तीर्थ-पर्यटन ज्येष्ठ नागरिकहरूको एकाधिकारको क्षेत्र हो । धार्मिक पर्यटनले नेपालका सबै घरपरिवारलाई मात्रै होइन व्यक्ति-व्यक्तिलाई स्पर्श गर्छ । तीर्थ-पर्यटनको आर्थिक सामाजिक प्रभावको विवेचना, विश्लेषण र मूल्यांकन गर्ने दायित्व सरकारको हो । नागरिकका समस्याका विषयमा सरकार रमिते बन्न कदापि मिल्दैन । जीवनमा एकपटक चार धामको तीर्थयात्रा गर्ने धोको सबै हिन्दुहरूको मस्तिष्कमा छाप बसेको छ । नेपालका ९० प्रतिशत हिन्दुहरूको आस्था र विश्वाससँग जोडिएको यो धार्मिक पर्यटन क्षेत्रप्रति सरकार मुकदर्शक बन्न पाउँदैन । देशका अनुभवी र सम्मानित ज्येष्ठ नागरिकहरूको पीडा र दुःखहरूको सम्बोधन गर्न नसक्ने सरकार गैरजिम्मेवार मानिन्छ ।
सरकार ज्येष्ठ नागरिकका प्रति गैरजिम्मेवार बन्नु हुँदैन । तीर्थस्थलहरू त्यस्ता पवित्र स्थान हुन् जहाँ धार्मिक भावले श्रद्धालुहरू यात्रा, पूजा, स्नान, तप ध्यान र श्रद्धाका लागि जान्छन् । ‘तरति पापं संसारं वाद्रनेनास्मिन् वेत्ति तीर्थम्-जसको दर्शन, स्नान, ध्यान, तपद्वारा मानिस पाप आदिबाट मुक्त हुन्छ त्यसलाई तीर्थ भनिन्छ । तीर्थयात्राबाट पुण्य प्राप्तिका अतिरिक्त भक्तालुको विचार, व्यवहार र जीवनशैलीलाई नै बदल्ने शक्ति प्राप्त हुन्छ । हिन्दू धर्ममा धार्मिक यात्राको विशेष महत्व छ । हिन्दु धर्मानुसार व्यक्तिको जन्म मोक्षका लागि भएको हो । मोक्षको व्यावहारिक अर्थ हुन्छ आत्मज्ञान प्राप्ति । यसलाई योगमा समाधि, जैन धर्ममा कैवल्य, बुद्ध धर्ममा निर्वाण प्राप्त गर्ने अर्थ लाग्छ । धर्मका सबै उपक्रम रीतिरिवाज या परम्परा मोक्षका लागि गरिन्छ ।
त्यसमध्येको एक हो तीर्थयात्रा । संसारमा मानव जीवनका चार प्रमुख लक्ष्य छन् । जसलाई पूर्ण गर्ने उद्देश्यले मानिसले पृथ्वीमा जन्म लिन्छ । ती हुन् धर्म, अर्थ, काम, मोक्ष । तीर्थयात्रा गर्दा धन खर्च हुन्छ । जतिसुकै तीर्थाटन गरे पनि तीर्थाटनबाट धन प्राप्त हुँदैन । धन, राज, भोग, विलास यी सबै कर्मबाट प्राप्त हुन्छन् । धर्म, काम, मोक्ष यी तीनको प्राप्ति तीर्थाटनबाट हुन्छ । सबै हिन्दुहरूका लागि तीर्थयात्रा विशेष पुण्य कर्म हो । तीर्थहरूमा चार धाम तीर्थयात्राको विशेष महत्व छ । त्यसैले प्रायः सबै हिन्दु धर्मावलम्बीहरू चार धाम तीर्थ यात्राप्रति ललायित हुन्छन् । जसले तीर्थयात्रा गर्दैन उसको जीवन व्यर्थ मानिन्छ ।
धार्मिक पर्यटनले मानसिक शान्ति र शारीरिक सुगठन समेतलाई विशेष ध्यान दिन्छ । तीर्थाटनले नयाँ-नयाँ अनुभव र अनुभूति दिन्छ, हाम्रो स्मृति बढ्छ । सोच-विचार, भावनामा सकारात्मक परिवर्तन आउँछ । मानिसलाई शिक्षालय र विश्वविद्यालयले शिक्षित र दीक्षित गर्नै नसक्ने काम तीर्थाटनले गर्छ ।
