स्याङ्जामा लोकसाहित्यिक विमर्श : डा गोविन्दराज भट्टराईद्वारा कृति विमोचन

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । स्याङ्जामा लोकसाहित्यिक विमर्श, पुस्तक विमोचन तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लोकसाहित्यका बारेमा छलफल तथा विमर्श हुनुका साथै विभिन्न स्रष्टाहरुद्वारा रचना वाचन गरिएको थियो ।

स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रममा स्याङ्जाली साहित्यकार विश्वप्रेम अधिकारीको ‘द्रष्टा दृष्टिमा स्रष्टा विश्वप्रेम अधिकारी’ नामक पुस्तकको विमोचन गरियो । उक्त पुस्तकको लोकार्पण गर्दै समालोचक प्रा.डा.गोविन्दराज भट्टराईले समीक्षा प्रस्तुत गर्नुभयो । उहाँले स्याङ्जासँग आफ्नो पुरानो सम्बन्ध रहेको र स्याङ्जा साहित्य प्रतिष्ठानले साहित्यका लागि महत्वपूर्ण काम गरिरहेको भन्दै विश्वप्रेम अधिकारीले स्याङ्जाली माटोमा बसेर नेपाली साहित्यको फूल फुलाइरहेको बताउनुभयो ।

कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानद्वारा साहित्यकार वनमाली निराकरलाई ‘कालीगण्डकी साहित्य कला पुरस्कार २०८०’, डा.दामोदर पुडासैनी किशोरलाई ‘यानीति साहित्य पुरस्कार’ २०७९, साहित्यकार धनराज गिरीलाई ‘आमा सुमित्रा गिरी साहित्य पुरस्कार’ २०७८ द्वारा सम्मानित गरिएको थियो । कार्यक्रममा स्याङ्जा साहित्य प्रतिष्ठानका सदस्य त्रिभुवन शर्मालाई पनि पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बोल्दै पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले स्याङ्जा साहित्य प्रतिष्ठानले स्याङ्जामा साहित्यको विकासका लागि ठूलो योगदान पुर्‍याएको बताउनुभयो । उहाँले प्रतिष्ठानले स्याङ्जाको साहित्यिक श्रीवृद्धिमा योगदान पुर्‍याएको हुनाले नगरपालिकाले प्रतिष्ठानलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् साहित्यकार विश्वप्रेम अधिकारीले स्याङ्जा साहित्य प्रतिष्ठानको निमन्त्रणामा काठमाडौंबाट आएका डा.भट्टराईलगायतलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको दोस्रो सत्रमा राङ्खोला लक्ष्मी स्मृति पुस्तकालयद्वारा पुरस्कार एवम् सम्मान अर्पण गरिएको थियो । प्रा.डा.गोविन्दराज भट्टराईलाई राङ्खोला लक्ष्मी स्मृति पुस्तकालयद्वारा स्थापित ‘महाकवि देवकोटा पुरस्कार’ २०८० प्रदान गरियो ।

साहित्यकार चिन्तु गिरीको कविता कृति समेत लोकार्पण गरिएको उक्त कार्यक्रममा प्रमोद पंज्ञानी र राजेन्द्र आचार्यलोकसाहित्यिक छलफल पत्र प्रस्तुत भएको थियो । लक्ष्मी स्मृति पुस्तकालय राङखोलाका गतिविधिका बारेमा पुस्तकालयका सचिव शिवप्रसाद तिमिल्सिनाद्वारा चर्चा गरिएको उक्त कार्यक्रममा प्रा.डा.वासुदेव भण्डारी, प्रा.डा.शालिकराम सुबेदी, प्रा.डा.यमबहादुर पौडेल, टीकाराम वाग्ले, तुलसी गिरी, त्रिभुवन शर्मालगायतले बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?