गलकोट चिनाउँदै मूर्तिकला

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 9 mins

बागलुङ । उच्च पहाडको शिरमा छ टेउवा । हिजोआज यस क्षेत्रमा घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल निकै बढेको छ । प्राकृतिक सुन्दरताले भरिएको टेउवामा अहिले माननिर्मित संरचना बढ्दै गएका छन् । जसले दिनप्रति दिन पर्यटकलाई आकर्षण गरि रहेको छ । चार वर्ष अगाडिसम्म टेउवा सुनसान थियो । गुमान थियो । तर अहिले टेउवाको चर्चा ह्वात्तै चुलिएको छ । गलकोट नगरपालिका–५ मा पर्ने यस क्षेत्रमा अनेक किसिमका मूर्ति र प्रकृतिसँग रम्न पर्यटक पुग्ने गरेका छन् । वि.सं. २०७६ सालमा टेउवामा स्थापना भएको थियो ।

टेवाको प्रचारप्रसार र भौतिक संरचना निर्माणका लागि सरकारले पनि वर्षेनी लगानी गर्दै आएको छ । मूर्तिकला अवलोकन गर्न आउने आगन्तुकलाई लक्षित गरि गलकोट नगरपालिका र केन्द्र सरकारले दुई वर्ष अगाडिदेखि सडक स्तरोन्नति र पार्क निर्माण थालेको छ । हरिचौर बजारदेखि करिब छ किलोमिटर सडक स्तरोन्नती र पार्क निर्माणका लागि नगरपालिका र केन्द्र सरकारले बहुवर्षे योजना अन्तरगत ६ करोड विनियोजन गरेका थिए । आर्थिक वर्ष २०७७/०७८ को योजना अन्तरगत अहिले टेउवामा संरचना निर्माण भइरहेका छन् । जसले पर्यटकलाई थप आकर्षित गरि रहेको छ ।

टेउवामा मूर्तिकला निर्माण भएदेखि अहिलेसम्म हजारौँ आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेको स्थानीय बताउँछन् । मूर्तिकला गलकोटको पहिचानसमेत बन्दै गएको छ । पछिल्लो समय गलकोट आउने हरेक पर्यटक टेउवा पुग्ने गरेको पाइन्छ । मूर्तिकलाले टेउवा क्षेत्रको मुहारनै बदलिएको छ । समुन्द्रि सतहदेखि १९८० मिटरको उचाइमा रहेको टेउवामा अन्तर्राष्ट्रिय मूर्तिकारहरूले शीलामा कुँदेर मूर्ति बनाएका छन् । मूर्तिको संरक्षणसँगै बाह्य पर्यटकलाई आकर्षण गर्न यहाँ पर्यटन पूर्वाधार निर्माण गर्न थालिएको गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।

मूर्ति निर्माण भएको क्षेत्रलाई प्रवद्र्धन गर्नका लागि नगरपालिकाले प्रचारप्रसार र भौतिक संरचना निर्माणमा जोड दिएको उहाँको भनाइ छ । यहाँ मूर्तिकला निर्माण गरिनु पूर्व गलकोट क्षेत्रमा पर्यटकहरुको आगमन निकै कम रहेको भन्दै अहिले बढ्दै गएको उहाँको भनाइ छ । अन्य पर्यटकीय क्षेत्रभन्दा टेउवामा पर्यटकले अवलोकन गर्ने पृथक वस्तुहरु रहेको हुँदा आकर्षण बढेको प्रवक्ता भण्डारीले बताउनुभयो । यहाँको विकासका लागि नगरपालिकाले प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरि आवश्यक पूर्वाधार निर्माणमा जोड दिएको उहाँ बताउनुहुन्छ ।

“गलकोट आफैमा पहिलेदेखि नै चर्चित ठाउँ हो, पछिल्लो समय टेवाको मूर्तिकलाले गर्दा थप चर्चित बनाएको छ, प्रचारप्रचार पनि तीव्र रुपमा भयो, अहिले यहाँ घुम्न आउने मान्छेको कमी छैन, पहिले सडकको अवस्था निकै खराब थियो, अहिले स्तरोन्नति भइसकेको छ,” प्रवक्ता भण्डारीले भन्नुभयो – “यहाँबाट सुन्दर दृश्यावलोकन गर्न सकिन्छ, मूर्तिकलाको सेरोफेरोमै पार्क पनि बन्दै छ, सडकको स्तरोन्नति र पार्क निर्माणपछि यहाँ अझै धेरै पर्यटक आउने हामीले अपेक्षा गरेका छौँ, पर्यटकका लागि शौचालय, खानेपानी र विश्राम स्थल पनि बन्दैछन्, त्यसले आगन्तुकलाई थप सहज हुने छ ।”

