प्रेमीकाको हत्या गरी फरार भएका प्रेमी ६ वर्षपछि पक्राउ

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । प्रेमीकाको हत्या गरी फरार भएका प्रेमीलाई जिल्ला प्रहरी कार्यालय धादिङले ६ वर्षपछि पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका–५ की ३२ वर्षीया ललिता कुमारी रामको हत्यामा संलग्न रहेको आरोपमा सप्तरीको बोदेबसाइन नगरपालिका–८ काचनका ३५ वर्षीय अरूण कुमार मिजारलाई धादिङ प्रहरीले ६ वर्षपछि पक्राउ गरेको हो ।

वि.सं २०७४ साल असोज १२ गते साँझ धादिङको धुनीवँेशी नगरपालिका–९ टायल घरस्थित अँधेरीखोलामा लगेर हत्या गरिएको आरोपलाई उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मिजारलाई जिल्ला प्रहरी कार्यालय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । कर्तव्य ज्यान मुद्दाका प्रतिवादी मिझारलाई यही असोज ५ गते सप्तरी काचन बोदेबर्साइन नगरपालिका– ८ काचनबाट पक्राउ गरिएको धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

वि.सं २०७४ असोज १२ गते ललिताको शव सडेगलेको अवस्थामा भेटिएको थियो । ललिता र अरूणबीच प्रेम सम्बन्ध रहेको त्यतिबेलैको अनसन्धानबाट खुलेको प्रहरी उपरीक्षक मिश्रको भनाई छ ।

प्रहरीका अनुसार प्रेम सम्बन्धमा रहँदा ललिता गर्भवती भएकी थिइन् । ललिताको साथबाट बरामद भएको मोबाइलबाट अनुसन्धान गर्दा उनले आफू गर्भवती भएकोबारे कुमारलाई बताउँदै विवाहका लागि आग्रह गरेकी थिइन् । तर, विभिन्न बहाना देखाएर विवाहबाट पन्छिरहेका अरूण ललिताको हत्या गर्ने निष्कर्षमा पुगेका थिए। ललिता स्टाफ नर्सको अध्ययन सकेर बसेकी थिइन् । उनी कामको खोजीमा थिइन् ।

त्यतिबेला अरूणले कुनै अस्पतालमा काम लगाइदिने भन्दै काठमाडौं बोलाएका थिए ।सोहीअनुसार २०७४ भदौ २१ गते विराटनगरबाट काठमाडौं आएकी ललिताको हत्या गरी टायलघरस्थित अधेरीखोलामा फालेर अरूण फरार भएका थिए । ६ वर्षपछि पक्राउ परेका अरुण आफैंले ललिताको हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाई छ।

हत्या कस्ले गरेको भन्नेसम्म पुग्न त्यतिबेला प्रहरीलाई तीन महिना लागेको थियो । शव सडेगलेको अवस्थामा भेटिएका कारण पनि प्रहरीलाई हत्यारासम्म पुग्न समय लागेको थियो । प्रहरीको अनुसन्धान चलिरहँदा २०७४ असोज ३१ गते अरूण दुबई फरार भएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?