आर्षमत र दृक्सिद्धान्तमा भिन्नता

डा. नारायणप्रसाद निरौला
Read Time = 16 mins

पौरस्त्य वाङ्मय आफूमै परिपूर्ण र समृद्ध रहेको छ । हरेक विषयवस्तु आफूमा सिद्ध छन् । तथ्य र कारणसहित प्रमाणित हुनु वैदिक वाङ्मयको विशेषता हो । यस्तै वेदको मुख्य अङ्ग आँखाका रूपमा ज्योतिषशास्त्रलाई लिइन्छ । वेदमा यज्ञ गर्न निर्देश गरिएको छ । उक्त यज्ञ गर्न उचित समयको आवश्वकता पर्दछ । उचित समयमा सम्पादन गरिएका कर्मको फल मिल्ने कुरा शास्त्रमा बताइएको छ ।
वेदास्तावद्यकर्मप्रवृत्ता यज्ञाः प्रोक्तास्ते तु कालाश्रयेण ।
शास्त्रादस्मातत्कालबोधो यतः स्याद्वेदाङ्गत्वं ज्योतिषस्योक्तमस्मात् ।। (सिद्धान्तशिरोमणिः, मध्यमाधिकारे कालमानाध्यायः, श्लो. ९-१२ )
यसरी वैदिक यज्ञ सम्पादनार्थ उचित काल (समय)को निर्धारण ज्योतिषशास्त्रअन्तर्गत हुने गर्दछ । जसका निम्ति पञ्चाङ्ग साधन गरिन्छ र सोही आधारमा व्रत पर्वको निर्धारण हुने गर्दछ । यसैगरी जन्मपित्रका (चिना) बनाएर व्यक्तिकोे फलादेश, वर्ष वृष्टि ज्ञानका साथै अन्य मुहूत्र्तको निर्धारण पनि गरिन्छ । यसरी सम्पादन गरिने यज्ञबाट अदृष्ट फल प्राप्त हुने गर्दछ । यसैले वैदिक यज्ञसम्पादन अदृष्ट फलसिद्धिका निम्ति नै केन्द्रित छन् ।

आज यज्ञ गरेर आज नै यज्ञको फल प्राप्त हुने वैदिक पद्धति होइन । यसैका निम्ति गीतामा ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ भन्ने व्याख्या गर्नुपरेको हो । कर्म गर्नेमात्र हाम्रो कार्य हो । फलको आश गर्ने होइन । वैदिक यज्ञसम्पादनद्वारा अदृष्ट फल प्राप्त हुन्छ । जुन कुरा आध्यात्मिक हो । जन्म जन्मान्तरको फलभोग र कर्मको निरन्तर शृङ्खला चल्ने प्रक्रियामा जे जस्तो कर्मभोग छ सोही प्राप्त गर्ने हो । यस्ता यज्ञ अनुष्ठानका फल तात्कालिक पनि हुनसक्छन् र दीर्घकालिक पनि हुनसक्छन् ।

आर्ष काल गणनापद्धतिमा सूर्यसिद्धान्तलाई मूल मानिएको छ । यही सिद्धान्तमा आधारित गणनापद्धति हाम्रा धार्मिक कार्य सम्पादनका निम्ति प्रयुक्त हुन्छन् । यसमा पनि दृक्सिद्ध गर्ने विधि विद्यमान छन् । ग्रहणको गणना दृक्कर्मगरी साधन गरिन्छ । अन्य कार्यमा निरयण पद्धतिलाई स्ववीकार गरिन्छ । 

यसैले फल भोगको आश नगर्नु केवल कर्म गर्नू भनी गीतामा निर्देशन गरिएको हो । यसरी वैदिक यज्ञ सम्पादनार्थ वैदिक काल गणना पद्धति आवश्यक हुन्छ । हाम्रा पद्धति सर्वप्राचीन र तथ्य प्रमाणमा सिद्ध छन् । हाम्रा यज्ञ सम्पादन आध्यात्मिक कार्य भएकाले अध्यात्म सिद्धिका निम्ति बताइएको समयमै गर्नुपर्दछ ।

