सायद यही शिक्षक आन्दोलनको चरणमा हो क्यारे फ्याट्ट सामाजिक सञ्जालमा आँखा परे त्यहाँ पदेन विद्वान्हरू भन्ने पदावली प्रयोग भएको पढ्ने मौका मिल्यो । अनि मलाई लाग्यो यो पदेन विद्वान् भनेको के होला ? पदेन सदस्य, पदेन अध्यक्ष, पदेन प्रतिनिधि जस्ता पदहरूको प्रयोग भएको पाइन्थ्यो तर पदेन विद्वान् भन्ने पद कतै प्रयोग भएजस्तो लागेन । कुनै व्यक्ति पदेन विद्वान् बन्नु भनेको के होला ? विद्वान् पनि पदेन हुने कुरा हो र ? विद्वान् त पढेर, ज्ञान आर्जन गरेर हुने कुरा हो ।
कुनै अनपढ व्यक्तिलाई विद्वान्को कुर्सीमा राखियो भने के त्यो व्यक्ति विद्वान् बन्न सक्ने पनि कुनै संयन्त्र छ होला र नेपालमा ? भनेर घोरिँदा मैले अनुमान गरेँ कुनै विद्वान् व्यक्ति बस्नुपर्ने ठाउँमा विद्वान्को योग्यता भएकै वा नभएको तर समयक्रमले, तालमेलले वा पहुँचले गर्दा कोही व्यक्ति उक्त पदमा बस्न पुग्यो भने सायद त्यस्तोलाई पदेन विद्वान् भनिन्छ होला अन्यथा कुनै पनि पद विद्वान्पद वा अविद्वान् पद भन्ने हुँदैन । केही पदेन व्यक्ति पनि विद्वान् बन्न सक्ने भए तर सबै पदेन व्यक्ति विद्वान् बन्नुपर्छ भन्ने भएन । जुन कुरा आवश्यक र उचित हुन्छ त्यो कुरा पर्गेल्न सक्ने क्षमता, बुद्धि र विवेक भएको व्यक्ति पदेन भए पनि विद्वान् नै हुने भयो जो व्यक्ति पदमा पुगेर पनि यी क्षमता राख्दैन ऊ साँच्चैको पदेन विद्वान् हुने भयो । (नेबृशको) मा धेरै लेखपढ गरेको व्यक्ति, धेरै विद्या आर्जन गरेको व्यक्ति, शास्त्रको मर्म बुझ्ने तत्त्ववेत्ता व्यक्ति आदिलाई विद्वान् भनिएको रहेछ ।
त्यसैगरी पदका हैसियतले, पदका सम्बन्धबाट वा पदमा रहुन्जेल भन्ने अर्थ पदेन भन्ने शब्दको गरिएको रहेछ । त्यसैगरी विद्वान्को विपरितार्थी शब्द अपढ, अनपढ, अविद्वान् वा मूर्ख भन्ने रहेछन् । अब पदेन विद्वान् भन्ने पदावलीको तात्पर्यार्थ गर्दा पदका हैसियतले जुराएको वा पदमा रहुञ्जेलको पण्डित वा तत्वज्ञानी विद्वान् भन्ने गर्न सकिँदो रहेछ ।
विद्वान्ले गर्ने काम पदेन विद्वान्ले गर्न सक्दैन, फलस्वरूप त्यस पदबाट हुनुपर्ने न्यायिक काम सम्पन्न हुन सक्दैन । त्यसपछि जे हुन्छ त्यो कल्पना बाहिरकै कुरा भयो । त्यसैको एउटा दृष्टान्त शिक्षक आन्दोलन र कथित सहमतिको नाटक पनि हो ।
