झलनाथप्रति माधव नेपालको कटाक्ष : ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर भन्दैनन्

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति इंगित गर्दै पार्टीका समस्या बाहिर गीत गाएर समाधान नहुने टिप्पणी गर्नुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । केही दिनअघि अध्यक्ष नेपालले पार्टीका नेताहरुको कार्यविभाजन गर्नुभएको थियो । अध्यक्ष नेपालले गर्नुभएको कार्यविभाजनप्रति पार्टीका सम्मानित नेता झलनाथ खनालसहित अन्य नेताहरुले समेत असन्तुष्टि जनाउँदै आएका छन् । सोही प्रसंगलाई लिएर उहाँले पार्टीभित्रका समस्या पार्टीकै बैठकमा बसेर समाधान गर्नुपर्ने बताउनु भयो । उहाँले अनुशासनको ज्ञान हुनेहरुले पार्टीका समस्या बाहिर नभन्ने बरु पार्टीकै बैठकमा राख्ने बताउनु भयो । उहाँले पार्टीको हीत नचाहनेहरु फरक किसिमले चल्ने बताउनु भयो । उहाँले नमिलेका कुरालाई मिलाएर लैजान सकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘पार्टीभित्र अनेकौँ समस्याहरु हुन्छन्, ति समस्याहरु पार्टीले नै हल गर्छ । बाहिर गीत गाएर हिँड्ने होइन । बाहिर नाचेर हिँड्ने कुरा भएन । केही समस्याहरु छन् भने पार्टीको बैठकमा बस्ने, अनुशासनको ज्ञान भएकाले त्यो ढंगले गर्छन्, अनुशासनको ज्ञान नभएकाले जे पनि भन्न सक्लान् । पार्टीको हीत चाहने एक ढंगले र अहीत चाहने अर्को ढंगले चल्छन् । कतिपय कुरा नमिलेका होलान्, मिलाउनुपर्छ ।’

कार्यक्रममा बोल्दै उहाँले कृषि उत्पादनमा नेपाललाई राम्रो मुलुकका रुपमा विकसित गर्न सकिने बताउनु भयो । उहाँले खाद्यान्न उत्पादन, कृषि उत्पादन,कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले अघि बढ्न सुझाव दिनुभयो । उहाँले कृषिको विकासमा जोड दिने हो भने देशको अर्थतन्त्र बलियो हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि उत्पादनमा नेपाललाई राम्रो क्याटोगोरीको देशमा लैजान सकिन्छ । खाद्यान्न उत्पादनको हिसावले, कृषि उत्पादनको हिसावले, कृषिजन्य उद्योगधन्दाको विकास गर्ने हिसावले, कृषि र वन यो दुवै क्षेत्रको व्यापक विकास गर्ने हिसावले विशाल सम्भवना नेपालमा छ । यो सम्भावनालाई ध्यानमा राखेर हामीले कृषिको विकासमा जोड दियाँै भने, हामीले न्युनतम चिजहरु पनि आयात गर्ने स्थितिलाई अन्त्य गर्नुपर्छ । एक समय धानको निर्यात गर्ने देश आयात गर्ने अवस्थामा पुगिरहेको कुरा छ । यी सबैकुरा देशको अर्थतन्त्रलाई बलियो बनाउने कुरासँग जोडिएको छ । यो राष्ट्रिय हीतसँग जोडिएको कुरा हो । नेपालमा कसैले सेनाको आवश्यकता छैन भन्छन् । के नेपालमा सेनाको आवश्यकता छैन । यत्रो ठूलो संख्यामा सेना राख्नु हुँदैन भननेकुरा पनि उठाउँछन् । हामी यसमा क्लियर हुनसक्यौँ भने , विभिन्न देशको अध्ययन गर्ने हो भने आर्मी, पुलिस सशस्त्र प्रहरीको संख्या ठिक छ भन्ने निस्कर्षमा पुग्छौँ ।’

अध्यक्ष नेपालले विद्यालय शिक्षा विधेयकका बारेमा सरकारले सम्बन्धित पक्षसँग वार्ता गरेर उचित ढंगले उनीहरुका माग सम्बोधन गर्नुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?