चिनियाँ अर्थतन्त्र खस्किँदो अवस्थामा

श्रीमननारायण
Read Time = 11 mins

लामो समयदेखि चीन वैश्विक अर्थतन्त्रको मेरुदण्ड बन्दै आएको छ तर हालसालकै दिनमा चीनमा देखिएको आर्थिक सुस्तीले वैश्विक नेता र लगानीकर्तालाई चिन्तित बनाएको छ । सन् २०३० सम्म चीन अर्थतन्त्रमा अमेरिकाभन्दा पनि अगाडि निस्कने पक्षमा थियो तर अब यो सम्भव देखिँदैन । चीनभन्दा तीव्र विकासदर भारतको रहेको छ । आफ्नो खस्किँदो आर्थिक अवस्थाबाट चीन पनि चिन्तित छ । चीनमा आर्थिक संकट लम्बिएमा यसको प्रतिकूल प्रत्येक क्षेत्रमा पर्नेछ । सभवतः त्यहाँको राजनीति पनि त्यसबाट अछुतो रहन सक्ने छैन ।

कोभिड-१९ ले विश्वको अर्थतन्त्रलाई प्रभावित गर्‍यो, स्वभाविक रूपमा चीन पनि यसबाट अछुतो रहने बरू चीनमा नै ढिलोसम्म यसको प्रकोप देखियो । अहिलेसम्म चीनको आर्थिक वृद्धि रोकिएकै छैन । उपभोक्ता मूल्यमा गिरावट आएको छ, घर जग्गा कारोबार संकटग्रस्त छ भने निर्यात पनि घटेको छ । युवा बेरोजगारी दर उच्च हुन थालेपछि सरकारले तथ्यांक प्रकाशन बन्द गरेको छ । केही अघिमात्रै हङ्कङको हाङसेडप सूचकांकमा २० प्रतिशतभन्दा बढीको गिरावटसम्म देखियो ।

प्रमुख घर निर्माण तथा लगानी गर्ने कम्पनीले आफ्ना लगानीकर्तालाई भुक्तानी दिन सकेको छैन । हाउजिङ मार्केटमा देखिएको निरन्तरको संकटले वित्तीय स्थिरतामा झन जोखिम थपिने देखिन्छ । घरेलु मार्गलाई प्रोत्साहन गर्ने सरकारको ठोस उपाएको कमी र संक्रमणको डरले विकास दरमा कमी आउन थालेको छ । यसलाई हेरी धेरैजसो इन्भेष्टमेन्ट बैंकले चीनको आर्थिक वृद्धिको अनुमान घटाएर छ प्रतिशत तल झारेका छन् । घरजग्गा व्यवसायमा आएको गिरावट, न्यून बाहृय माग र नीति समर्थनमा कमी आएकाले चीनको वास्तविक कूल गार्हस्थ उत्पादन अनुमान घटाएको युविएसको प्रतिवेदनमा उल्लेख छ ।

धेरैजसो इन्भेष्टमेन्ट बैंकले चीनको आर्थिक वृद्धिको अनुमान घटाएर छ प्रतिशत तल झारेका छन् । घरजग्गा व्यवसायमा आएको गिरावट, न्यून बाहृय माग र नीति समर्थनमा कमी आएकाले चीनको वास्तविक कूल गार्हस्थ उत्पादन अनुमान घटाएको युविएसको प्रतिवेदनमा उल्लेख छ ।

त्यसको अर्थ चीनले उद्घोषण गरेको ५.५ प्रतिशतको आर्थिक वृद्धि पछ्याउन सम्भव छैन । बिक्रीको हिसाबमा देशकै ठूलो डेभलपर कम्पनी कन्ट्री गार्डन र अर्को प्रोपर्टी कम्पनी झोङरोङ ट्रस्ट डिफल्ट भएपछि थप चिन्ता बढ्न थालेको छ । युविएसको प्रतिवेदन अनुसार कन्ट्री गार्डेनले दुई अर्ब अमेरिकी डलर बोन्डमा ब्याज भुक्तानी कम गरेको छ । यसबाट लगानीकर्ता डराएका छन् । यस घटनाले हाल सालैसालै टाट पल्टिएको रियल स्टेट कम्पनी एयर ग्रान्डेको सम्झना दिलाएको छ ।

८७ अर्बको कोष व्यवस्थापन गर्ने झोङरोङ ट्रष्टले कम्तीमा पनि चार कम्पनीलाई १९ अर्ब बराबरको लगानी फिर्ता गर्न सकेन । लगानी फिर्ता गर्न नसकेपछि विरोधमा उत्रिएका प्रदशर्नकारीले ट्रष्ट कम्पनीअगाडि उच्च उपज उत्पादनमा भुक्तानीको माग गरे । प्रोपर्टी सेक्टरको घाटाले वित्तीय अस्थिरता ल्याउन सक्ने अनुमान त्यहाँका क्यापिटल इकोनोमिक्सका विद्वानहरूको पनि रहेको छ । एभरग्राण्डे अहिले पनि ऋण पुनगठनको स्थितिबाट गुज्रिरहेको छ । स्थानीय सरकारको ऋण पनि चीनको निम्ति चिन्ताको विषय बनेको स्थानीय स्तरमा देखिएको राज्य कोषमाथिको दबाबले चिनियाँ बैंकलाई ठूलो जोखिम रहेको त देखाउँछ नै विकासलाई गति दिने र सार्वजनिक सेवा विस्तार गर्ने सरकारको क्षमतालाई पनि संकुचित बनाउँछ । बेइजिङले अर्ततन्त्रलाई बढावा दिनलगातार वृद्धिका उपाय सार्वजनिक गरेको छ । यसमा व्याजदर कटौती, प्रोपर्टी मार्केट र उपभोक्ता व्यापारलाई समर्थन गर्ने कदम हुन् तर चीनले अन्य कुनै ठूलो रकम उठाउन चाहेको छैन । अहिले १५ वर्षअगाडिको वैश्विक वित्तीय संकटका बेलामै अहिले चरम संकटग्रस्त बनेको छ ।