पदेन विद्वान् भन्ने पदावलीको अभिधार्थभन्दा व्यङ्यार्थ नै सुन्दर होला भन्ने लाग्यो । यसलाई कवि भूपिको भाषामा भन्दा घुम्ने मेचमाथि अन्धो मान्छे भन्नु उचित होला । तर, जब यस पदावलीको गहिराइतिर गइन्छ त्यसपछि यसका रहस्यहरू खुलेजस्तो लाग्न थाल्यो । योग्य ठाउँमा अयोग्य पुग्नु नै सायद पदेन विद्वान् हुनु हो । यसरी हे¥यो भने त यो ज्यादै घतलाग्दो शब्द पो रहेछ । जसरी कुनै विद्वान्को कुर्सीमा अविद्वान् बसेपछि त्यस पदको धज्जी उड्छ त्यसै गरी हरेक ठाउँका निम्ति विज्ञ भनेको विद्वान् हो विज्ञता नभएको व्यक्ति विभिन्न तरिकाले त्यहाँ पुग्नु त्यस्तै पदेन विद्वान् हुनु हो ।
विद्वान्ले गर्ने काम पदेन विद्वान्ले गर्न सक्दैन फलस्वरूप त्यस पदबाट हुनुपर्ने न्यायिक काम सम्पन्न हुन सक्दैन । त्यसपछि जे हुन्छ त्यो कल्पना बाहिरकै कुरा भयो । त्यसैको एउटा दृष्टान्त शिक्षक आन्दोलन र कथित सहमतिको नाटक पनि हो भन्ने लाग्यो । प्रस्तावित शिक्षा विधेयकको निर्माणमा गहिरो गृहकार्य भएन, उच्च र निर्णायक पदमा आसीन व्यक्तिहरूबाट सुझबुझको प्रयोग नगरेर आएको यस विधेयकले लाखौं शिक्षकहरूको भविष्यमाथि खेलबाड भयो भनेर असन्तुष्टिस्वरूप गत हप्ता देशभरका शिक्षकले राजधानी नै ठप्प हुनेगरी गरेको आन्दोलनका हामी साक्षी छौं ।
यसै सन्दर्भमा अख्तियारप्राप्त कुर्सीमा बसेका तर विवेकपूर्ण विधेयक ल्याउन नसकेका अधिकारीहरूलाई लक्ष्य गरेर प्रयोग गरिएको उक्त पदावली यस अर्थमा सान्दर्भिक देखियो जब वार्ता र सहमतिको एकचरण पार भइसकेपछि पनि आधा शिक्षक सडकमै छन् अनि आधा शिक्षक माग पूरा भए भनेर फर्किसकेका छन् अनि तिनै अख्तियारवाला व्यक्तिले शिक्षकलाई थाङ्नामा सुताएको सङ्केत हुने अभिव्यक्ति दिइरहेका छन् । डाक्टरहरू उपचार गर्दागर्दै कुटिएका छन् त्यसैको फलस्वरूप उपचार गर्न छोडेर सडकमा उभिएका छन् र यही बेला देशका कार्यकारी प्रमुख विदेश सयरमा छन् । यस्तो निर्णय सायद त्यस्तै पदेन विद्वान्हरूले मात्र गर्न सक्छन् ।
हामीले देखे भोगेकै कुरा हो अहिले देशका धेरै ठाउँमा पदेन विद्वान्हरूकै रजगज चलिरहेको छ । विद्वान् हुनु भनेको ठूलाठूला पुस्तकका ठेली पढ्नु वा कुनै विषयमा उच्चतहको अध्ययन गर्नुमात्रै पनि होइन कुनै पनि विषय जुन विषयमा आफू लागिएको छ त्यस विषयमा विशेष योग्यता हुनु त्यस विषयको विद्वान् हुनु हो । यसरी हेर्ने हो भने राजनीतिमा लाग्नेहरूले राजनीतिक दक्षता हासिल गरेको हुनुपर्छ । त्यसै गरी कर्मचारीले कर्मचारी प्रशासनमा, प्राध्यापकले प्राध्यापनमा, शिक्षकले शिक्षणमा, कृषकले कृषिकर्ममा यसैगरी आआफ्नो क्षेत्रमा दक्षता हासिल गर्नु विद्वान् हुनु हो ।
