चिकित्सकहरुको चेतावनी : दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौं

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । चिकित्सकमाथि बारम्बार आक्रमण भएको भन्दै चिकित्सकहरु आन्दोलित भएका छन् ।

मणिपाल शिक्षण अस्पताललगायतका स्थानमा चिकित्सकमाथि भएका आक्रमणको बिरोध गर्दै चिकित्सकहरुले बुधवार माईतीघर मण्डलामा बिरोध प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै चिकित्सकहरु सडकमा उत्रिएर बिरोध जनाएका हुन् ।

स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन, २०७९ अविलम्व कार्यान्वयनको माग राखेका छन् । बिरोध प्रदर्शनका क्रममा सञ्चराकर्मीहरुसँग कुरा गर्दै आन्दोलनरत चिकित्सक शेषराज घिमिरेले सरकारले सहमति गरेर मात्रै नपुग्ने भन्दै पक्राउ गरेर कारबाही गर्न माग गर्नुभयो ।

उहाँले सरकारले पक्राउ गरी कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने बताउनु भयो । दोषीलाई संरक्षण गर्नु नहुने र चिकित्सकमाथि बारम्बार आक्रमण हुँदा समेत राज्य मुकदर्शक बन्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सहमति धेरै भइसक्यो, एक्शन हामीलाई चाहिँदैन । यो धेरै भइसक्यो । पक्राउ गर्नुस् हामी मान्छौँ । नत्र सकेनौँ भन्नुस्, हात उठाउनुस् । जबसम्म पक्राउ गरेर मुद्दा चल्दैन, हामी आन्दोलनमा नै हुन्छौँ । यो राज्यको कमजोरी हो, कानूनी राज्य भएको भए घटना भए लगत्तै पक्राउ जरी जेलमा जान्थे । यहाँ त घटना दोहोरिँदा पनि कारबाही छैन । दोषीलाई संरक्षण गर्नु हुँदैन । राज्य टुलुटुलु हेरेर बसेको छ ।’

आन्दोलित चिकित्सकहरुले विदेश पलायन हुन बाध्य नपार, हामी स्वास्थ्यकर्मी एक हौँ, आज डाक्टर कुट्ने भोलि बिरामी भए कहाँ जाने ?असुरक्षा र त्रासमा उपचार कसरी गर्ने ? कामेको हातले उपचार सम्भव छैन, सेतो कोट रातो भए समाज नै कालो हुन्छ, स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेप बन्द गरलगायतका प्लेकार्डसहित नाराबाजी गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?