गरिएको डा. सुवेदी बताउनुहुन्छ । प्रदेश सरकारले ४१ प्रकारका औषधि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमार्फत खरिद गर्दै आएको छ । केन्द्रले खोप तथा खोप लगाउन प्रयोग गरिने अन्य सामग्री प्रदेशका १० वटै जिल्लाका स्वास्थ्य सेवा कार्यालयलाई उपलब्ध गराउँदै आएको छ । सुर्खेतबाट कर्णालीका जिल्लामा हवाई सेवा नहुने हुँदा चार जिल्लाको लागि भन्दै नेपालगञ्जमा औषधिको स्टोरसँगै ढुवानी कार्य हुँदै आएको छ । जसमा डोल्पा, हुम्ला, मुगु र जुम्ला जिल्ला पर्दछन् ।

सहज सडकको पहुँच नभएकाले यी जिल्लामा हवाई मार्गबाट औषधि ढुवानी हुँदै आएको आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. सुवेदीले बताउनुभयो । सुर्खेतमा स्टोर गर्ने गतिलो ठाउँ नहुँदा अधिकांश सामग्रीहरू नेपालगञ्जमै स्टोर गरेर राख्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।

काम नगर्ने, म्याद थप माग्ने
पहिलोपटक थपिएको म्याद सकिनैलाग्दा निर्माण व्यवसायीले फेरि दोस्रोपटक म्याद थपका लागि निवेदन दिएको छ । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । भवनको हालसम्म ६० प्रतिशत कामसमेत हुन सकेको छैन । सम्झौताअनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्टार निर्माण कम्पनीले २०७८ असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो ।

सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि म्याद थप गरिएको थियो । थप गरिएको समयावधि सकिनै लाग्दासमेत भवन निर्माणको कामले गति लिन सकेको छैन । बरु निर्माण कम्पनीले दोस्रोपटक म्याद थपका लागि निवेदन पेस गरेको छ । पहिलोपटक थपिएको म्यादअनुसार एकमहिना बाँकी रहँदा निर्माणको काम धेरै बाँकी छ । निर्माण व्यवसायी तारा शाहीले भवन निर्माणका लागि म्याद थप गर्न संघीय आयोजना तथा कार्यान्वयन एकाइमा निवेदन पेस गरिएको बताउनुभयो ।

उहाँका अनुसार सामान ढुवानी बाहिरी जिल्लाबाट गर्नुपर्दा समस्या भएको छ । कोरोना महामारी, स्थानीय निर्वाचन, मूल्यवृद्धि, निर्माण सामग्रीको उपलब्धता नहुनु लगायतका कारण समयमा नै काम गर्न नसकिएको कम्पनीले दाबी गर्दै आएको छ । वर्षाले समेत काममा असर पारेको दाबी आयोजनाको छ । सकेसम्म तोकिएकै मितिमा काम सम्पन्न गर्ने गरी लागिपरेको र बढीमा पाँच महिना म्याद थपका लागि निवेदन पेस गरिएको कम्पनीको दाबी छ । भवन निर्माणको ८० प्रतिशत काम सकिएको दाबी आयोजनाको छ ।

संघीय आयोजना तथा कार्यान्वयन एकाइ सुर्खेतले समयमै काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिएको छ । कार्यालयका इञ्जिनियर गोकर्ण थापाले म्याद थप गर्नुभन्दा समयमै काम सम्पन्न गर्न ताकेता गरिरहेको बताउनुभयो । थापाका अनुसार पहिलोपटक थपिएको मिति पनि २०८० असोजसम्म मात्रै छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?