मानिसको जन्म लिएर पृथ्वीमा आएको छ भने उसले दुनियाँलाई दर्शन गर्न र बुझ्न जरुरी हुन्छ । यसको रहस्य भनेको विचार, स्वभाव र भावनामा सकारात्मक परिवर्तन हो । वास्तवमा धार्मिक पर्यटन धर्म, पर्यटन र स्वास्थ्यको त्रिवेणी हो । यो अनुपम आनन्दको क्षण हो । तीर्थयात्राको क्रममा विभिन्न तीर्थहरूको परिक्रमाको प्रचलन पनि छ । सबै परिक्रमाहरूको अलगअलग महत्व छ । जस्तो चौरासी कोष परिक्रमा, अयोध्या, उज्जैन या प्रयाग पञ्चकोशी यात्रा, पाथीभरा, बडीमालिका तथा गोसाइँकुण्ड यात्रा आदि । यसअन्तर्गत नर्मदा, गंगा, सरयु, क्षिप्रा, गोदावरी, कावेरी परिक्रमा आदि । गोवर्धन पर्वत, गिरनार, कामदगिरि, तिरुमलै जस्ता पर्वत परिक्रमा आदिको धार्मिक महत्व छ ।
यसरी धार्मिक पर्यटनले मानसिक शान्ति र शारीरिक सुगठनसमेतलाई विशेष ध्यान दिन्छ । तीर्थाटनले नयाँ-नयाँ अनुभव र अनुभूति दिन्छ । हाम्रो स्मृति बढ्छ । सोच-विचार, भावनामा सकारात्मक परिवर्तन आउँछ । मानिसलाई शिक्षालय र विश्वविद्यालयहरूले शिक्षित र दीक्षित गर्नै नसक्ने काम तीर्थाटनले गर्छ । तीर्थाटन विचार परिवर्तन र ज्ञान प्राप्तिका लागि अनौपचारिक विश्वविद्यालय हो । धार्मिक यात्रा परिपक्व उमेरमा हुने भएकाले यस्तो यात्राबाट प्रकृति, जनजीवन, रहनसहन, चालचलन, उत्पादन प्रविधि, गाउँ शहर आदिको अध्ययन र अनुसन्धानको अनुपम अवसरका रूपमा सदुपयोग गर्नु प्रत्येक तीर्थयात्रीको धर्म हो ।
धार्मिक यात्राबाट भिन्न संस्कृति र धर्मको भाषा, भूषा, भोजन तथा रहनसहनको ज्ञान र अनुभव प्राप्त हुन्छ । धार्मिक यात्राको क्रममा यात्रास्थलमा बसोवास गर्नेहरूको विचार, भावनाहरूका बारेमा प्राप्त ज्ञानले तीर्थयात्रीहरूलाई स्व-मूल्यांकनको अवसर मिल्छ । तीर्थयात्रा असल कुराहरू सिक्ने र आफूभित्र रहेका कुभावाना, कुसंस्कार र कु-विचारहरूलाई परित्याग गर्ने शक्ति प्राप्त गर्ने एउटा अनुपम अवसर पनि हो । सबै तीर्थयात्राबाट तीर्थयात्रीलाई समान अनुभव र ज्ञान प्राप्त हुँदैन । यात्रालाई अनुभव र ज्ञानार्जनका दृष्टिकोणले विशिष्ट मानिन्छ । तीर्थपर्यटन आपसी ज्ञान आदानप्रदानको अनुपम अवसर हो ।
त्यसैले तीर्थयात्रा सिक्ने र सिकाउने अवसर हो । त्यसलाई तीर्थयात्रीले कति सदुपयोग गर्छन् त्यसको आधारमा तीर्थयात्राको सफलता निर्भर गर्छ । तीर्थयात्रा जीवनको उत्तरार्धमा गर्ने परम्परा पनि त्रुटिपूर्ण छ किनकि तीर्थयात्रा सिक्ने र सिकाउने अनौपचारिक शिक्षालय हो । बाल, युवाहरूले समयमै त्यो शिक्षा लिए भने समाज स्वतः अनुशासित र नैतिकवान हुन्छ । परिणामस्वरूप समाजमा स्वतःसकारात्मक परिवर्तनको सूत्रपात हुन्छ । अधिकांश हाम्रा तीर्थस्थलहरू दुर्गममा छन् । पैदल यात्राले शरीर