जिरोनामाथि जित निकाल्दै म्याड्रिड शीर्षमा

Read Time = 3 mins

म्याड्रिड । स्पेनिस ला लिगामा दोस्रो स्थानको जिरोनालाई तीन-शून्यले पराजित गर्दै रियल म्याड्रिड तालिकाको शीर्षस्थानमा उक्लिएको छ । रियलको जितमा होसेलु, औरेलिन चुवामेनी र जुड बेलिंघमले समान एक-एक गोल गर्नुभयो ।

रियलले खेलको १७औँ मिनेटमा होसेलुको गोलको मद्दतले अग्रता लिएको थियो । गोलमा बेलिंघम उत्कृष्ट असिष्टका रूपमा रहनुभएको थियो । यस्तै, रियलले अर्को गोल मात्र चार मिनेट पछि थप्यो । मिडफिल्डर चुवामेनीले टोनी क्रुसको पासमा गोल गर्दै अग्रता दोब्बर बनाउनुभएको थियो ।

खेलको ७१औँ मिनेटमा बेलिंघमले गोल गर्दा रियल तीन-शून्यले अघि भयो । जितपछि पहिलो स्थानमा रहेको रियलको आठ खेलमा सात जित र एक हारसहित २१ अंक छ । त्यत्ति नै खेलमा जिरोनाको ६ जित, एक बराबरीमा एक हारसहित १९ अंकका साथ तेस्रो स्थानमा छ । दोस्रो स्थानको बार्सिलोनाको २० अंक छ ।

यता इंग्लिस प्रिमियर लिगमा जोएल म्याटिपले अन्तिम समयमा आत्मघाती गोल गरेसँगै नौ खेलाडीमा सीमित लिभरपुल टोटेनहमसँग दुई-एकले पराजित भएको छ ।

टोटेनहमको घरेलु मैदानमा भएको खेलमा दुई खेलाडीले रातो कार्ड पाए पनि लिभरपुलले टोटेनहमलाई अन्तिम समयसम्म बराबरीमा रोकेको थियो । तर, एक–एकको अवस्था रहिरहँदा इन्जुरी समयको छैटौँ मिनेटमा पेड्रो पोरोको क्रसलाई क्लियर गर्ने क्रममा म्याटिपले आफ्नै पोस्टमा गोल गर्नुभएको थियो ।

हारपछि लिभरपुलले शीर्षस्थानमा उक्लिने मौका गुमाएको छ । लिभरपुलको सात खेलमा १६ अंक छ । टोटेनहम १७ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पहिलो स्थानमा रहेको म्यानचेस्टर सिटीको सात खेलमा १८ अंक छ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?