कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै, महासमिति बैठक मुख्य एजेण्डा

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज(बिहीबार) बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । गत साउन २ देखि १० गतेसम्म बसेको बैठकबाट नै पार्टीको केन्द्रीय समिति बैठकबाट नै पार्टी विधानअनुसार दुई महिनामा नियमित बैठक बोलाउने सभापति शेरबहादुर देउवाले प्रतिबद्धता गरेअनुसार केन्द्रीय समिति बैठक बस्न लागेको हो ।

आजदेखि सुरु हुने केन्द्रीय समितिको बैठकलाई महासमिति बैठकको तयारीका रूपमा लिएको छ । महासमिति बैठकमा प्रस्तुत हुने राजनीतिक, सांगठनिक, आर्थिक/लेखा लगायतका विविध प्रतिवेदनमाथि केन्द्रीय समिति बैठक केन्द्रित हुने नेताहरूको भनाइ छ । कांग्रेसले आगामी मंसिर १३ देखि १५ गतेका लागि महासमिति बैठक बोलाएको छ । २०७८ मंसिर–पुस सम्पन्न १४औँ महाधिवेशनमा नेतृत्व मात्र चयन गरेको कांग्रेसले आगामी महासमिति बैठकबाट पार्टीको नीति तय गर्ने बताइएको छ ।

बैठकमा गत साउन २० देखि ३० गतेसम्म भएको पार्टीको आन्तरिक विशेष अभियान, पोलिसी ह्याकाथन र बिपी साहित्य महोत्सवको समीक्षा हुने जनाइएको छ । आन्तरिक विशेष अभियानमा कांग्रेसले ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाएको थियो । कांग्रेसले युवालाई नीति निर्माणमा जोड्ने उद्देश्यले ‘गिग इकोनोमी’ र ‘क्लाइमेट एक्सन’ विषयमा पोलिसी ह्याकाथन आयोजना गरेको थियो । यसअघि असोज २ गते बस्ने भनिएको उक्त बैठक असोज ४ गतेका लागि सारिएको थियो ।

बैठकमा सरकारको समीक्षा र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेसभित्र आफैँ सहभागी सरकारका पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ ।

बैठकमा पार्टीका विभागहरूलाई पूर्णता दिनेबारे पनि छलफल हुने बताइएको छ । साउन पहिलो साता बसेको केन्द्रीय समितिको बैठकले भदौ १५ सम्ममा विभागलाई पूर्णता दिने निर्णय गरिएकोमा कार्यान्वयन हुन सकेको छैन । तोकिएका १५ विभागका प्रमुखहरूले समेत अहिलेसम्म औपचारिक पत्र पाएका छैनन् । अब बस्ने बैठकपछि मात्रै विभाग प्रमुखहरूलाई औपचारिक पत्र दिने सभापति देउवाको तयारी छ ।

बैठकमा सरकारको समीक्षा र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादनका विषयमा पनि छलफल हुने बताइएको छ । कांग्रेसभित्र आफैँ सहभागी सरकारका पछिल्ला काम कारबाहीप्रति असन्तुष्टि बढ्दै गइरहेको छ । कांग्रेसभित्र इतर पक्षको नेतृत्व गरिरहनु भएका डा.शेखर कोइराला पक्ष पछिल्लो समय सरकार आफैँले लिनुपर्ने पक्षमा उभिएको छ । कोइरालासहित महामन्त्री गगन थापा र नेताहरू सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

यसैबीच, केन्द्रीय समितिको पूर्वसन्ध्यामा इतर पक्षका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ । पार्टीको नियमित केन्द्रीय कार्यसमितिको बैठकअघि पार्टी र राष्ट्रिय राजनीतिमा पार्टीले गरेका निर्णय र समसामयिक राजनीतिक विषयमा सभापति देउवाको ध्यानाकर्षण गराउन नेता कोइराला आफूनिकट पदाधिकारीहरूसहित धुम्बाराही पुगेर सभापति देउवासँग भेटवार्ता गर्नुभएको हो ।

भेटवार्ताको क्रममा नेता कोइरालाले पार्टी सञ्चालनका क्रममा सभापति देउवाले निरन्तर एकलौटी रूपमा निर्णय गर्ने र विधानविपरीत कार्य गर्ने गरिरहेको भन्दै असन्तुष्टि पोख्नुभएको थियो । भेटमा नेता कोइरालाले देउवासँग गरेको गुनासो उद्धृत गर्दै कोइरालानिकट एक नेताले भन्नुभयो, ‘तपाईंले पार्टीमा एकपछि अर्को विधानविपरीत कार्य गर्ने कुरा रोकिएन । न पार्टीभित्र छलफल हुन्छ, न कसैसँग छलफल र संवाद गर्नुहुन्छ । तपाईंको निर्णयले पार्टीभित्र सबैलाई समान र न्यायोचित वितरण हुन सकेको छैन । अर्कोतिर राष्ट्रिय राजनीतिमा पनि तपाईंका निर्णयले कांग्रेसलाई नै हानि पुगिरहेको छ ।

तपाईंले गलत गर्दा मैले पहिले पनि सच्चिएर अघि बढ्न भनेको हुँ । तर, तपाईं रोकिनुभएको छैन । यदि तपाईं नसच्चिने हो भने भन्नुस्, जे गर्न मन लाग्छ, त्यही गर्नुस् । मलाई तपाईंसँग सहकार्य गर्नुछैन ।’ जवाफमा सभापति देउवाले मिलाएर लैजाने आश्वासन दिनुभएको थियो । बैठकअघि नेता कोइरालाले बैठकका एजेण्डाबारे मंगलबार आफूनिकट नेताहरूसँग छलफल गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?