गीत-संगीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य : उपप्रधानमन्त्री खड्का

फाइल तस्बिर

रासस
Read Time = 3 mins

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले गीतसंगीतका माध्यमबाट सन्देश प्रवाह गर्नु प्रशंसनीय कार्य भएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा ‘रातो टिकी’ सांगीतिक श्रव्यदृश्य सार्वजनिक गर्नुहुँदै उहाँले गीतसंगीत समाजलाई बदल्ने अस्त्रका रूपमा प्रयोग हुनसक्ने बताउनुभएको हो । श्रव्यदृश्य हेरेपछि उपप्रधानमन्त्री खड्काले सम्पूर्ण निर्माण समूहलाई गीतसंगीतका माध्यमले समाजलाई सकारात्मक सोच प्रवाह गरेको भन्दै बधाई दिनुभयो ।

उहाँले भन्नुभयो, ‘श्रीमान्को मृत्यु भएपछि आफ्नो जीवन खुशीले बाँच्न पाउने महिलाको अधिकारलाई श्रव्यदृश्यमा देखाइएको छ । उमेर हुँदै पति गुमाउँदा बाँकी जीवन ती महिलाको उमेर भएको, आफ्नो जीवन आफ्नो खुशीले बाँच्न पाउने हक, आफ्नो जीवन अन्य महिलाको जस्तै गरी बाँच्न पाउने हकबारे प्रष्ट सन्देश श्रव्यदृश्यमा छ । हाम्रो संस्कार, संस्कृति, परम्परा, त्यसले विगतमा छेकबार लगाए पनि अहिले समाज परिवर्तनशील छ, यसलाई श्रव्यदृश्यमा राम्रोसँग देखाइएको छ ।’

मुलुकको पश्चिमी भेगमा अझै पनि संस्कार, संस्कृति, परम्पराका रूपमा यस्तो प्रचलन रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले समाजलाई बदल्न जरुरी रहेको जिकिर गर्नुभयो । श्रव्यदृश्यमार्फत समाजलाई बदल्ने कुरा देखाएकामा उहाँले सम्पूर्ण समूहलाई आगामी दिनमा पनि यस्तै सन्देशमूलक काम गर्न आग्रह गर्नुभयो ।

गीतमा अभिनय गर्नुभएका अभिनेता राजेश हमाल हाल देशबाहिर रहनुभएकाले उहाँले श्रव्यदृश्यमार्फत सन्देश पठाउनुभएको थियो । उहाँले भन्नुभयो, ‘गीतसंगीतमार्फत दिइने सन्देशलाई हेरेर बुझ्न र मनन गर्न सबैमा आग्रह गर्दछु ।’

‘रातो टिकी’ गीतमा कृष्ण विक, मेलिना राई र रेखा जोशीको स्वर दिनुभएको छ । सुरेश अधिकारीले रचना गर्नुभएको उक्त गीतमा उहाँकै संगीत छ । गीतको श्रव्यदृश्यमा अभिनेता हमालसँगै दिलीप रायमाझी, केकी अधिकारी र नीता ढुंगानाले अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?