माङसेबुङ गाउँपालिकाद्वारा लालपुर्जा वितरण प्रक्रिया

प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 4 mins

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण प्रक्रियाका अगाडी बढाएको छ । ६ वडा रहेको पालिकामा असोज १६ गते देखि लालपुर्जा प्राप्तीका लागि भूमिको निस्सा वितरण सुरु गरेको हो । पश्चिमी इलामको माङसेबुङ गाउँपालिकाले २ हजार ५ सय ८८ भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई धनीपुर्जा वितरण गर्ने तयारी गरेको छ । राष्ट्रिय भूमि आयोग गठन भएपछि जिल्लामा पहिलो पटक माङसेबुङले धनीपूर्जा वितरणको तयारी गरेको गाँउपालिका अध्यक्ष हेमन्त राइले जानकारी दिनुभयो ।

माङसेबुङले मंगलबार ६ नं वडाका ३ सय ८७ जनालाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण गरेको छ । जसमध्ये ९ जना भूमिहीन सुकुम्बासी र ३ सय ७८ जना अव्यवस्थित बसोबासीहरुलाई निस्सा वितरण गरेको हो । धनीपूर्जाका लागि फारम भरेका निवेदकहरुको विवरण कम्युटरमा प्रविष्ट गर्ने कार्य सम्पन्न गरी निस्सा वितरण कार्य थालिएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत बिनोद चौहानले बताउनुभयो । उहाँले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा गाँउपालिकाले छिटो भन्दा छिटो माङसेबुङवासीहरुलाई जग्गाको मालिक बनाउने योजनाका साथ अघि बढेको बताउनुभयो ।

वर्षौंदेखि चासभोग गर्दै आएको जग्गाको धनीपूर्जा पाउने आशामा रहेका वडाबासीहरु निस्सा पाएपछि भने धनीपूर्जा पाउने विश्वास बढेको हो । माङसेबुङ गाउँपालिकामा २ हजार ५ सय ८२ जना भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका थिए । जसमध्ये २४ जना भूमिहीन दलित, २ सय २८ जना भूमिहीन सुकुम्बासी र २ हजार ३ सय ६ जना अव्यवस्थित बसोबासीहरु रहेका छन् । एक टुक्रा जग्गासमेत नभएका र वार्षिक आम्दानीले परिवार पाल्न मुस्किल परिरहेका दलित तथा सुकुम्बासी परिवारको लगत सङ्कलन गरेर आयोगले उनीहरुलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने नीति लिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताउनुभयो ।

भूमिहीन दलितले १ सय ३० वर्गमिटर, भूमिहीन सुकुम्बासीले ३ सय ४० वर्गमिटर आवास क्षेत्र वा ३ हजार वर्गमिटर कृषि क्षत्र र अव्यवस्थित बसोबासीले १ हजार वर्गमिटर आवास क्षेत्र वा १० हजार वर्गमिटर कृषि क्षेत्रको जग्गा पाउनेछन् । राष्ट्रिय भूमि आयोग जिल्ला कार्यालय इलामले जिल्लाका सबै स्थानीय तहसँगको समन्वयमा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन गरी प्रणालीमा प्रविष्ठ गरिरहेको जनाएको छ ।

लामो समयदेखि भोगचलनमा रहेको तर धनीपूर्जा प्राप्त नभएको नम्बरी बाहेकको जग्गामा बस्नेलाई अव्यवस्थित बसोबासी भन्ने गरिएको छ । अन्यत्र जग्गा भएतापनि चर्चेको त्यस्तो जग्गाको धनीपूर्जा पाउनसक्ने भएकाले स्थानीय तहले त्यस्ता जग्गाधनीको लगत सङ्कलन गरिरहेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?