यसरी हुने विद्वान् पदेन विद्वान् नभएर विषयगत विद्वान् बन्नु हो । तर जब कृषकलाई कृषिकर्म राम्ररी आउँदैन, प्राध्यापकलाई प्राध्यापन, शिक्षकलाई शिक्षण अनि कर्मचारीलाई कर्मचारी प्रशासन राम्ररी आउँदैन तर ऊ तत्तत् निकायको विज्ञ बनेर बसेको छ भने सायद त्यही नै पदेन विद्वान्हो । यसरी हेर्दा त हाम्रो देशमा जताततै पदेन विद्वान्हरूकै हामीमुहाली भएको मुलुक हो भन्नेजस्तो देखियो ।
हामीकहाँ त विद्वत्ता मापनको कसी नै बेग्लै छ । हाम्रा क्राइटएरिया नै फरक छन् । धेरै वर्ष जेल बिताएको, धेरै ठूलो आन्दोलनको नेतृत्व लिएको, धेरै मानिस मारेको, धेरै रुपैयाँपैसा कमाएको वा धेरै मानिसले हाई हाई गरेको व्यक्ति मुलुकको प्रधानमन्त्रीको निम्ति विद्वान् बन्छ । त्यसै क्रमले अन्य पद र ओहदाका पनि यसै किसिमका योग्यताहरू बनेका छन् । यी माथि भनिएका योग्यताहरू पनि कहीँ कतै कामलाग्लान् तर विषयगत दक्षता वा विद्वत्ता भनेको त्यो पटक्कै होइन । हाम्रो देशमा त प्रधानमन्त्रीलाई प्रधानमन्त्री हुन, मन्त्रीलाई मन्त्री हुन, सचिवलाई सचिव हुन, डाक्टरलाई डाक्टर हुन, वकिललाई वकिल हुन, प्राध्यापकलाई प्राध्यापक हुन, शिक्षकलाई शिक्षक हुन, किसानलाई किसान हुन, व्यावसायीलाई व्यवसायी हुन, सुरक्षकर्मीलाई सुरक्षा दिन, अर्थशास्त्रीलाई अर्थविद् हुनबाहेक अरू कुरा गर्न आउँछ ।
आफू आफ्नो पदजस्तो हुन जेजस्तो ज्ञान चाहिने हो त्यसतर्फ हामी कसैको चासो छैन । हामीले आफ्नो स्वार्थ जोडिएका टुक्रे संघ र संगठनहरू खोलेका छौं । हाम्रो पहिलो योग्यता त्यही संगठनप्रतिको बफादारी हुन्छ । हामीले सगर्व आफूलाई अमुक पार्टीको कार्यकर्ता भएको भन्नमा गर्व गर्छौं । विचार आफ्नो ठाउँमा रहे पनि कुनै सरकारी वा सार्वजनिक पदमा आसीन भएपछि आमनागरिकको हुनुपर्ने संवैधानिक दायित्वलाई चटक्कै बिर्सिन्छौं । हामीले हाम्रो योग्यता बढाउने अनुसन्धान केन्द्र खोल्न चाहेनौं, दक्षता वृद्धि गराउने तालिमकेन्द्रको आवश्यकता ठानेनौं, बरू यसका बदला दलको बफादार कार्यकर्ता बन्न उचित ठान्यौं ।
दलप्रति बफदारीको योग्यता लिएर विश्वविद्यालयमा पढाउन गयौं, अफिसहरूमा काम गर्न गयौं, कूटनीतिक नियोगहरूमा देशको प्रतिनिधि बन्न पुग्यौं । हामीलाई कहीँ कतै पनि मेरो विचारभन्दा राष्ट्रको विचार अग्लो हो भन्ने लागेन । हामी अहिले भागबण्डा गर्छौं देशको नागरिक होइन पार्टीको कार्यकर्ता भर्ती गर्छौं । यसो गर्दा हामीलाई कुनै सङ्कोच लाग्दैन । हामी देशप्रति होइन पार्टीप्रति जवाफदेही हुन्छौं । आफ्नो अफिस, कक्षाकोठाभन्दा पार्टी कार्यालय हामीलाई सुन्दर लाग्न थाल्यो ।
