ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रा

भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 3 mins

कैलाली । धनगढी उपमहानगरपालिकाले जीवनभर घरधन्दामै सीमित रहने ज्येष्ठ नागरिकलाई मुक्तिनाथ तीर्थयात्रामा पठाएको छ । धनगढी उपमहानगरपालिकाले आइतबार नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो । नगरप्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकलाकुमारी रानालगायत जनप्रतिनिधिले टीका र खादा लगाएर तीर्थयात्राका लागि उनीहरूलाई कार्यालय प्रांगणबाट बिदाइ गरेका थिए ।

उपमहानगरपालिकाले आइतबार नगरका एक सय ९० जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ पठाएको हो ।

धनगढीका ज्येष्ठ नागरिक एक साताका लागि मुक्तिनाथ यात्रामा निस्किएका हुन् । ज्येष्ठ नागरिकलाई नयाँ पुस्ताले सम्मान गर्नुपर्छ भन्ने भावना विकास गर्न तीर्थयात्रामा पठाइएको नगरप्रमुख हमालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय तहले ज्येष्ठ नागरिकलाई गरेको यो एकप्रकारको सम्मान हो, उहाँहरूलाई पनि आफ्नो जीवनको उत्तराद्र्र्धमा स्थानीय सरकारले हेर्‍यो भन्ने हुन्छ । यसले धार्मिक पर्यटन प्रवद्र्धनमा पनि टेवा पुग्नेछ ।’

नगरप्रमुख हमालले उपमहानगरको वार्षिक नीति तथा कार्यक्रममै ‘ज्येष्ठ नागरिकलाई तीर्थयात्रा’ कार्यक्रम समावेश गर्नुभएको थियो । आगामी वर्षमा पनि कार्यक्रमलाई निरन्तरता दिइने उहाँले बताउनुभयो । उपमहानगरले पाँचवटा बस भाडामा लिएर वृद्धवृद्धालाई धार्मिक यात्रामा पठाएको हो ।

प्रत्येक बसमा एक/एकजना स्वास्थ्यकर्मीसमेत व्यवस्था गरिएको छ । उपमहानगरले तीर्थयात्रामा गएका नागरिकलाई मुक्तिनाथसहित कागवेनी, पोखरा, देवघाट र नवलपरासीको कैवल्यधामको भ्रमण गराइने नगर उपप्रमुख कन्दकलाकुमारी रानाले बताउनुभयो । वृद्धवृद्धाको सम्मानमा उपमहानगरले हरेक वर्ष मुक्तिनाथ दर्शनमा पठाउने पनि उहाँले बताउनुभयो । विगतका वर्षमा ७० वर्षका कटेका ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराउने गरेको भए पनि यस वर्षबाट धार्मिक अगुवासमेत समेटेको उहाँले जानकारी दिनुभयो । वृद्धवृद्धालाई खादा, टीका र टेक्ने लौरोसमेत प्रदान गरिएको छ । यसअघि पनि धनगढी उपमहानगरपालिकाले एक सय २२ ज्येष्ठ नागरिकलाई मुक्तिनाथ यात्रामा पठाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?