जुम्लामै सञ्चालनमा आयो स्याउ प्रशोधन मेसिन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । हिमाली जिल्ला जुम्लामा पहिलो पटक स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेसिन संचालनमा आएको छ । यहाँको गुठिचौर गाउँपालिका - ५ स्थित गुठिचौर एग्रो फर्म प्रालीले ग्रेडिङ मेसिन ल्याएर स्याउको प्रशोधन कामको थालनी गरेको छ ।

पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार ग्रेडिङ मेसिन उद्घाटन गर्दै गुणस्तरीय स्याउको निर्यातमा महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

जुम्ला स्याउ भण्डारको जिल्ला हो । तर स्याउको गुणस्तरमा खासै चासो दिएको पाइँदैन । स्याउको प्रशोधन, प्याकेजिङ र लेबलिङ लगायतका विषयमा ख्याल नगर्दा बजारमा कम गुणस्तरको स्याउ गइरहेको छ । अब उक्त मेसिनले स्याउको ग्रेडिङ गरेर जुम्ली स्याउ गुणस्तरीयता र उच्च गरिमा बढ्ने पुर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको भनाइ छ ।

ग्रेडिङ मेसिनले स्याउको आकार छनौट गरेर मूल्य निर्धारणमा सघाउ पु¥याउने काम गर्नु भएको छ । गुठिचौर एग्रो फर्मले उच्च घनत्वको स्याउ ३८ हजार बिरुवा रोपेको छ । यस वर्ष दुई लाखभन्दा बढी केजी स्याउ उत्पादन हुने अनुमान गरिएको एग्रो फर्म प्रालिका सञ्चालक मीनबहादुर भण्डारीले बताउनुभयो । ग्रेडिङ मेसिनले सुपर, ग्रेड ए, बी र सी आकारमा ग्रेडिङ गर्नेछ । ग्रेडिङ मेसिन जुम्लासम्म पुग्न जडान गर्दा झण्डै ३८ लाख रकम खर्च भएको छ । ग्रेडिङ मेसिनले गुठिचौर एग्रो फर्म प्रालिको बगैंचाको स्याउ मात्रै ग्रेडिङ गर्ने छैन ।

आसपासका किसानहरुको समेत स्याउ ग्रेडिङ गरिने भएको छ । स्याउ ग्रेडिङ गर्न झण्डै दुई दर्जन कामदारहरु परिचालन गरिएको गुठिचौर एग्रो फर्म प्रालिका सञ्चालक भण्डारीले जानकारी दिनुभयो । जिल्लामा कुल ४ हजार २५० हेक्टरमा स्याउको खेती हुने गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । यस अघि जिल्लामा ग्रेडिङ मेसिन नहुँदा स्याउको ग्रेडिङ हुन सकेको थिएन । स्याउ प्रशोधन तथा स्याउ ग्रेडिङ मेसिन संचालनमा आएपछि जुम्लाका किसानलाई राहत हुने भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?