सहकर्मी मित्रहरू र तिनका ज्ञानगुनका कुराभन्दा राजनीतिक प्रपोगन्डामा रमाइलो लाग्न थाल्यो । हामीले विज्ञान नजानेकालाई विज्ञानप्रविधि मन्त्री, स्वास्थ्यको ज्ञान नभएकालाई स्वास्थ्य मन्त्री, शिक्षाको सोच नभएकालाई शिक्षामन्त्री बनाउने पद्धतिमा औंठाछाप गरेर ल्याएको गणतन्त्रमा आआफ्नो योगदानको मूल्य खोज्ने क्रममा जहाँ लाभको कुनै पद देखापर्छ त्यहाँ आफूलाई योग्य ठान्दै गयौं फलस्वरूप देशमा अदक्ष विद्वान्हरूको रजगज बढ्यो । पञ्चायत कालमा सुन्ने गरिन्थ्यो एग्रिकल्चर विषय लिएर विदेशबाट पढेर आएको विद्वान्लाई कल्चर, कल्चर मिल्छ नि भनेर कल्चर पढाउन पठाइन्थ्यो रे आजको अवस्था त्यसभन्दा पनि बिग्रिएको छ ।
हामीले दक्षजनशक्तिलाई भन्दा पदेन विद्वान्हरूलाई महत्व दियौँ । जिल्ला न्यायाधीशको निम्ति लिइएको लोकसेवाको परीक्षामा एकजनामात्र उत्तीर्ण भए तर ती सबैले नियुक्ति पाए जो परीक्षामा असफल भएका थिए र यसमा माथिल्लै तहको चलखेल रहृयो ।
भनिन्छ, आज मन्त्रालयका मन्त्रीहरूलाई नीतिगत निर्णय गर्न आउँदैन, विधायकलाई ऐन, कानुन वा विधान बनाउन आउँदैन, सचिवहरूलाई नीतिगत प्रस्ताव गर्न आउँदैन, अफिसरलाई टिप्पणी उठाउन आउँदैन, कर्मचारीलाई दर्ताचलानी गर्न आउँदैन, विद्यालयका शिक्षक र विश्वविद्यालयका प्राध्यापकलाई पढाउन आउँदैन, डाक्टरहरूलाई रोगको निदान गर्न आउँदैन, वकिलहरूलाई कानुन पढ्न र मुद्दाको प्रकृति हेर्न आउँदैन, न्यायाधीशहरूलाई न्याय गर्न आउँदैन यसैगरी हरेक क्षेत्रमा पदेन विद्वान्हरूको नै बोलाबाला रहेको छ । यसो किन भयो भनेर कसैले जिज्ञासा राख्न खोज्यो भने त्यसलाई पजनीको खतरा छ ।
जताततै शक्तिको शासन चलिरहेको छ । योग्यताले धुलो चाटिरहेको छ । कसैलाई योग्य हुन आवश्यक नै परेको छैन । बल प्रयोग गरेर पाएको पदेन विद्वत्ताले सर्वत्र लाठी बजारिरहेको छ ।म पनि त्यही पदेन विद्वान्हरूको एकजना प्रतिनिधि हुँ । मलाई मेरो विषयबाहेक अरू कुरा गर्न आउँछ । एकजना बुझक्कीले यसो हुनुका धेरै कारणमध्ये एउटा कारण भन्नुभयो ‘लोकतन्त्र आइसकेपछि योग्यताको कदर हुन छोड्यो, पढेर परीक्षा पास गर्नुपरेन । पढ्ने र परिश्रम गर्ने खाँचो नै परेन । हरेक निकायमा पहुँचका भरमा मानिस नियुक्त हुन थाले ।