सुगठित र पुष्ट हुन्छ । तीर्थयात्रामा विविध प्रकारका जलवायुको सामना गर्नुपर्छ । केदारनाथ, बदरीनाथ, मुक्तिनाथ, पाथीभराजस्ता पहाडमा हुने यात्राको क्रममा प्राप्त शुद्ध हावापानीले नयाँ जीवनको सञ्चार हुन्छ । तीर्थ यात्राको क्रममा तीर्थयात्रीहरूले देशविदेशको धर्म, रहनसहन, विचार, भावना आदि जान्ने–बुझ्ने अवसरले व्यक्तिको सोचाइमै सकारात्मक परिवर्तन ल्याउँछ ।
महत्वपूर्ण क्षेत्रप्रति राज्य किन रमिते ? वार्षिक कति नागरिकहरूले देशभित्र र देशबाहिर तीर्थाटन गर्छन् ? तीर्थपर्यटनबाट कति मुद्रा बाहिरिन्छ त्यसको तथ्यांक राज्यसँग छ ? हाम्रा तीर्थस्थलमा कति विदेशी आउँछन् र हाम्रा नागरिक तीर्थाटनका लागि कति विदेश जान्छन् के यसबारे सरकार आँकडामा भन्न सक्छ ? किमार्थ सक्दैन । अब यस कमजोरीलाई राज्यले अविलम्ब सुधार्नुपर्छ । तीर्थपर्यटनमा भक्तजन आस्था-विश्वास र आर्थिक क्षमता अनुसारका तीर्थ जाने विषय स्वाभाविकै हो ।
आध्यात्मिक आवश्यकतालाई पूरा गर्ने ध्येयले सबै धर्मका धर्मावलम्बीले धार्मिकस्थलको यात्रा गर्दछन् । यसका साथै धार्मिक पर्यटन स्थानीय आर्थिक विकासका लागि महत्वपूर्ण पर्यटन विकासको पूर्वाधार पनि बन्न सक्छ । पर्यटनको जननी मानिने धार्मिक पर्यटनलाई व्यवस्थित गर्न असमर्थ सरकारहरूले देशभित्र जतिसुकै पर्यटकीय सम्भमवना भए पनि सदुपयोगबाट आर्थिक लाभ लिन सक्दैनन् । नेपाल सरकार पर्यटन क्षेत्रको विकासबाट लिने लाभका सन्दर्भमा लैनो गाई पालेर दूध दुहुन नजान्ने गोठालो जस्तै भएको छ ।
ज्येष्ठ नागरिकको हैसियतले यो स्तम्भकार पनि भरखरै भारतका बिहार, उत्तरप्रदेशलगायत उत्तराखण्ड राज्यका यमुनोत्री, गंगोत्री, केदारनाथ र बदरीनाथ जस्ता पवित्र चारधाम यात्रा सम्पन्न गरेर फर्केको छ । आफ्नो भोगाइ र अनुभवका आधारमा तीर्थयात्री, यात्राको व्यवस्थापन गर्ने ठेकेदार र सरकारले पनि यो क्षेत्रसँग सम्बन्धित समस्याको संवेदनशीलतालाई आत्मसात गर्न सुझावका रूपमा थप विषयहरूलाई सार्वजनिक गर्न बान्छनीय भएकाले यो आलेख सम्प्रेषण भएको हो ।
जय जाल्पा माई तीर्थयात्रा प्रालि लेखिएको दर्ता नभएको ००६ख बा४२४४ नम्बरको बसमा २२ दिन लामो तीर्थयात्रबाट प्राप्त तीतामीठा अनुभवलाई सार्वजनिक गर्ने र कमजोरीलाई राज्यद्वारा सुधारका प्रयत्न अविलम्ब सुरु हुन सकून् भन्ने ध्येयले यो आलेख तयार पारिएको हो । यो व्यवसायमा संलग्न ठेकेदारहरूका कमजोरी र गलत मनसायले समाजका प्रबुद्ध वर्ग, सम्मानित वर्ग शोषण र अन्यायमा सधैं रहन हुन्न भन्ने ध्येयलाई राज्यको यो क्षेत्रसँग सम्बन्धित पदाधिकारीले गम्भीरतापूर्वक लिउन् भन्ने आसयलाई कोही कसैबाट अन्यथा व्याख्या हुनेछैन ।
