अख्तियारद्वारा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा कैलालीका राहत शिक्षकविरुद्ध मुद्दा दायर

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एक राहत शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कैलालीको घोडाघोडी नगरपालिका-२ साडेपानीस्थित दशरथ माध्यमिक विद्यालयमा राहत शिक्षकमा कार्यरत महेश शाहविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । प्रवक्ता दाहालका अनुसार शाहले इन्टरमिडियटको सर्टिफिकेट नक्कली बनाएर पेश गरी अध्यापन गरिरहेको उजुरी आयोगमा परेको थियो ।

अनुसन्धानका क्रममा शाहले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एण्ड इन्टरमिडिएट एजुकेसन, युपी, राजकीय हुसेनावाद इन्टर कलेज भारतबाट प्राप्त गरेको भनिएको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर
सप्तरीको शम्भुनाथ नगरपालिकाका निलम्बित मेयर जितेन्द्र गुप्ता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतको शुक्रबारको इजलासले गुप्तासहित दुईजनालाई भ्रष्टाचारी ठहर गरेको हो ।

अख्तियारको इटहरीस्थित कार्यालयबाट खटिएको टोलीले गत माघ ३ गते इञ्जिनियर साहलाई एकलाख ४० हजार रुपैयाँ घुस लिइसकेको भन्दै नियन्त्रणमा लिएको थियो । इञ्जिनियर साहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारले नगर प्रमुख गुप्ताको पनि संलग्नता पाएपछि उनी समेतलाई विपक्षी बनाई विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

विशेष अदालतका न्यायाधीश यमुना भट्टराई, बलभद्र बास्तोला र डा. खुशीप्रसाद थारूको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्नुभएको हो ।

दोषी ठहर गर्दै दुवैलाई ६ महिना कैद र ७० हजार जरिवाना तोकिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिनुभयो ।
नगर प्रमुख गुप्ता र नगरपालिकाका इञ्जिनियर रामचन्द्र साहबीचको आपसी मिलेमतोमा विद्यालयको सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग एक लाख ४० हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएकोले नगर प्रमुख गुप्ता र इञ्जिनियर साहमाथि विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उप दफा (१) को कसुरमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ ।

मालपोतका नासु र खरिदार घुससहित नियन्त्रणमा
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीमा कार्यरत नायब सुब्बा सुदीप कटुवाल र खरिदार रमेश अधिकारी घुससहित पक्राउ परेका छन् । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एकलाख ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार नासु कटुवाल र खरिदार अधिकारीले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

दुवैजनालाई घुस रकम लिइसकेको अवस्थामा इनरुवा नगरपालिका वडा नम्बर ३ मालपोत चोकबाट शुक्रबार नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रवक्ता दाहालले जानकारी दिनुभयो ।

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले दोलखा शैलुंगेश्वर गाउँपालिका बस्ने कल्याणी सुवेदीविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार सुवेदीउपर बिगो ६ लाख ७७ हजार ५९९ रुपियाँ कायम गरी भ्रष्टाचार निवारणबमोजिम सजाय हुन मागदाबी लिई भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?