उनीहरूलाई आफ्नो पदीय ज्ञान नहुँदा पनि कुनै नियामक संस्थाबाट नियमन भएन । आचार, संस्कार कर्तव्य र दायित्वका कुरा रहेनन् । कुनै कुरा नजान्दा पनि कसैलाई आत्मग्लानि भएन न त कसरी जानौं भन्ने सोच नै विकास भयो । नगरेरै सबै कुरा सम्पन्न भएपछि दुःख किन गर्ने ? त्यसको प्रतिफल आज देशका हरेक निकायमा देखापरेको छ । हिजो निजामती सेवामा केही आदर्श, अनुशासन र नीतिगत सजगता थियो । अब त त्यो पनि रहेन’ साँच्चै उहाँका कुरा घतलाग्दा अनि अनुभवले खारिएका थिए ।
हामीले दक्षजनशक्तिलाई भन्दा पदेन विद्वान्लाई महत्व दियौं । भर्खरै एउटा रोचक समाचार आएको छ । जिल्ला न्यायाधीशको निम्ति लिइएको लोकसेवाको परीक्षामा एकजनामात्र व्यक्ति उत्तीर्ण भए तर ती सबै व्यक्तिले नियुक्ति पाए जो परीक्षामा असफल भएका थिए र यसमा माथिल्लै तहको चलखेल रहृयो मन्त्री नै संलग्न रहे भन्ने हल्ला छ । अर्थात् देशलाई चाहिएका होइन हामीलाई चाहिएका पदेन विद्वान्हरूको चयन त्यहाँ भयो । अब हुने न्याय निसाफ त्यही पदेन योग्यताकै आधारको हुनेछ । हामी कतातिर जाँदैछौं ? अनि हामी यसरी प्रतिगामीबाटो हिँडेर कुन गन्तव्यमा पुग्ने लक्ष राखेका हौं ? यति उदेक लाग्दो पद्धति अवलम्बन गरेर हामीले पाएको त्यही पदेन योग्यता नै हो । तिनै पदेन विद्वान्हरू नै हुन् ।
प्रिय सञ्चेतना ! आज मलाई मेरै आस्थामाथि पनि सन्देह गर्न मन लागेको छ आफ्नै विद्वत्तामाथि प्रश्न गर्न मन लागेको छ । आफ्नै इमानदारीमाथि शङ्का गर्न मन लागेको छ । यसो हेर्छु मेरो देशका धेरै पदहरूमा पदेन विद्वान्हरू नै विराजमान भएको अवस्था छ । मलाई मेरा पदेन राष्ट्रप्रमुख, पदेन सरकारप्रमुख, पदेन मन्त्री, पदेन सचिव, पदेन प्राध्यापक, पदेन विधायक हुँदैहुँदै पदेन इष्टमित्र, साथीसंगाती, आफन्त, स्वजन अनि पदेन आफ्नै आस्थामाथि अविश्वास गर्न मन लागेको छ । राष्ट्रपतिदेखि आफूसम्म सबै पदेन भएर चलाएको देशको म नागरिक मलाई आफू हुनुमा पनि सङ्कोच लागेको छ ।
प्रिय सञ्चेतना ! यसरी आफ्नै परम्परामाथि अविश्वास गर्नुभन्दा ठूलो लोकतन्त्रको अपमान अरू केही हुनसक्छ र ? स्मरण रहोस् यहाँ उल्लेख भएका कुराहरू तिनै पदेन योग्यताका व्यक्तिहरूका निम्ति हो ।वास्तविक विद्वान्, योग्य, सक्षम, इमानदार अनि निष्ठावान् व्यक्तिहरूप्रति श्रद्धा र सम्मान प्रकट गर्दछु ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच