सूचक सकरात्मक, अर्थतन्त्र नकरात्मक

हिमालय टाइम्स
Read Time = 7 mins

नेपाल राष्ट्र बैंकले शुक्रबार गत आर्थिक वर्ष ०७९/०८० को समग्र तथ्यांकसहित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । निजी क्षेत्र, अर्थविद् र स्वयं सरकारले समेत मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा भन्दै चिन्ता प्रकट गरिरहेको बेला राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले भने मुलुकको अर्थतन्त्र सन्तोषजक रहेको देखाएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार अर्थतन्त्रका धेरैजसो सूचक सकारात्मक देखिएका हुन् । समीक्षा वर्षमा शोधनान्तर स्थिति पनि झण्डै तीन खर्ब अर्थात् दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

रेमिट्यान्सका साथै विदेशी मुद्राको सञ्चितिसमेत बढेको छ । २०७९ असारमा १२ खर्ब १५ अर्ब ८० करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्घि भई २०८० असारमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले उल्लेख गरेको छ । समीक्षा वर्षमा कुल वस्तु आयात पनि १६.१ प्रतिशतले घटेर १६ खर्ब ११ अर्ब ७३ करोडमा झरेको छ । अघिल्लो वर्ष यस्तो आयात २४.७ प्रतिशतले बढेको थियो । त्यसो त निर्यात पनि २१.४ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स आप्रवाह २१.२ प्रतिशतले बढेर १२ खर्ब २० अर्ब ५६ करोड पुगेको छ । अघिल्लो वर्ष रेमिट्यान्स आप्रवाह ४.८ प्रतिशतले बढेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७९/०८० मा चालु खाता पनि ७२ अर्ब १६ करोडले मात्रै घाटामा रहेको छ । अघिल्लो वर्ष चालु खाता ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा थियो । समीक्षा वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप पनि १२.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.० प्रतिशतले मात्र बढेको थियो ।

तर, समीक्षा वर्षमा पुँजीगत ट्रान्सफर २४.५ प्रतिशतले घटेर सात अर्ब ५४ करोड रहेको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी पाँच अर्ब ९६ करोड कायम भएको छ । अघिल्लो वर्ष पुँजीगत ट्रान्सफर नौ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १८ अर्ब ५६ करोड थियो । २०८० असारमा नेपाल सरकारको कुल तिर्न बाँकी ऋण २२ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । जसमध्ये बाह्य ऋण १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रहेको छ । आर्थिक वर्ष २०७९/८० मा राजस्व संकलन नौ खर्ब ५७ अर्ब १५ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा राजस्व संकलन १० खर्ब ६७ अर्ब ९६ करोड रहेको थियो ।

समग्रमा भन्नुपर्दा केन्द्रीय बैंकका अनुसार मुलुकका धेरैजसो आर्थिक सूचकहरू सकारात्मक छन् तर पनि मुलुक आर्थिक रूपमा किन स्वस्थकर देखिइरहेको छैन ? अर्थमन्त्रीदेखि प्रधानमन्त्रीसम्म मुलुकको विद्यमान आर्थिक अवस्थाप्रति किन संशकित छन् । किन अर्थमन्त्री र प्रधानमन्त्री लगायतले विभिन्न कार्यक्रमहरूमा पटक-पटक त्यस्तै सोही प्रकृतिका अभिव्यक्ति दिइरहेका छन् ? निजी क्षेत्र त मुलुकको विद्यमान अवस्थाबाट झनै भयवित देखिएको छ । मौद्रिक रूपमा केन्द्रीय बैंकका तथ्यांक सही भए पनि धरातलीय यथार्थ त्यस्तो छैन ।

किनभने रेमिट्यान्समा बढोत्तरी, विदेशी मुद्राको सञ्चिति र शोधनान्तर बचतको अवस्था ठिक हुँदैमा मुलुकको समग्र अवस्था ठिक हुन सक्दैन । केन्द्रीय बैंकको तथ्यांकअनुसार २०८० असारमा मूल्यवृद्धि ७.४४ प्रतिशत रहेको छ तर बजारमा त्योभन्दा अधिक महँगी बढेको छ । जसकारण सर्वसाधारण नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ । खासगरी पेट्रोलियम पदार्थ भएको चर्को मूल्यवृद्धि कारण मुलुकको समग्र क्षेत्र प्रभावित हुन पुगेको हो ।

नागरिकको घट्दो आय र चरम महँगीका कारण बजार चलायमान हुन नसक्दा सबै क्षेत्रमा असर देखिएको छ । बजार चलायमान हुन नसकेकै कारण सरकारको राजस्व असुलीमा पनि धक्का लागेको हो । वैदेशिक ऋण र अनुदान पनि घट्ने र राजस्व पनि असुली हुन नसक्ने विद्यमान अवस्थाका कारण सरकारले भौतिक पूर्वाधार क्षेत्र लगानी बढाउन सकेको छैन भने सम्पन्न भइसकेका भौतिक पूर्वाधार क्षेत्रको भुक्तानीसमेत गर्न नसकिरहेको अवस्था छ । तसर्थ, सरकारलाई केन्द्रीय बैंकको मौद्रिक तथ्यांक देखाएर ढुक्क हुन छुट छैन । किनभने समस्याका प्रमुख कारक भनेका केन्द्रीय बैंकको तथ्यांकमा नसमेटिएका सूचकहरू हुन् । राज्यको सु-नीति र सुशासनबाट मात्रै उल्लेखित तमाम समस्या पहिचान र समाधान हुन सक्छन् । त्यसैले सरकार समस्या समाधानका लागि थप गम्भीर हुनुपर्ने आवश्यक देखिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?