सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्छ : हरिवंश आचार्य

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । वरिष्ठ कलाकार हरिवंश आचार्यले विशिष्ट व्यक्तिहरुले सवारीको नाममा नागरिकलाई सास्ती दिनेकुराको अन्त्य हुनुपर्ने बताउनुभएको छ ।

आईतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह-२०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले पनि विशिष्ट व्यक्तिहरुको सवारीको नाममा दिनभर सडक अस्तव्यस्त पार्ने परम्परा रहेको भन्दै त्यसको बिरोध गर्नुभयो । उहाँले सवारीलाई ठूलो दर्जा दिइएको भन्दै सवारी गर्न रहर हुनेले दमकलमा बसेर जान सल्लाह दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कहिले काहीँ यस्तो लाग्छ की, अरुले त भन्न मिल्दैन होला, मैले भन्न मिल्छ । हाम्रो देशमा ठूला ठूला मान्छेहरुले सवारी रे । सवारी पहिला पहिला राजा महाराजाको पालामा सरकारको सवारी हुन्छ भन्ने चलन थियो । तर अहिले पनि त्यो सवारीलाई सवारी नै भनिन्छ । त्यसलाई त्यति ठूलो दर्जा दिइएको छ की कुनै ठूलो मान्छे विदेश गएर आउनुभयो वा कुनै समारोहमा जानुपर्छ भने काठमाडौं उपत्यकाको ट्राफिक सिस्टम अस्तव्यस्त हुन्छ, बिहानदेखि मानिसलाई रोकेर राखेर सवारी गर्नुपर्छ । भित्रभित्रै रिस उठ्छ । सवारी रे । बिहानदेखि बेलुकासम्म अस्तव्यस्त हुनेकुरा । यसलाई पनि करेक्शन गर्नुपर्छ । त्यस्तो मानिसले दमकलमा बसेर गए हुन्छ । सवारी भनेर अस्तव्यस्त बनाउने सिस्टमलाई समाधान गर्न सकिन्छ ।’

उहाँले सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख नपाउने बताउनु भयो । उहाँले । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्ने भएपनि नेपालले सर्वजनिक बसमा लगानी गर्न नसकेको बताउनु भयो । उहाँले देशमा बस स्टप नै नभएको भन्दै त्यतातर्फ पनि सरकारले ध्यान दिनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले ट्राफिक नियमको यति धेरै उल्लंघन गर्छौं र सबैभन्दा नेपालका धेरै रिसाउनुपर्ने पेशा भनेकै ट्राफिक प्रहरी होला । छिनछिनमा सिठी बजाइरहेको छ, उता पनि एउटाले नियम उल्लंघन गर्छ, उता पनि उल्लंघन छ । सबैसँग रिसाउनुपर्ने र टेन्सनमा आउनुपर्ने पेशाहरुप्रति हामीले गौरव गर्नुपर्छ । हामीले उहाँहरुको मनोबल उठाउनुपर्ने वातावरण सिर्जना गर्नुपर्नेछ । काठमाडौं उपत्यकाको सडक भनेको पहिला पाँच वटा हात्ती हिँड्न भनेर बनाएको रे जुद्ध शमशेरले । अहिले दिनको १४ लाख भेकल गुडाउनुपरेको छ । वास्तवमा भन्ने हो भने बाटो नै छैन । काठमाडौंमा आजको १० वर्षपछिको स्थिति के होला ? भयावह स्थिति हुनसक्छ । मान्छेले सबैभन्दा ठूलो प्रगति गर्‍यो भने उन्नति गरे भने सुन्दर घर र गाडी किन्ने कल्पना हुन्छ । त्यो दिनहुँ दिन बढ्दै जान्छ । घट्ने सम्भावना छैन । सार्वजनिक यातायातको विकास नभइकन कुनैपनि देशमा जनताले सुख पाउँदैनन् । ट्राफिक जामको त्यत्ति नै ठूलो समस्या विभिन्न देशका शहरमा छन् तर त्यहाँ सबैभन्दा ठूलो आधार भनेको सार्वजनिक यातायात हो । राज्यले पब्लिक ट्रान्सपोर्टेशनमा बढी लगानी गर्नुपर्छ । तर हाम्रो देशमा सार्वजनिक यातायातमा सरकारको लगानी भनेको एउटा सर्वजनिक बसमा छ । त्यो पनि अर्ध सरकारी हो । त्यो बाहेक यातायातको साधनमा सरकारले एक पैसा पनि खर्च गर्न सकेको छैन । हाम्रो देशमा ट्राफिक स्टेप नै छैन, गाडी रोक्ने ठाउँ नै छैन ।’

उहाँले बिरोध गर्ने ठाउँ टुँडिखेलमा ताल्चा मारेर राख्नु नहुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?