चुनावी प्रचारको मुख्य एजेण्डा ताक्लाकोट नाका खुलाउने पहल नभएको स्थानीयको गुनासो

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 11 mins

बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका बेला ताक्लाकोट नाका खुल्ने आशा आम सुदूरपश्चिमबासी र कर्णालीबासीको थियो । नेपाल र चीनबीचका १४ वटा नाका खुला गरिए पनि ताक्लाकोट नाकाको बारेमा प्रधानमन्त्री प्रचण्डले नाम नै लिनुभएको छैन । यसलाई प्रधानमन्त्री प्रचण्डको वेवास्ताका रुपमा स्थानीयले लिएका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई सुदूरपश्चिम सरकार, साइपाल गाउँपालिकाका जनप्रतिनिधि र यहाँका व्यापारीले प्रत्यक्ष भेटेर नाका खोल्नका लागि एजेन्डामा समेटेर चीन भ्रमणमा जान आग्रह समेत गरेका थिए ।

छिमेकी हुम्ला र दार्चुलाको नाका खुलेपनि बिचमा रहेको ताक्लाकोट नाका नखोल्नु विडम्बना भएको बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनु भयो । यो नाका नखुल्दा त्रिदेशीय रूपमा व्यापार गर्दै आएका व्यवसायी समस्यामा परेका छन् । ताक्लाकोटमा मुगु, डोल्पा, हुम्ला, बझाङ र दार्चुलाका गरी करीब दुई सय नेपाली व्यवसायी छन् । लामो समयदेखि बजार बन्द हुँदा नेपाली व्यापारी मर्कामा परेका व्यापारी जगत तामाङ बताउनुभयो ।

नेपालबाट निर्यात हुने र चीनबाट आयात भएका सामान ताक्लाकोटको गोदाममै थन्किएका छन् । कोराना महाव्याधिका कारण लामो समयदेखि सामान बिक्री गर्न नपाउँदा व्यवसायीलाई ठूलो क्षति भएको उहाँको भनाइ छ । जिल्लाका सबैजसो बजारमा चीनबाट ताक्लाकोट भएर भित्रिने चिनियाँ सामान खोज्ने ग्राहकहरू धेरै छन् । चार वर्षदेखि ताक्लाकोटबाट चिनियाँ सामानल्याउन नसक्दा बजारमा चिनियाँ वस्तु उपलब्ध हुन नसकेको स्थानीय कन्जु भण्डारीले बताउनुभयो  । चार वर्षदेखि चीनले नाका बन्द गर्दा वर्षको ६ महिना ताक्लाकोट पुगेर व्यापार गर्ने व्यापारीहरू मर्कामा परेको व्यापारी जगत तामाङले बताउनुभयो । ताक्लाकोट नाका बन्द भएपछि त्यहाँ विभिन्न व्यवसाय गर्दै आएका नेपाली व्यवसायीको आयस्रोतको बाटो बन्द भएको छ ।

बझाङ सदरमुकाम चैनपुरबाट १ सय १८ किलोमिटर टाढा पर्ने ताक्लाकोट नाका सञ्चालन गर्ने घोषणा २०५० सालमै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गर्नुभएको थियो । त्यसपछि तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले पनि सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमण गर्ने क्रममा यो नाका सञ्चालन गर्ने बताउनु भएको थियो । २०७० सालको संविधानसभा निर्वाचनमा बझाङ आएका पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, बाबुराम भट्टराई र माधव नेपाललगायतले पनि सुदूरपश्चिमको विकासका लागि ताक्लाकोट नाका खोलिने बताउनु भएको थियो । चुनाव जितेपछि चैनपुर–ताक्लाकोट सडक विस्तार गरिने र नाका पनि सञ्चालन गर्ने उनीहरूको घोषणा थियो । तर, ती सबै भाषणमै सीमित रहे ।

प्रत्यक चुनावी प्रचारमा मुख्य एजेण्डा ताक्लाकोट नाका

ताक्लाकोट नाका नेताहरूका लागि प्रत्यक चुनावी प्रचारको मुख्य एजेन्डा मात्र बन्ने गरेको छ प्रत्यक निर्वाचनमा उम्मेदवारहरू भोट माग्न घरदैलोमा जाँदा, सार्वजनिक सभामा बोल्दा वा सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा यो नाका औपचारिक रूपमा खोल्ने र सुरुङसहितको सडक मार्गबाट जोड्ने आश्वासन दिएर मतदातालाई आकर्षित गर्ने प्रयास गरिरहेका हुन्छन्  ।

