नेपाल-चाइना बिजनेस फोरम समिट : नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 9 mins

काठमाडौं । चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न आफ्नो सरकारले काम गरिरहेको बताउनुभएको छ । नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी)द्वारा बेइजिङमा संयुक्त रूपमा आयोजित नेपाल चाइना बिजनेस फोरमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको र त्यो देशमा लगानी भित्र्याउन महत्वपूर्ण हुने उहाँको भनाइ थियो । नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतबीचमा रहेको भन्दै उहाँले रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको बताउनुभयो । व्यापार घाटा नेपालको सबैभन्दा ठूलो समस्या रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपालले निर्यात बढाएर व्यापार घाटा न्यूनीकरणको प्रयास गरिरहेको जानकारी गराउनुभयो । तर, त्यसका लागि पूर्वाधार चाहिने भएकाले नेपालले चीनसँग सहकार्य गर्न चाहिरहेको पनि उहाँले बताउनुभयो ।

व्यवसायको वातावरण सुधार गर्न नेपालले कानुनी सुधार गरिरहेको जानकारी गराउँदै प्रधानमन्त्री दाहालले नेपालमा चिनियाँ लगानीकर्तालाई संरक्षण र लगानी प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । कार्यक्रममा चीनका वाणिज्य उपमन्त्री ली फीले नेपालको लगानी तथा व्यापार प्रवद्र्धनका लागि चीनले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । उहाँले दुर्ई देशबीच टिंकर र मुगु सीमामा यातायात पूर्वाधारको काम भइरहेको र अरनिको राजमार्गको क्षमता विकास र रसुवागढी सडकको स्तरोन्नतिमा पनि चीन सघाउन तयार रहेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल ठूला छिमेकीको तुलनामा सानो देखिए पनि विश्वमा जनसंख्याका हिसाबले ४९औँ ठूलो मुलुक भएको भन्दै नेपालमा लगानी बढाउन आग्रह गर्नुभयो । नेपालमा मध्यम वर्गको जनसंख्या बढ्दै गएकाले व्यापार र लगानीका लागि राम्रो अवसर रहेको उहाँको भनाइ थियो । नेपालबाट विश्वव्यापी रूपमा निर्यातको सम्भावना रहेको भन्दै अध्यक्ष ढकालले नेपालबाट चीन, भारत, युरोप अमेरिकालगायतमा निर्यात गर्दा भन्साररहित सुविधा रहेको जानकारीसमेत गराउनुभयो । चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार भए पनि निर्यात असाध्यै कमजोर हुनु चिन्ताको विषय भएको उहाँको भनाइ थियो ।

उहाँले नेपालमा ऊर्जा, कृषि, आइसिटी, बैंक, खानीजन्य उद्योगलगायत क्षेत्रमा लगानीको सम्भावना उच्च रहेको भन्दै दुई देशबीच आर्थिक कारोबार बढ्दो क्रममा रहेको तर नेपालमा चीनको बैंक नहुँदा समस्या भएको बताउनुभयो । चीनको बैंक नेपालमा पनि स्थापना गर्न वा बैंक स्थापनामा संयुक्त लगानी गर्न उहाँले आग्रह गर्नुभयो ।

सिसिपिआइटीका उपाध्यक्ष झाङ साओगाङले चीन सरकार र व्यवसायीले बिआरआईको छाताभित्र लगानी र व्यापारको प्रवद्र्धन गरिरहेको जानकारी दिँदै नेपालमा राम्रा उत्पादन भए पनि चिनियाँ उपभोक्तालाई राम्रोसँग थाहा हुन नसकेकाले चीनमा नेपाली उत्पादन प्रवद्र्धन गर्न र तीबारे चिनियाँ उपभोक्तालाई जानकारी दिन सिसिपिआइटीले सहयोग गर्ने बताउनुभयो । बिजनेस फोरमकै अवसरमा लगानीकर्ताबीच छवटा सम्झौता भएको जानकारी गराउँदै धेरै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न र चीनको आपूर्ति शृंखलामा जोडिन पनि आग्रह गर्नुभयो ।

महासंघका विदेशी लगानी तथा अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सभापति मनोज पौडेलले नेपालको अर्थतन्त्र र लगानीको अवसरबारे प्रस्तुति दिनुभएको थियो । महांसघका अनुसार समिटमा एक सय २० चिनियाँ कम्पनी सहभागी थिए । नेपालका तर्फबाट उद्योग वाणिज्य महासंघ प्रतिनिधिसहित नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका सहित ५० व्यवसायी सहभागी छन् ।

काउन्सिल स्थापना हुने
नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) बीच दुर्ई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवद्र्धन गर्न नेपाल-चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ । समझदारीपत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सिसिपिआइटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गर्नुभएको छ । समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत् द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र दुई देशबीचका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ ।

काउन्सिलले दुर्ई देशबीच व्यावसायिक गतिविधिहरूलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन सम्बन्धित पहल सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसर सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ । सिएनआई र सिसिपिआइटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन् । काउन्सिलमा चार सदस्य रहने र प्रत्येक संस्थाबाट दुर्ईजना प्रतिनिधि हुने सिएनआईले जनाएको छ ।

संयुक्त लगानी सम्मेलन गर्ने सहमति
नेपाल चेम्बर अफ कमर्स र सिसिपिआइटीबीच नेपालमा लगानी सम्मेलन गर्ने विषयमा सहमति भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा भएको बिटुबी वार्तामा चेम्बर र सिसिपिआइटीबीच नेपालमा संयुक्त रूपमा लगानी सम्मेलन गर्ने सहमति भएको हो । पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा चिनियाँ लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?