हुन त मभन्दा अघि जानेबुझेका अनुभवी थुप्रै व्यक्तित्वले तीर्थयात्राको अनुभव गरिसक्नु भएको छ । तीर्थयात्रासँग सम्बन्धित समस्या, सुझाब र सरकारलाई दबाब सिर्जना गर्ने काम यसअघि नहुनु बौद्धिक र चेतनशील वर्गको कमजोरी हो । शोषण, अन्याय र अत्याचारलाई जतिसक्दो सार्वजनिक गर्ने, सुधारका लागि खबरदारी, दबाब दिने नैतिक जिम्मेवारीलाई हामी ज्येष्ठ नागरिकबाट हुनसकेन भने समस्या सधैं जिँउका तिउ रहन्छन् । समस्या सबै क्षेत्रमा हुन्छन् । यो स्वाभाविक हो तर अनुभवजन्य समस्यालाई सार्वजनिक बहसको विषय नबनाउने र सुधारका लागि दबाब नदिने हाम्रो चरित्रले हामी ठगिन्छौं, लुटिन्छौं भन्ने विषयको गम्भीरतालाई आत्मसात गरेका कारण नै यो विषय प्राथमिकतामा पर्नुपर्छ भन्ने विचारले मलाई यो विषयमा प्रवेश गर्न उत्प्रेरित गरेको हो ।
तीर्थयात्रीलाई ठेकेदारले अवैध आर्जनको साधन बनाउँदा रहेछन् । निःशुल्क आश्रममा ठेकेदारले नै कोठाको पैसा उठाएर पण्डासँगको मिलोमतोमा खल्ती भर्ने, होटल तथा लजमा पनि कमिसन लिनेजस्ता कार्य शोषण र अत्याचारका विषय हुन् ।
व्यवसायीहरूको व्यवसायलाई विनादर्ता सञ्चालन हुन दिनु सरकारको ठूलो कमजोरी हो । दर्ता नभएका तीर्थयात्री लैजाने व्यवसायीहरूको नियन्त्रण, अनुगमनसम्म नहुँदा विधिको उल्लंघन भएको होला ? यो अनुमानसम्म गर्न सकिँदैन । सार्वजनिक सेवामा रहेका बसको दर्ताको आधारमा अनगिन्ती तीर्थयात्रीलाई तीर्थाटन गराउँदा उत्पन्न समस्याको अन्तिम जवाफदेही लिने राज्य नै बेखबर भएको अवस्थामा यो क्षेत्र कति तीर्थयात्रीहरूको पीडक बनेको होला ? अनुमानसम्म गर्न कठिन छ ।
दर्ता नभएको अवस्थामा ज्येष्ठ नागरिक तीर्थयात्रीको दुर्घटना बीमाको कुरै आएन । उत्तराखण्डको विकट पहाडी क्षेत्रको सडकमा हुने यात्रामा यो हदैसम्मको लापरबाही हो । लामो यात्रामा जगेडा चालकको व्यवस्था नै छैन । सबै ज्येष्ठ नागरिक कुनै न कुनै रोगको औषधि सेवन गरेका हुन्छन् । तिनीहरूको हेरचाह गर्ने स्वास्थ्यकर्मी, अक्सिजन र आपत्कालीन उपचार सामग्री र औषधिसमेतको व्यवस्थाको मापदण्ड राज्यले निर्धारण गर्नुपर्छ । ज्येष्ठ नागरिकलाई लामो समयसम्म यात्रा गराउने बसहरूको सुविधाको मापदण्ड राज्यले निर्धारण गर्नुपर्छ ।
सानु बसको क्याबिनमा आठ-दशजना बस्दा दुर्घटनाको जोखिम देखियो । साँघुरा सिट, बसको हुटमा सामान राख्ने व्यवस्थाले झिक्ने र राख्ने बेलामा भोग्नुपरेको सास्तीको वयान गरिसाध्ये छैन । पिउने पानी भारतमा भन्दा नेपालमा सस्तो भनेर वीरगञ्जमा तीन कार्टुन हालेको हरिहर क्षेत्रको बासपछि भोलिपल्ट बिहान पानी सबै गायब । यो किन भयो त भन्ने अनुसन्धान गर्दा के खुल्यो भने ठेकेदारले आफ्ना कामदारलाई पानीको व्यवस्था नगरेकाले खलासीलगायतले सबै पानी खाए । पानीको विषयमा भन्न हाम्रो सामाजिक मान्यताले प्रतिबन्ध गर्छ तर मर्काले सबै तीर्थयात्री थिचिने व्यवस्था आफैंमा दुर्भाग्यपूर्ण देखियो ।