सुदूरपश्चिम प्रदेशकै समृद्धिको ढोका मानिएको यो नाकालाई २०७४ र ०७९ को निर्वाचनमा पनि नेताहरूले यसैगरी चुनावी एजेन्डा बनाएका थिए । यद्यपि नेताले चुनावका बेला दिएको भाषण केवल आश्वासनमै सीमित भएको छ । सडक निर्माणको भौतिक प्रगति शून्यजस्तै छ । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने नेताहरूकै कमजोरी र बेवास्ताका कारण नाका सञ्चालनमा आउन नसकेको कतिपयको भनाइ छ । नाका सञ्चालन गर्नेबारे तीनै तहका सरकारले चासो नदिएका जिल्लाबासीको गुनासो छ ।

नाका सञ्चालनमा अब ढिला गर्न नहुने बझाङ उद्योग वाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलिले बताउनु भयो । उहाँले भन्नुभयो, ‘नाका सञ्चालनका लागि प्रदेश सरकारले न कहिल्यै बजेट विनियोजन गर्छ, न यस विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराउँछ । कुलो, नहर, पुल, मन्दिर बनाउने काम स्थानीय सरकारको हो । प्रदेश सरकारले त प्रदेशको गौरवका आयोजना निर्माण गर्नुपर्ने हो ।’ प्रदेश सरकारलाई ताक्लाकोट नाका पनि सुदूरपश्चिममै पर्छसम्म थाहा नभएको उहाँको आरोप छ ।

विभिन्न समयमा ताक्लाकोट नाका सञ्चालनको विषयमा राज्यको ध्यानाकर्षण गरिएको भएपनि सरकारको ध्यान जान नसकेन भन्दै अहिले जिल्लाबासी दुःखेसो गरिरहेका छन् । आफूले बेला–बेलामा यो नाका खोल्नका लागि संसदमा बोल्दै आएको निवर्तमान प्रतिनिधिसभा सदस्य आशाकुमारी विकले बताउनु भयो ।

’मैले सुरुवाती चरणदेखि ताक्लाकोट नाकाको विषयमा आवाज उठाउँदै आएकी छु । आफूले पटक पटक ताक्लाकोट नाका सञ्चालनका लागि कछुवा गतिमा निर्माण भइरहेको चैनपुर ताक्लाकोट सडकखण्डको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छु’, उहाँले भन्नुभयो ।
साइपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामी पनि ताक्लाकोट नाका सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न प्रदेश र केन्द्र सरकारसँग गुहारेको बताउँछएका छन् । तर, आफ्नो गुनासो कसैले नसुनेको उनको भनाइ छ ।

त्रिदेशीय व्यापार र पर्यटनको सम्भावना

तत्कालीन बझाङी राजा जयपृथ्वीबहादुर सिंहले बझाङ र तिब्बतको प्रमुख व्यापारिक केन्द्र ताक्लाकोटबीच व्यापारिक सम्बन्ध स्थापना गरेका हुन् । स्थानीयको श्रमदानबाट चैनपुरदेखि ताक्लाकोटसम्म पैदल बाटो निर्माण गर्न लगाएपछि ताक्लाकोटसँग झण्डै १ सय वर्ष अघिदेखि व्यापारिक सम्बन्ध रहिआएको छ । ताक्लाकोट नाकाबाट नेपाली व्यापारीमार्फत भारतीय व्यापारीले खासाको सामान दिल्लीसम्म पुर्याउने गरेका छन् । चीनबाट भारतमा बढीजसो विद्युतीय सामान जाने गरेको छ । भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल(भारत सीमाक्षेत्र कञ्चनपुरको महेन्द्रनगरसम्मको दूरी ४ सय किलोमिटरको हाराहारीमा छ ।

महेन्द्रनगरबाट बझाङ सदरमुकाम चैनपुर पुग्न ३ सय किलोमिटरको यात्रा गर्नु पर्छ । चैनपुरदेखि चीनको सिमाना उरै भञ्जाङसम्म ८० किलोमिटर लम्बाइ अनुमान गरिएको छ । यसरी दिल्लीबाट झण्डै ७ सय किलोमिटरको सडक दूरीमा त्रिदेशीय नाका जोडने नेपालको सबैभन्दा छोटा मार्ग हो । यस हिसाबले पनि ताक्लाकोट नाका त्रिदेशीय व्यापारको केन्द्र बन्ने देखिन्छ ।

दुवै देशतर्फ निर्यात गर्न सकिने भएकाले यो नाका खुलेमा व्यापारिक हिसाबले सबैभन्दा बढी फाइदा नेपाललाई पुग्छ । ताक्लाकोटमा कृषि, पशु र काठजन्य उत्पादनको राम्रो बजार छ । ताक्लाकोटमा मात्र नभएर तिब्बत र पूर्वी चीनमा नेपाली उत्पादनको माग उच्च छ । चीनको ताक्लाकोट बजारमा नेपालीले बर्षौंदेखि हाते होजियारीका सामान, नेपाली गलैँचा, बाँस, निगालो, छाला, र अन्य हस्तकलाका सामानको व्यापार गर्दै आएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?