त्यतिबेला चीनको नेतृत्वले वैश्विक संकटको प्रभाव कम गर्न ५८६ अर्ब डलर सहायता प्याकेज घोषणा गरेको थियो तर त्यसले पनि अभूतपूर्व ऋण विस्तार तथा स्थानीय सरकारको उच्च कर्जालाई बढावा नै दियो । त्यसकारण पनि चीनको अर्थतन्त्र संघर्षकै भरमा छ । कोभिड-१९ ले चीनलाई विश्वका अधिकांश देशसितको सम्बन्धमा प्रतिकूल प्रभाव पार्‍यो र चीनको वैदेशिक व्यापार प्रभावित हुन पुग्यो ।

चीनमा युवा बेरोजगारी दर २० प्रतिशत भन्दा माथि छ, तलबमा वृद्धि पनि न्यून छ, कमजोर मागका कारण मूल्यमा गिरावट बढ्दो छ । आवास मूल्यमा मासिक ९ प्रतिशतको ह्रास आएको छ । स्थिर हुने कुनै संकेत छैन । कम ऊर्जा, बिक्रीमा गिरावट र उच्च मूल्यले पनि नयाँ परियोजना सुरु गर्ने सक्ने अवस्था छैन । सन् २०१९ को तुलनामा यो वर्ष नयाँ निर्माण ४० प्रतिशत मात्रै छ । चीनमा सम्पत्ति विकासकर्ता पनि चर्को दबाबमा छन् । चीनसम्बन्धी हरेक सकारात्मक चर्चा घरजग्गा कारोबारको मूल्यमा आएको गिरावटसँग जोडिन्छ । चीनको निर्यातको अवस्था पनि कमजोर छ ।

चीनमा बहुसंख्यक व्यक्ति गरिब नै छन् । चीनको १३ प्रतिशत जनसंख्या अहिले पनि गरिबीको रेखामुनि छ । गरिबीको रेखामुनि रहेकाहरूको प्रतिदिनको आय छ ५.५ डलरमात्र छ । चीनको आर्थिक वृद्धिदर घटेको छ । युवाहरू ठूलो संख्यामा बेरोजगार देखिएका छन् । विदेशी लगानी ओरालो लाग्दो छ । बजारमा चिनियाँ मुद्दा कमजोर छ । रियल स्टेट क्षेत्र सोचनीय हुनपुगेको छ । भोलि के होला भन्ने भयबाट चिन्तित भएर चिनियाँ लगानीभन्दा बचतमा जोड दिइरहेका छन् । चीनको आर्थिक विकास छ प्रतिशतको हाराहारीमा छ ।

जनसंख्याको मामिलामा भारतले अहिले चीनलाई उछिनेर अगाडि बढिसकेको छ । चीनमा जनसंख्या वृद्धिदर कम भएकोमा चिनियाँहरूका लागि खुसीभन्दा चिन्ता बढी हुनुपर्दछ । किनभने चिनियाँ संख्यामा प्रौढ व्यक्तिहरूको संख्यामा बढी हुनपुगेको छ जब कि युवाहरूको संख्या तुलनात्मक रूपमा कम भएको छ । जनसंख्या वितरणको यस अन्तरले वर्तमानमा चीनमा जनशक्तिको अभाव देखिएको छ भने भोलिको दिनमा चिनियाँ युवा जनशक्तिको अवस्था कस्तो होला ?

जापानमा पनि प्रौढ अवस्थाको जनसंख्यामा वृद्धि भएको छ, जब कि युवा जनशक्तिको अति नै खाँचो देखिएको छ । जनसंख्यामा युवाहरूको संख्या बढी भएकै कारण चीनले कम लागतमा विभिन्न वस्तु उत्पादन गर्न क्षमता प्राप्त गरेको थियो । अर्थात् चीनमा श्रम लागत कम थियो तर अब त्यो स्थिति विस्तारै प्रतिकूल हुँदै गएको छ । चीनमा आर्थिक संकट लम्बिएमा जनतामा असन्तोष मच्चिएमा चीनको राजनीतिक अवस्था नराम्री हल्लिन सक्छ । हुन त आजभन्दा ३/४ दशकपहिले चीनको राजनीतिक अवस्था हल्लिसकेको थियो ।

देङ सिआओ पिङको आर्थिक सुधारका कार्यक्रम नभएको भए चीनको अर्थ व्यवस्थामा सिपिसीको नियन्त्रणलाई यसका नेताहरूले खुकुलो नपारेको भए चीनको कम्युनिष्ट राजनीतिक व्यवस्था रूस जस्तो धराशायी हुने थियो । सम्पत्तिमाथि निजी स्वामित्व, धन आर्जन र लगानी गर्न छुट, अहस्तक्षेपकारी नीतिजस्ता आर्थिक सुविधा चिनियाँले उपयोग गर्न पाएको हुनाले चीनको कम्युनिष्ट व्यवस्थाले निरन्तरता पाएको हो । अर्थतन्त्रमा पूर्ण समाजवाद वा कम्युनिष्ट प्रणाली वा कम्युन प्रणाली स्थापना गर्नासाथ चीनको कम्युनिष्ट व्यवस्था समाप्त हुन्छ । राजनीतिक स्वतन्त्रताको स्वाद नचाखेका भए पनि उदारवादी अर्थतन्त्रको स्वाद चीनका जनताले अवस्था पाएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?