वर्तमानमा दृक्सिद्धन्तमा आधारित पञ्चाङ्ग एवं चिना भनी थुप्रै मोबाइल एप अनलाइनमा पाइन्छन् । जसको मूल स्रोत नासाप्रदत्त गणना हो । स्वीस एफेमेरिजका गणनालाई आधार मानेर आफू अनुकूल तुल्याइएको प्रविधिलाई वर्तमानमा दृक्सिद्धान्त भनी उल्लेख गरिन्छ । यसरी गरिने गणनाको आधार ब्रह्मदिन (कल्प) सँग सम्बन्धित हुँदैन । यसैले यस आधारमा गणना गरिएका पञ्चाङ्गले सङ्कल्पसँग सम्बन्ध राख्न सक्दैनन् । यसैगरी दृक्सिद्ध भनिने गणितले गरेका गणनाबाट पनि ग्रह त्यहीँ ठाउँमा रहन्छन् भन्ने हुँदैन । केही अन्तर निश्चित नै रहन्छ । यसैले यसरी गरिने गणना पद्धति आर्ष होइनन् । आर्ष पद्धतिका छुट्टै गणना पद्धति छन् ।

आर्ष काल गणनापद्धतिमा सूर्यसिद्धान्तलाई मूल मानिएको छ । यही सिद्धान्तमा आधारित गणनापद्धति हाम्रा धार्मिक कार्य सम्पादनका निम्ति प्रयुक्त हुन्छन् । यसमा पनि दृक्सिद्ध गर्ने विधि विद्यमान छन् । ग्रहणको गणना दृक्कर्मगरी साधन गरिन्छ । अन्य कार्यमा निरयण पद्धतिलाई स्ववीकार गरिन्छ । यसरी साधन गरिने ग्रह गणनाको अरबौं वर्षको इतिहास पौरस्त्य वाङ्मयमा विद्यमान छ । चार अर्ब बत्तीसकरोड वर्षको प्रत्यक्ष गणनासूर्यसिद्धान्तमा विद्यमान छ । ब्रहृमदिन (कल्प), मनु, मनुसन्धि, महायुग, युग, वर्ष, अयन, ऋतु, महिना, दिन, घडी, पलाको गणना पद्धति आजको होइन हजारौं वर्षदेखि प्रचलनमा छ ।

पात्रामा पनि सृष्टितो गताब्द भनेर सृष्टिदेखि अहिलेसम्म कति सौरवर्ष व्यतीत भए भनी उल्लेख गरिन्छ । तर स्वीस एफेमेरिजमा यसरी दीर्घकालका गणना छैनन् । दुई चार हजार वर्षका गणना पाउन पनि मुस्किल हुन्छ तर लाखौं वर्षका इतिहाससँगै काल गणना गएिका दृष्टान्त हाम्रा पद्धतिमा छन् । भगवान् श्रीरामको जन्मकुण्डी, श्रीकृष्णको जन्मकुण्डली आजको एफेमेरिजले तयार गर्न सक्दैन तर हाम्रा सूर्यसिद्धान्तीय गणनाबाट यी कुरा सहजै साधन गर्न सकिन्छ ।

वर्तमानको पाश्चात्य दृक्सिद्धान्तमा आधारित र सूर्यसिद्धान्तमा आधारित गणनामा धेरै भिन्नता छन् । सूर्य देखिनेबित्तिकै सूर्योदय मान्नु र सूर्यको बिम्बको आधा भाग देखिएपछि सूर्योदय मान्नुमा भिन्नता छ । हामी सनराइज होइन सूर्योदयलाई मान्ने गर्दछौँ । जब सूर्यको आधा बिम्ब हाम्रो क्षितिजको माथि आएको देखिन्छ त्यो नै हाम्रो सूर्योदय हो । तर आजको दृक्सिद्धान्तले किरण वक्र भएर आएको दुई मिनेट अघि नै सूर्योदय बताउने गर्दछ । यसैले पाश्चात्य ग्रहगणना सिद्धान्त हाम्रा धार्मिक संस्कारलाई सम्पादनार्थ बनाइएको होइन । दृक्सिद्धान्तअनुसार हाम्रा चाडपर्वलाई मनाउनुपर्छ भन्ने पनि होइन । हामीलाई के चाहिन्छ त्यो कुरा साधन गर्ने हो । पृथ्वीवासीलाई कल्याण कसरी हुन्छ भन्ने विषयवस्तुमा केन्द्रित गणना आर्ष पद्धतिका हुन् । यसैले आर्ष नै हाम्रो मूल हो ।

