जताततै आन्दोलन, जो पनि सडकमा

डिबी शर्मा
Read Time = 15 mins

काठमाडौं । केही वर्ष अघिसम्म विभिन्न बहानामा ‘नेपाल बन्द’ गर्ने प्रवृत्ति व्यापक थियो । ठूला दलदेखि साना समूहसम्मले केही प¥यो कि नेपाल बन्द गरिहाल्थे । आन्दोलनको पर्याय नै बनेको थियो नेपाल बन्द । बन्दले आजित हुन थालेपछि विस्तारै नागरिक तहबाटै बन्द बहिष्कार हुन थाल्यो । बन्द सधैँका लागि बन्द नभए पनि पछिल्लो समय नेपालै बन्द गर्ने आन्दोलन कम हुँदै गएका छन् । बरु आन्दोलनका नयाँनयाँ स्वरूपहरू आएका छन् । सर्वसाधारणलाई दुःख नदिई गरिने आन्दोलनले सार्थकता पाइरहेका छन् । युवापंक्तिले रचनात्मक आन्दोलन गरिरहेका छन् । त्यो चाहे डा. गोविन्द केसीको अनशन होस् वा अभियान्ता ईःको आन्दोलन । केसीले अनशन बसेरै ठूल्ठूला उपलब्धि हासिल गर्नुभएको छ । काठमाडौं महानगरविरुद्ध ‘चमेली समूह’ अभियान सुरु गर्ने केही स्वतन्त्र युवाहरू लगातार ६ दिनदेखि राष्ट्रिय सभागृह परिसरमा उभिएर विरोध प्रदर्शन गरिरहेका छन् । अभियन्ता ईःसहित सभागृहमा उभिएका युवाहरूले दलदेखि विभिन्न व्यक्तिको समर्थन प्राप्त गरेको छ ।

नेपालमा सडक आन्दोलनको इतिहास धेरै पुरानो र लामो छ । तत्कालीन राणा शासनदेखि राजतन्त्र ढाल्ने काम सडक आन्दोलनकै बलमा भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रपछि त झन् सडक आन्दोलन गर्ने प्रमुखस्थल बनेको छ । आवश्यक पर्दा यही सडकमा पूर्वप्रधानमन्त्रीहरू ‘हामी यहाँ छौँ’ भन्दै देखिन्छन् । पूर्वप्रधानमन्त्रीदेखि तल्लो तहका नागरिकहरू यही सडकमा आएर वेदना सुनाउँछन् । ती चाहे मिटरब्याजबाट पीडित नागरिक हुन् या सरकारसँग मल माग्न गएका किसान । न्याय माग्न होस् या अधिकार पाउन सडक आन्दोलन नगरी राज्यले सुन्दैन । अवस्था यस्तो भइसक्यो कि कोही सडकमा नआई कसैले सुन्दैन । राजधानी काठमाडौंको माइतीघरमा हरेक दिन कोही न कोही सडक आन्दोलनमा हुन्छ । संघीयता सुदृढ गर्नेदेखि खारेज गर्नेहरू आन्दोलन गर्न यही सडकमा पुग्छन् । धर्मनिरपेक्ष राष्ट्र पक्ष र हिन्दू राष्ट्र कायम गर् भन्नेहरूको आवाज सुनाउने थलो पनि यही सडक हो । धर्म संरक्षण र स्वतन्त्रता माग्नेहरूको नारा लाउने ठाउँमा पनि सडक नै हो ।

केही दिनअघि देशभरका शिक्षकले विद्यालय बन्द गरेर यही सडकलाई आन्दोलनको थलो बनाए । तीन दिनसम्म माइतीघरदेखि बानेश्वरसम्मको सडक कब्जा गरेका उनीहरू सरकारले ६ बुँदे सहमति गरेपछि गाउँ फर्किए । तर, सहमतिमा चित्त बुझाउन नसकेका राहतसहितका शिक्षकहरूले अहिले पनि सडक आन्दोलनलाई निरन्तरता दिइरहेका छन् । माइतीघरदेखि बानेश्वर सम्मको सडकको एक भाग अहिले पनि उनीहरूकै कब्जामा छ । नेतृत्वले धोखा दिएको भन्दै उनीहरू आफ्नो आवाज सरकारलाई सुनाउन सडक आन्दोलन गरिरहेका छन् ।

उनीहरूले मंगलबार माइतीघरमा सिठी जुलुस गरेका थिए । सरकारलाई आफ्ना माग सुनाउन सिठी फुकेको उनीहरूले बताएका छन् । सामुदायिक विद्यालयका राहत कोटासहित १० घटकका शिक्षक यतिखेर सडक आन्दोलनमा छन् । राहत, करार, बाल विकास लगायतका शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । आफ्ना माग सम्बोधन नभएसम्म विद्यालय नफर्किने उनीहरूको अडान छ ।

शिक्षकसँगै चिकित्सक पनि सडकमा
विभिन्न माग राख्दै राहतलगायत शिक्षकले आन्दोलन जारी राख्दा चिकित्सकहरू पनि सडकमा आइपुगेका छन् । चिकित्सकमाथि कुटपिटको विरोधमा विभिन्न अस्पतालका चिकित्सकसहित स्वास्थ्यकर्मीले मंगलबार काठमाडौंमा प्रदर्शन गरेका हुन् । माइतीघरमण्डलमा ठूलो संख्यामा भेला भएका चिकित्सकले आफूहरूको भौतिक सुरक्षाको माग गरेका छन् । सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरूले आक्रमणकारीलाई कडा कारबाही गर्ने कानुन बनाउन पनि माग गरेका छन् । उनीहरूले दोषीलाई खुल्ला छुट, डाक्टरमाथि बुटैबुट, अस्पताल नआऊ, डाक्टर र बिरामीको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, पेसा छोडौँ कि देश छोडौँ ? नेताले गफ चुट्ने, बिरामीले डाक्टर कुट्नेलगायत प्लेकार्ड बोकेर नारा लगाएका थिए । उनीहरूले सुरक्षाको प्रत्याभूति नभएपछि सरकारलाई दबाब दिन आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । ‘स्वास्थ्यकर्मीमाथि दिनहुँ भौतिक आक्रमण, हातपात तथा दुव्र्यवहार भइरहेको छ । कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुन सकेको छैन,’ आन्दोलनरत चिकित्सकको भनाइ छ, ‘कार्यस्थलमा असुरक्षित महसुस गरेर सडकमा उत्रिएका हौँ ।’

माइतीघरमा प्रदर्शनरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रहरीबीच धकेलाधकेलसमेत भएको थियो । माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका बेला उनीहरूबीच धकेलाधकेल भएको हो । लमजुङकी एक महिलाको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको थियो । मृतकका आफन्तसहितको भिडले डाक्टरले लापरबाही गरेको भन्दै सोमबार हातपात गरेका थिए । यसअघि हेटौँडा अस्पतालका दुई चिकित्सकमाथि कुटपिट भएपछि देशभरका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका थिए ।

गुण्डागर्दीले सेवा प्रवाहमा गम्भीर असर, सुरक्षाकर्मीकै भूमिका शंकास्पद : चिकित्सक संघ
देशका विभिन्न स्थानमा चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि गरिएका सांघातिक आक्रमणप्रति नेपाल चिकित्सक संघले निन्दा गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै संघका महासचिव डा. सन्जिब तिवारीले आक्रमण तथा अस्पताल तोडफोड गरिएका घटनाले आफूहरू स्तब्ध भएको बताउनुभएको छ । ‘देशका विभिन्न अस्पतालहरूमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइएको, स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई आतंकित पारी शान्तिपूर्ण वातावरणमा स्वास्थ्य सेवा प्रवाहमा खलल पु¥याइएको तथा अस्पताल नै तोडफोड गरिएका घटनाले नेपाल चिकित्सक संघ स्तब्ध भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सुनियोजित रूपमा गरिएका सांघातिक आक्रमणप्रति यस संघ घोर भत्र्सना र निन्दा गर्दछ ।’ चिकित्सकमाथि आक्रमण र स्वास्थ्य संस्थामा अस्वाभाविक, अनियन्त्रित हुलहुज्जत र गुण्डागर्दीले नेपालको स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पु¥याएकोे विज्ञप्तिमा जनाइएको छ । सुरक्षाकर्मीको भूमिकासमेत शंकास्पद रहेको संघले आरोप लगाएको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कडा कारवाही हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेमाथि कडा कारवाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गृह मन्त्रालयमा मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघलगायत स्वास्थ्यकर्मीसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँगको छलफलमा उहाँले स्वास्थ्यकर्मीलाई दुव्र्यवहार र कुटपिट हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