मूर्तिकलासम्म पुग्ने सडक र पार्क निर्माणका लागि प्रदीप-जम्ली-केसी जेभीले २०७८ को भदौमा जिम्मा लिएको थियो । ६ करोडको योजना भए पनि आफूहरुले चार करोडमा सम्झौता गरि काम गरेको निर्माण कम्पनीका प्रमुख योगेश भण्डारीले बताउनुभयो । विं सं. २०७९ फागुन महिनामै सक्ने गरि जिम्मा लिए हालसम्म ८० प्रतिशत काम सकिएको भण्डारीले बताउनुभयो । सडकको सबै काम सकिएको भन्दै पार्क र घेराबारको केही काम बाँकी रहेको उहाँको भनाइ छ । काम गरेको भुक्तानी नहुँदा बाँकी काम गर्न समस्या भएको भण्डारी बताउनुहुन्छ ।
“यो योजना नगरपालिका र केन्द्र सरकारको लगानीमा रहेछ, नगरपालिकाले दिने भुक्तानी दियो, माथिबाट पैसानै आएको छैन, काम सकिन लाग्दा पनि अझै धेरै रकम पाउन बाँकी छ, म्याद सकिए भुक्तानी गर्न बाँकी भएको रकम दिए जरिवाना तिरेर भए पनि काम सक्थे,” भण्डारीले भन्नुभयो – “सडकको सबै काम सकिएको छ, मूर्तिहरुको संरक्षणका लागि घेराबार र र्पाक निर्माणको केही काम बाँकी छ, त्यो काम सक्न धेरै समय लाग्दैन ।”

एतिहासिक गलकोट दरबारको शिरमा रहेको मूर्तिकला अवलोकन गर्न आउने पर्यटकले अन्य पर्यटकीय क्षेत्रको पनि सहज रुपमा अवलोकन गर्न सक्छन् । छेउमै गाईघाट झरना र बाटैमा गलकोट दरबार रहेको हुँदा यहाँ पनि पर्यटकलाई घुम्ने अवसर मिल्ने गरेको छ । शान्त वातावरण, स्वच्छ हावापानी, यहाँ बनेको अनेक आकृतिका मूर्ति र यहाँबाट देखिने अनेकौँ दृश्यले आगन्तुकलाई लोभ्याउने गरेको छ । प्रेमिल जोडीसँगै पारिवारिक घुमघामको उपयुक्त स्थानका रुपमा टेउवा बन्दै गएको छ । सहज यातायात र गलकोटदेखि नजिक हुँदा बागलुङ आउने पर्यटक यहाँ पुग्ने गरेका छन् ।

हरिचौरदेखि मूर्तिकलासम्मको सडक स्तरोन्नति भएपछि दैनिक पर्यटक यहाँ आउने गरेको वडा नम्बर ५ का अध्यक्ष पवन हमाले बताउनुभयो । बर्खाको समयमा पनि टेउवामा आउने पर्यटकको कमी नभएको उहाँको भनाइ छ । गलकोट क्षेत्रमा नजिक–नजिक धेरै पर्यटकी क्षेत्र हुँदा एकै पटक धेरै ठाउँको अवलोकन गर्न सकिने अध्यक्ष हमालले बताउनुभयो । टेउवा पुग्ने पर्यटकले हटियार बजार, हरिचौरको गलकोट दरबार र नजिकै रहेको गाईघाट झरना ‘प्याकेज’ मै घुम्न सक्ने हुँदा आगन्तुको संख्या बढेको उहाँ बताउनुहुन्छ । खास गरि बिदा र चाडपर्व बेला टेउवामा आउने पर्यटकको भिड लाग्ने हमालको भनाइ छ ।

“पहिला टेउवाको डाँडा खुल्ला र खाली थियो, अहिले मूर्ति र विभिन्न संरचनाले भरिएको छ, ठाउँ सुन्दर भए नि ओझेलमा परेको थियो, तर अहिले पर्यटक घुम्न आउने ठाउँ बन्यो,” अध्यक्ष हमालले भन्नुभयो – “यहाँ पर्यटक घुम्न आउने दिन खाली हुँदैन, चाडवाड सुरु भयो, अब झन् धेरै पर्यटक यहाँ आउँछन्, अहिले मूर्तिकला वरपर घाँस पलाएको छ, त्यसलाई सरसफाइ गरेर व्यवस्थित बनाउँछौँ ।”

टेउवामा वि.सं. २०७६ फागुन ५ देखि २१ सम्म अन्तर्राष्ट्रिय स्तरका मूर्तिकारको सम्मेलन गरी १० देशका १५ जना मूर्तिकारले १७ वटा मूर्ति तयार गरेका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मूर्तिकारले बनाएका ति मूर्ति खुल्ला संग्राहलयमा राखिएका छन् । मूर्तिकारले ढुंगामा जल, जंगल, जमिन, पहाड, लगायतका आकृति तयार गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?