आजको पाश्चात्य दृक्सिद्ध भनिने गणना पद्धति कल्प गणनामा आधारित छैन । हामी सङ्कल्पमा श्वेतवराह कल्प भनी उच्चारण गर्दछौँ तर आजको दृक्सिद्धान्तलाई यसको मतलव हुँदैन र गणना पनि गर्दैन । यसैगरी ‘वैवश्वत मन्वन्तरे’ भनी हामी सङ्कल्पमा उच्चारण गर्दछौँ तर मनुको मान दृक्सिद्धान्तले साधन गर्दैन । यसैगरी महायुग, युगको व्यवस्था पनि पाश्चात्य दृक्सिद्धान्तमा छैन । हाम्रा लागि ऋतु ६ नै हुन्छन् तर पाश्चात्य पद्धतिमा चार ऋतु मानिन्छन् । भूगोल अनुसार ऋतुमा भिन्नता रहने गर्दछ ।

ग्रहण गणनामा भने दृक्सिद्धान्तको उपयोग गर्न सकिन्छ किनकि ग्रहणलाई दृग्योग्य मानिएको छ । अन्य कुरामा दृग्योग्य नमानिनु पश्चगामी र अवैज्ञानिक हुनु होइन । हामीलाई के कुरा आवश्यक छ सो कुराको साधन गर्नतर्फ लाग्नु उचित हुन्छ । दृक्सिद्धान्त ल्याएर धार्मिक कार्यसम्पादन गर्न सकिँदैन । शास्त्रले दृक्सिद्ध विषयलाई धार्मिक कार्यसम्पादनमा जोडेका छैनन् । किनकि हामीलाई भौतिकभन्दा पनि आध्यात्मिक शक्तिको आवश्यकता अधिक रहन्छ । हाम्रो अध्यात्मको केन्द्र उत्तरी ध्रुव हो ।

यसैले हाम्रा हरेक कार्य गर्ने समयको सम्बन्ध उत्तरी ध्रुवसँग सापेक्ष हुने गर्दछ किनिकि उत्तरी ध्रुवको वरिपरि हाम्रा सप्तर्षि परिक्रमा गर्दछन् । जो हाम्रा महर्षि हुन्, पूज्य देवता हुन् गोत्र प्रवर्तक ऋषि हुन् । यो कुरासँग दृक्सिद्धान्तको कुनै माने मतलव रहँदैन । यसैले हरेक कार्य गर्ने समय निरयण पद्धतिमा आधारित हुन्छन् । तर अजको पाश्चात्य पद्धतिले निरयणलाई स्वीकार गर्दैन । यसैले दृक्सिद्ध भनिने पञ्चाङ्गले एफेमेरिजको गणनामा अयनांश घटाएर निरयण भन्ने पनि गरेका छन्, जुन कुरा झनै अमिल्दो हुन्छ ।

आजको कम्प्युटको युग आउनुपूर्व पनि वर्षौंका गणना गर्ने पद्धति ज्योतिषशास्त्रमा थिए र छन् पनि । सारिणी बनाएर पञ्चाङ्ग साधन वर्तमानमा पनि भइरहेका छन् । सही गलतभन्दा पनि कुन कुराको आवश्यकता हो भन्ने हो । 

पञ्चाङ्ग गणनामा आर्ष मानलाई केन्द्रमा राखिनुपर्छ । आर्षमतहीन पञ्चाङ्को उपयोग भौतिक विषयवस्तु साधनमा मात्र रहन्छ । आध्यात्मिक विषयवस्तुको साधनामा आर्ष पञ्चाङ्ग नै उपयोगी हुन्छन् । हाम्रा पञ्चाङ्गमा वर्षका चार स्तम्भ र चार आर्षमानलाई केन्द्रमा राखिएको हुन्छ तर यी विषयवस्तु पाश्चात्य दृक्सिद्धान्तलाई आवश्यक छैनन् । तिथि, नक्षत्र, योग करण पनि दृक्सिद्धान्तलाई आवश्यक छैनन् । सूत्र पौरस्त्य तर गणना पाश्चात्य गरेर छ्यासमिसे बनाई पौरस्त्य पद्धति अवैज्ञानिक सावित गर्नतर्फ पाश्चात्य दृक्सिद्धान्तलाई प्रयोग गरिएको पाइन्छ ।