‘चिकित्सको चासो र चिन्ता पूरा गर्न सरकार प्रतिबद्ध छ, मुलुकमा विधिको शासन लागू हुन्छ, चिकित्सक र स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था सरकारले मिलाउँछ’, उहाँले भन्नुभयो । चिकित्सकमाथि दुव्र्यवहार र आक्रमण गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले आन्दोलनरत चिकित्सकलाई बिरामीको सेवामा फर्कन आग्रह गर्नुभयो ।

छलफलमा स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमणको घटना बढ्दै जाँदा अराजक स्थिति सिर्जना हुने भएकाले बेलैमा सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो । चिकित्सक तथा स्वास्थ्यकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने अवस्था सिर्जना गर्न उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा सरोकारवालासँग छलफल गरिएको उहाँको भनाइ थियो ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा.अनिल विक्रम कार्कीले संघले आज(बुधवार) १ बजे बोर्ड बैठक डाकेको र त्यसपछि आन्दोलनबारे आवश्यक निर्णय हुने बताउनुभयो । उहाँले मंगलबार छलफलमात्रै भएको र कुनै निष्कर्ष ननिस्किएको बताउनु भयो । सरकारले चिकित्सकहरूसँग प्रतिवद्धता गरेपनि कार्यान्वयन नगर्दा चिकित्सकहरूमाथि पटक पटक भौतिक आक्रमण हुने गरेको उहाँको भनाइ थियो ।
यसैबीच, सरकारले देशभरका प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने निर्णय भएको छ । प्रत्येक स्वास्थ्य संस्थाहरूमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ को जानकारीमुलक बोर्ड राख्ने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको छ । मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएपछि गृह मन्त्रालयमा मंगलबार छलफल भएको थियो ।

‘ईःको धर्नामा नेताहरूको ऐक्यबद्धता, फुटपाथ व्यवसायीको प्रदर्शन
काठमाडौं महानगरविरुद्ध धर्ना बस्नुभएका अभियान्ता ईःको पक्षमा राजनीतिक दलका नेताहरूले ऐक्यबद्धता जनाएका छन् । उहाँको समर्थनमा सडक व्यापारीदेखि नेतासम्मले ऐक्यबद्धता जनाएका छन् । सोमबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमबाटै ऐक्यबद्धता जनाउनुभएको थियो । मंगलबार एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे, राप्रपा नेपालका अध्यक्ष कमल थापा लगायतले आन्दोलनमा ऐक्यबद्धता जनाउनुभयो । फुटपाथ व्यवसायीले अभियान्ता ईःको समर्थनमा राष्ट्रिय सभागृह अगाडि प्रदर्शन नै गरेका छन् । सयौँको संख्यामा भेला भएका फुटपाथ व्यवसायीले ईःको समर्थनमा मंगलबार प्रदर्शन गरेका हुन् । ‘गरिब मारा कामनपा, हामीलाई सास फेर्न पनि ठाउँ नदिएर के पाउँछौ ?’, गरिब होइन गरिबी हटाऊलगायत नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन् । फुटपाथ व्यवसायीमाथि महानगरपालिकाले क्रूरतापूर्ण व्यवहार गरेको, सडकका किनारामा व्यवसाय गर्ने साना व्यवसायीलाई लखेटेको लगायत विरोधमा अभियान्ता ईः राष्ट्रिय सभागृह अगाडि उभिइरहनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?