लघुकथा : भिसा

हिमालय टाइम्स
Read Time = 4 mins

✍️ कृष्ण बजगाईं

विदेशको मेरो पहिलो यात्रा थियो । चिडियाखाना अवलोकनका लागि निस्केको थिएँ । एयरपोर्टका कर्मचारीहरूले अनावश्यक दुःख दिए । अलिकति पैसा दिएर बल्लतल्ल बाहिर निस्केँ । एयरपोर्टबाट बाहिर निस्केर चारैतिर हेर्दछु । बाहिरका सबै क्षेत्र खुल्ला चिडियाखाना पो रहेछन् ।

त्यहाँका दृश्यहरू देखेर आश्चर्यचकित भएँ । भेडाहरू भाषण सुनिरहेका थिए । गधाहरू कुरा नबुझेर हाँसिरहेका थिए । मदारीहरूले बाँदरहरू नचाइरहेका थिए । फ्याउराहरू त्यसै कराइरहेका थिए । विनाकाम कुकुरहरू भुकिरहेका थिए । मैमत्त साँढेहरू डुक्रिरहेका थिए । बाघको छाला ओढेका स्यालहरू सिंहासनमा थिए । चिडियाखाना सञ्चालनका लागि नियम कानुन बनाउन उल्लुहरू संसद् नामको स्थानमा उँघिरहेका थिए ।

‘कस्तो समय आयो हँ ? सपना हेर्न पनि भिसा लगाउनु पर्ने ?’ रिसले बर्बराएछु । ‘हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौं ।’ मजदुर क्याम्प बसेको मेरो रुम पार्टनरले भन्यो ।

दृश्यहरू आँखाले हेरेर स्मृतिमा नअट्ने भए । त्यसपछि भिडियो क्यामरा निकालेर खिच्न थालेँ । अनुमतिबेगर किन फोटो खिचेको भन्दै प्रहरी हौँ भन्ने दुई व्यक्तिले मेरो क्यामरा खोस्न थाले । मैले पर्यटक हुँ भनेँ । त्यसो भन्नेबित्तिकै मसँग पासपोर्ट होइन डलर मागे । अलिकति डलर दिएर तिनीहरूबाट छुट्कारा पाएँ ।

त्यसपछि अलिक ढुक्क भएर फेरि भिडियो खिच्दै थिएँ । हामी हुँदाहुँदै समाचार बनाउने तँ को होस् ? कसको अनुमतिले समाचार संकलन गरेको ? प्रेस पास देखा भन्दै आफूलाई पत्रकार भन्ने व्यक्तिहरूले मलाई धम्क्याए । डराउँदै मैले पर्यटक हुँ भनेँ । त्यसो भए हामीलाई रक्सी र मासु खुवा भने । नजिकैको भट्टी पसलमा तिनीहरूलाई मासु र रक्सीको किनिदिएपछि सन्तोषको सास फेरेँ ।

ती सारा झमेलाबाट मुक्ति मिलेपछि अब आनन्दले चिडियाखाना घुम्नुपर्ला भनेर सोच्दै थिएँ । भिसाको म्याद सकियो कहाँ घुमिराखेको भन्दै कसैले मलाई च्याप्प समात्यो । आत्तिदै अर्धनिद्रामा उठेँ ।

‘कस्तो समय आयो हँ ? सपना हेर्न पनि भिसा लगाउनु पर्ने ?’ रिसले बर्बराएछु । ‘हामी सपना देख्नैका लागि म्यानपावर कम्पनीलाई थुप्रै पैसा तिरी भिसा लगाएर यहाँ आएका हौं ।’ मजदुर क्याम्प बसेको मेरो रुम पार्टनरले भन्यो । उसले त्यसो भनेपछि मात्र छ्याङ्ग भएर ब्युँझिएँ । बेलायत ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?