गणना गर्ने कम्युटरका कोड निःशुल्क पाइने भएकाले मूल गणना कसैले पनि गर्दैनन् । नासाले जे भनेको छ त्यसैलाई ब्रहृमवाक्य मान्ने तर हाम्रा मूल्य र मान्यता अनि सिद्धान्तलाई उपेक्षा गर्ने वृत्ति यसले बढाएको देखिन्छ । पाश्चात्य गणना गर्ने अनि फलादेशका निम्ति पूर्वीय आर्ष ग्रन्थको उपयोग गर्नु व्यर्थ हो । पाश्चात्य दृक्सिद्धान्तलाई फलादेशमा विश्वास नै हुँदैन । यसैले फलादेश अनुकूल दृक्सिद्धान्तका गणना गरिएका हुँदैनन् । उच्च, नीच, उदय, अस्त आदि हरेक कुरामा अन्तर रहन्छ । आर्षसिद्धान्तका फल दृक्सिद्धान्तमा घटित गराउने प्रयत्न कदापि उपयुक्त होइन ।

अर्थात् अदृष्टफलसिद्धिका लागि ग्रहपिण्डको अदृश्य ग्रह (देव बिम्ब) आवश्यक हुन्छ । किनकि भौतक चक्षुद्वारा देवताको दर्शन असम्भव छ । अदृष्ट फलका लागि पञ्चाङ्ग उपयोगी तिथ्यादिको निर्णयमा दृग्गणितलाई ऋषिले निषेध गरेका छन् । अदृष्ट फल सिद्धिका निम्ति, धार्मिक संस्कार र संस्कृतिको संरक्षणका निम्ति आर्षसिद्धान्तकै गणना पद्धति अवलम्बन आवश्यक हुन्छ ः ‘अदृष्टफलसिद्ध्यर्थं यथार्कगणितं कुरुगणितं यदि दृट्यर्थं तद्दृष्ट्युद्भवतस्सदा ।।’ (निर्णयसिन्धु) यसैले अदृष्ट फलसिद्धिका निम्ति सूर्यसिद्धान्तीय गणना गर्नुपर्छ जुन आर्ष हो ।

आजको कम्प्युटको युग आउनुपूर्व पनि वर्षौका गणना गर्ने पद्धति ज्योतिषशास्त्रमा थिए र छन् पनि । सारिणी बनाएर पञ्चाङ्ग साधन वर्तमानमा पनि भइरहेका छन् । सही-गलतभन्दा पनि कुन कुराको आवश्यकता भन्ने हो । हाम्रा धार्मिक मूल्य र मन्यता कुन सिद्धान्तमा आधारित छन् भन्ने हो । हाम्रो इतिहास, हाम्रा संस्कार संस्कृति के कसरी मनाइन्छन् भन्ने हो । मूल उद्देश्य भनेको अदृष्ट फल सिद्धि हो । सूर्यकमजोर हुँदा घाममा तताएर उसलाई सूर्यको बल प्राप्त हुँदैन । सूर्यको उपाना नै गर्नुपर्दछ । सबैभन्दा टाढा रहेको शनिले कसरी अशुभ फल दिन्छन् ?

यसमा भौतिक नियमले कार्य गर्न सक्दैन । शनि भनेको हामी भित्रकै विकार हो । जो सूक्ष्म रूपमा रहन्छ । जसबाट निवृत्तिका निम्ति आध्यात्कि साधनाको आवश्यकता पर्ने गर्दछ । हामीभित्र नवग्रह एवं विश्वब्रहृमाण्ड विद्यमान छ । यसैले ‘अहं ब्रहृमास्मि’ भनिएको हो । आफूभित्रै रहेको विकार तत्त्वले हामीलाई हानि गर्ने हो भने सत् तत्त्वले राम्रो गर्ने हो । यसैले भौतिक विषयवस्तुभन्दा आध्यात्मिक विषयवस्तु अति महत्तवपूर्ण हुन्छन् । हाम्रो साधनाको केन्द्र पनि अध्यात्म हो । यसका निम्ति आर्ष सिद्धान्त अनुकूल ग्रहगणना एवं कालको निर्धारण हामीलाई अधिक आवश्यक रहन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?