यति लामो नजानेको ठाउँको यात्रा गर्दा हिँड्दै गरेको, अब आउने स्थानको जानकारी र ती ठाउँसँग निकट धार्मिक, पुरातात्विक, ऐतिहासिक र आधुनिक विकासले छोएका ठाउँको जानकारी दिने पर्यटक गाइडको व्यवस्था नहुँदा पूरै तीर्थयात्रा खल्लो हुने विषयलाई राज्यले मापदण्ड बनाउनुपर्छ । ठेकेदारले तीर्थयात्रीलाई ग्राहकको व्यवहार नगरेको पाइयो । नबुझ्ने, नजान्ने, नपढेका गरिबीका कारण सीमित खर्चमा यात्रा गर्नेहरूप्रति ठेकेदारको दुव्र्यवहारका पीडादायी दृश्य बाक्लै देख्नुपर्दा थप पीडा दियो । खाना ठेकेदारले बनाएर खुवाउने विषयमा चर्को शोषण र लापरबाही देखियो । ज्येष्ठ नागरिकलाई खुवाउने खाना खस्रो चामल र बजारको सस्तोभन्दा सस्तो तरकारीमा टार्ने प्रवृत्तिबाट तीर्थयात्री ठगिरहेका छन् ।
यो ठगी, लापरबाहीलाई राज्यले निश्चित खानाको गुणस्तरको मापदण्ड बनाउनुपर्छ । तीर्थयात्रीलाई ठेकदारले अवैध आर्जनको साधन बनाउँदा रहेछन् । निःशुल्क आश्रमहरूमा ठेकेदारले नै कोठाको पैसा उठाएर पण्डासँगको मिलोमतोमा खल्ती भर्ने । होटल तथा लजमा पनि कमिसन लिनेजस्ता विषय शोषण र अत्याचारका विषय हुन् । यस विषयमा सतही अध्ययन गर्ने र तीर्थ हो यहाँ विवाद किन गर्ने भन्ने आमतीर्थयात्रीको मनोविज्ञान पनि शोषण र अत्याचारको कारण बनेको छ । तीर्थयात्रीहरूमा भएको चेतना, ज्ञान र विवेकको दुरुपयोगले गर्दा ठेकेदारले शोषण गरेका छन् ।
फेरि दशजना व्यक्ति जम्मा गर्नेलाई एकजना निःशुल्क यात्रा गर्न दिने व्यवस्थाले त्यो सुविधा लिने व्यक्ति जहिले पनि ठेकेदारको गलत काममा सपोर्ट गर्नेमात्रै होइन आक्रमकसमेत बन्ने अवस्थाले अन्याय र अत्याचार प्रोत्साहित भएको छ । ठेकेदाले दिने पीडालाई शब्दमा अनुवाद गर्न कठिन छ । पण्डाहरूले लिएको राणाकालीन लाल मोहर पनि तीर्थयात्रीहरू लुटिने, ठगिने र अपमानित हुने प्रमुख कारण रहेछ । राणाकालीन लालमोहर र ठेकेदारसमेतको मिलोमतोमा दानको रकम तोकुवा गर्ने प्रचलनले भएको शोषण र अत्याचार तीर्थपर्यटनको पीडादायी विषय हो ।
त्यसैले नेपाल सरकारले नेपाली लालमोहरिया पण्डाको व्यवस्था खारेजी र अवैध भएको विषय भारत सरकारमार्फत कार्यान्वयनको व्यवस्था गर्नुपर्छ । सबै भारतीय तीर्थस्थलमा लालमोहरिया पण्डाहरूमार्फत लुटाउने र त्यसबाट कमिसन लिने काम तीर्थयात्री लैजाने ठेकेदारहरूबाट भएको विषयको निकास कसले र कहिले खोज्ने ? यी र यसभित्र गर्नुपर्ने सुधार र व्यवस्थापनको विषयलाई सरकारबाट सम्बोधन कहिले हुने ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच